नेपाल उद्योग वाणिज्य महासंघको चुनाव चैत २९ गते बिहान ८ बजेदेखि

चैत २१ भित्र उम्मेदवारको मनोनयन दर्ता गराइसक्नुपर्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — वार्षिक साधारणसभामार्फत नयाँ कार्यकारिणी समितिको निर्वाचनका लागि नेपाल उद्योग वाणिज्य महासंघको तयारी अन्तिम चरणमा पुगेको छ । चैत २८ र २९ गते हुन गइरहेको महासंघको ५७ औं वार्षिक साधारण सभाबाट नयाँ कार्यकारिणी समिति निर्वाचित हुनेछ । वार्षिक साधारण सभा उद्घाटन कार्यक्रम चैत २८ गते बिहान १० बजेदेखि हुने छ भने निर्वाचन कार्यक्रम चैत २९ गते बिहान ८ बजेदेखि प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने महासंघले जनाएको छ ।  

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र कार्यकारिणी समितिका सदस्यको निर्वाचनको लागि उम्मेद्वार मनोनयन गर्न इच्छुक सदस्यहरुले चैत २१ भित्र महासंघ सचिवालयमा मनोनयन दर्ता गराइसक्नुपर्नेछ । आर्थिक वर्ष २०७९/८० सम्मको वार्षिक सदस्यता शुल्क, प्रतिनिधि शुल्क र उम्मेदवारी शुल्क सहित मनोनयनपत्र र प्रतिनिधि पत्र दर्ता गराई सक्नुपर्ने महासंघले जनाएको छ ।

‘साधारणसभामा जिल्ला/नगर उद्योग वाणिज्य संघ एवं वस्तुगत संघ र द्विराष्ट्रिय उद्योग वाणिज्य संघको हकमा अध्यक्ष स्वयम् मुख्य प्रतिनिधि रहनुपर्नेछ’ एक विज्ञप्ति जारी गर्दै महासंघले भनेको छ ‘अध्यक्ष स्वयम् उपस्थित हुन नसक्ने अवस्थामा सम्बन्धित सदस्य संघको कार्यकारिणी समितिले आफू मध्येबाट प्रतिनिधि छानी मुख्य प्रतिनिधि सहितको प्रतिनिधिमण्डलको नाम पठाउनुपर्ने छ ।’

महासंघका अनुसार वार्षिक साधारण सभामा जिल्ला/नगरस्तरीय उद्योग वाणिज्य संघहरूले मुख्य प्रतिनिधिसहित ३ जना, वस्तुगत संघहरूले मुख्य प्रतिनिधिसहित २ जना, द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरूले मुख्य प्रतिनिधि १ जना र एसोसिएट सदस्यले मुख्य प्रतिनिधि १ जना पठाउनु पर्नेछ । सदस्यहरूले चालु आर्थिक वर्षसम्मको महासंघको वार्षिक सदस्यता शुल्क, प्रतिनिधि शुल्क र प्रतिनिधिपत्र चैत २७ गतेभित्र महासंघ सचिवालयमा बुझाइसक्नुपर्नेछ ।


प्रकाशित : चैत्र १२, २०७९ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्

यादवले तोडे अनशन  

शिव पुरी

रौतहट — अनियमितताबारे सूचना माग्दै एक सातादेखि आमरण अनशन बसेका गरुडा नगरपालिकाका प्रमुखका प्रत्याशी दीपक यादवले अनशन तोडेका छन् । 

यादवलाई प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले कार्यक्रमस्थलमै पुगेर कागजपत्र उपलब्ध गराएपछि आइतबार दिउँसो जुस पिएर अनशन तोडेका हुन् । नगरपालिका प्रमुख कन्थमणि जैसवालले अनियमितता गरेको र आफूले विभिन्न शीर्षकमा भएका खर्च, कामको सूचना माग्दा नदिएको भन्दै अनशनमा बसेको यादवले बताए । यद्यपि आफूले मागेको सूचना उपलब्ध भइसकेपछि अनशन तोडेको उनले सुनाए ।

शिक्षा क्षेत्रमा भएको खर्च र उपलब्धि, विद्युत्, इन्टरनेटमा भएको खर्च र उपलब्धि, कर्मचारी नियुक्ति, हाजिर रजिष्टर, तलब पेश्की विवरण, पदपूर्ति समितिको छनौट र प्रक्रिया, विकासका योजना भुक्तानीका विवरण, दर्ता चलानीको किताब र प्रतिलिपि, कोरोनापीडितलाई दिइएको रकम, नगरपालिकाको सम्पूर्ण बैंक खाताको विवरण, हालसम्म भएको खर्चको मासिक विवरणलगायत सार्वजनिक सुनवाइ हुनु पर्ने माग राखी यादव चैत ३ गते साँझदेखि अनशन बसेका हुन् ।

नगरपालिकाको विभिन्न शीर्षकमा भएका काम, कर्मचारीको नियुक्ति, खर्चलगायतको विवरण माग्दै यादवले आन्दोलनका क्रममा नगरप्रमुख जैसवालमाथि दुर्व्यवहार भएको भन्दै इलाका प्रहरी गरुडाले उनलाई केही समय नियन्त्रणमा लिएर छाडेको थियो । उनले स्थानीय सञ्चारकर्मीलाई समेत तथानाम गालीगलौच गरेपछि पत्रकार महासंघ रौतहट शाखाले विज्ञप्तिसमेत निकालेर भर्त्सना गरेको थियो । त्यसपछि उनले सञ्चारकर्मीसामु माफी मागेका थिए ।

नगरप्रमुख जैसवालले आफूले कुनै पनि अनियमितता नगरेको दाबी गरे । ‘मैले बेथिति हटाउने कामको सुरुआत गरेका हुँ । तर मलाई काममा सहयोग गर्नुको साटो अपमान गर्ने काम भयो,’ उनले भने, ‘यादवले मागेको सबै सूचना दिन्छु भन्दा पनि समय नपाउने कस्तो जिद्दी हो । हामीले सबै सूचना दिन्छौ भनेकै हो । अनशन बसेर सबैलाई चकित पारे ।’ यादवले आफूलाई दुर्ववहार गरेको भन्दै इलाका प्रहरी गरुडामा निवेदनसमेत दिएका थिए । तर, ईलाकाका डीएसपी छेदीलाल कामतीले नगर प्रमुख जैसवालको निवेदन दर्ता गरेनन् ।

यता बृन्दावन नगरपालिकामा व्यापक आर्थिक अनियमितता भएको भन्दै वडाध्यक्ष र दलका नेताहरुको रिले अनशन जारी छ । नगरपालिका प्रमुख विनोद कुर्मीले गरेको गतिविधिबारे सूचना माग्दा नदिएको आरोप लगाउँदै वडा नम्बर २ का वडाध्यक्ष सिकिन्द्र राउत कुर्मी, ३ का वडाध्यक्ष हरिनारायण साह, ४ का वडाध्यक्ष श्यामनन्दन राय र ५ का वडाध्यक्ष फेकु दास रिले अनशनमा बसेका हुन् । उनीहरुसँगै नगरपालिकाका पूर्वनगरप्रमुख, एमाले, माओवादी केन्द्र, कांग्रेस, जसपा र आम जनता पार्टीका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरु यही बुधबारदेखि अनशनमा छन् ।

प्रकाशित : चैत्र १२, २०७९ १६:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×