१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दुग्ध पदार्थमा संस्थाअनुसार फरक मूल्य, खुद्रामा पनि उस्तै

दूधको खुद्रा मूल्य प्रतिलिटर १६ रुपैयाँसम्म बढाएका डेरी उद्योगीले दुग्ध पदार्थमा प्रतिकिलो २ सय ६० रुपैयाँसम्म भाउ वृद्धि गरे
राजु चौधरी

काठमाडौँ — दूधको खुद्रा मूल्यमा मनलाग्दी गरेका डेरी उद्योगीले दुग्ध पदार्थको भाउ पनि मनोमानी किसिमले बढाएका छन् । गत फागुन १९ को मन्त्रिपरिषद् बैठकले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफका आधारमा किसानले पाउने मूल्यमा थप ८ रुपैयाँ ८६ पैसा बढाउने निर्णय गरेपछि डेरीहरूको अराजकता देखिएको छ । दूधको खुद्रा मूल्य प्रतिलिटर १६ रुपैयाँसम्म बढाएका उनीहरूले दुग्ध पदार्थमा प्रतिकिलो २ सय ६० रुपैयाँसम्म भाउ वृद्धि गरेका छन् ।

दुग्ध पदार्थमा संस्थाअनुसार फरक मूल्य, खुद्रामा पनि उस्तै

निजी डेरीहरूले फागुन २६ देखि नै स्ट्यान्डर्ड दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाएका थिए । फागुन २७ देखि दुग्ध पदार्थमा प्रतिलिटर/किलो २ सय रुपैयाँसम्म भाउ बढाएका छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले चैत २ देखि प्याकेटमा प्रतिलिटर ११ देखि १६ रुपैयाँ मूल्य बढाएको छ । चैत ९ बाट लागू हुने गरी दुग्ध पदार्थमा प्रतिकिलो २ सय ६० रुपैयाँसम्म बढाएको छ । डीडीसी, नेपाल डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले लिइरहेको मूल्य पनि फरक फरक छ, जसले गर्दा उपभोक्ता ठगिएको अधिकारकर्मी बताउँछन् ।

‘दुग्ध क्षेत्रमा अराजकता बढ्यो, बिचौलियाको मिलेमतोमा दूधको मूल्य बढ्यो । खुद्रामा पनि त्यस्तै ठगी भएको छ, विडम्बना, सरकारी निकायको रहस्यमय मौनता छ,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘दूधको मूल्यसँगै दुग्ध पदार्थको भाउ पनि मनोमानी बढाइयो । तर अनुगमन गर्ने निकाय मस्त सुतेर बसेको छ ।’ डेरी उद्योगीहरूले आफूखुसी मूल्य बढाउँदा राज्य चुप लागेर बस्नु भनेकै चलखेलको आशंका भएको उनको भनाइ छ ।

‘बजार मूल्य हेर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग हो । तर उसले बेवास्ता गरेको छ,’ उनले भने, ‘अहिले मूल्यको मात्रै बहस चलेको छ । गुणस्तरकै कुरा गर्ने हो भने सबै उद्योगमा समस्या छ । गुणस्तरको अनुगमन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अवस्था पनि उस्तै छ । ऊ बजारका समस्या नदेखेझैं गरी बसिरहेको छ ।’

दूधको खरिद मूल्य प्रतिलिटर १६ प्रतिशतसम्म बढ्दा दुग्ध पदार्थमा १० देखि १५ प्रतिशतसम्म भाउ वृद्धि भएको डीडीसीका महाप्रबन्धक सञ्जीव झाले जनाए । सोही अनुपातमा अन्य वस्तुको मूल्य समायोजन गरिएको उनको दाबी छ । ‘दही, पनिर, चिज, आइसक्रिम, मिठाईको मूल्य बढे पनि घिउ र बटरको वृद्धि गरेका छैनौं,’ उनले भने । डीडीसीका अनुसार आधा लिटर प्याकेट दहीको मूल्य १० रुपैयाँ बढेर ८५ रुपैयाँ कायम भएको छ । डब्बाको दही प्रतिलिटर २० रुपैयाँ बढाएर १९० पुर्‍याइएको छ ।

आधा किलो पनिरको मूल्य प्रतिप्याकेट ७० रुपैयाँ बढेर ५ सय पुगेको छ । कञ्चन चिजको मूल्य प्रतिकिलो २ सय २० रुपैयाँ बढाएर १ हजार ६ सय पुर्‍याइएको छ । याक चिजको मूल्य प्रतिकिलो २ सय ६० रुपैयाँ बढाएर १ हजार ८ सय ८० पुर्‍याइएको छ । २ सय मिलिलिटर बोतलमा पाइने स्वादअनुसारको दूधको मूल्य १० बढेर ७५ रुपैयाँ पुगेको छ ।

डीडीसीले आइसक्रिमको मूल्य ६५ रुपैयाँ बढाएर प्रतिबट्टा ४ सय ५५ रुपैयाँ पुर्‍याएको छ । घिउको मूल्य भने हाललाई यथावत् राखिएको जनाएको छ । डेरी उद्योग संघले पनि दुग्ध पदार्थको मूल्य आफूखुसी तोकेको छ । संघले १ लिटर डब्बाको दहीमा २५ रुपैयाँ बढाएर १ सय ९०, आधा लिटरमा १० रुपैयाँ बढाएर १ सय, प्याकेट दहीमा १० रुपैयाँ बढाएर ८५ र सादा दहीमा २० रुपैयाँ बढाएर १ सय ३० रुपैयाँ पुर्‍याइएको छ ।

एक किलो पनिरमा १ सय ४० रुपैयाँ बढाएर ८ सय ४०, एक किलो बटरमा १ सय ५० रुपैयाँ बढाएर १ हजार, खारेको घिउमा २ सय रुपैयाँ बढाएर १ हजार ३ सय पुर्‍याइएको छ । संघका अध्यक्ष राजकुमार दाहालले पनि दूधको मूल्यवृद्धिअनुसार अन्य उत्पादनको मूल्य बढाइएको दाबी गरे । ‘मूल्य पारदर्शी नै छ । दूधको लागत, ढुवानी, प्याकेजिङलगायत सबै खर्च सोही अनुपातमा समायोजन भएको छ,’ उनले भने ।

डेरी एसोसिएसनले पनि पनि डब्बा दहीमा प्रतिलिटर ३० रुपैयाँ बढाएर २ सय, सादा दहीमा २५ रुपैयाँ बढाएर १ सय ५०, गुलियो दहीमा ३० रुपैयाँ बढाएर १ सय ६०, पनिरमा प्रतिकिलो २ सय रुपैयाँ बढाएर ९ सय ५० पुर्‍याइएको छ । डेरी उद्योगीहरूले मूल्य बढाएपछि खुद्रा पसलले पनि मनोमानी असुल्ने गरेका छन् । तर अनुगमनमा नियामक निकायले ध्यान दिन सकेको छैन ।

प्रकाशित : चैत्र ११, २०७९ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?