१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सिक्स जीको नेतृत्व लिने होडमा भारत

भारतले सन् २०३० भित्र सेवा सञ्चालनमा ल्याउन ‘भारत सिक्स जी प्रोजेक्ट’ गठन र अध्ययन एवं विकासका लागि लगानी जुटाइसकेको छ

काठमाडौँ — मोबाइल नेटवर्कको पाँचौं पुस्ता फाइभ जी प्रविधि उद्घाटन गरेको ६ महिनाभित्रमै भारत सरकारले सिक्स जीका लागि औपचारिक पहल सुरु गरेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को दिल्लीस्थित क्षेत्रीय कार्यालय उद्घाटनका क्रममा बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सिक्स जी भिजन डकुमेन्ट’ र ‘सिक्स जी टेस्ट बेड’ अनावरण गरे । भारतले सन् २०३० भित्र सिक्स जी सेवा सञ्चालनमा ल्याउन ‘भारत सिक्स जी प्रोजेक्ट’ गठनका साथै अध्ययन विकासका लागि लगानी जुटाइसकेको छ ।

सिक्स जीको नेतृत्व लिने होडमा भारत

भारतका नवप्रवर्तक, उद्योग र स्टार्टअप क्षेत्रमा नयाँ अवसर सिर्जना गर्नुका साथै नेपालसहित दक्षिण एसियाली देशको सूचना प्रविधि क्षेत्रहरूबीचको सम्बन्ध र सहकार्य बढाउन सिक्स जी सेवा महत्त्वपूर्ण हुने प्रधानमन्त्री मोदीको भनाइ छ । भिजन डकुमेन्टमा रिमोट कन्ट्रोलले चल्ने उद्योग, नियमित रूपमा सञ्चार गर्न सक्ने स्वचालित गाडी र मानव स्नायुबाटै नियन्त्रण एवं सञ्चालन गर्न सकिने उपकरणलगायतमा सिक्स जीको प्रयोग गर्न सकिने उल्लेख छ । गत अगस्टमै स्मार्ट इन्डिया ह्याकाथन समारोहमा प्रधानमन्त्री मोदीले यो दशकको अन्त्यसम्ममा सरकारले सिक्स जी सार्वजनिक गरिसक्ने बताएका थिए ।

भारतको सिक्स जी प्रोजेक्ट कार्यान्वयनका लागि सरकारले उच्च परिषद् गठन गरी यसको अनुगमनको जिम्मा दिएको छ । परिषद्ले सिक्स जीलाई आवश्यक पर्ने स्पेक्ट्रम पहिचान, मापदण्ड निर्धारण, उपकरण र प्रणाली व्यवस्थापनलगायत काम गर्नेछ । सिक्स जी चल्ने डिभाइसका लागि टेराहर्ज सञ्चार, रेडियो इन्टरफेस, नयाँ इन्कोडिङ विधि एवं वेबफर्म चिपसेटजस्ता विषयमा परिषद्ले अध्ययन–अनुसन्धान गर्नेछ ।

‘सिक्स जीबारे यसरी बोल्दा सूचना प्रविधिमा हाम्रो देशको आत्मविश्वास झल्किरहेको महसुस गरेको छु,’ मोदीले भने, ‘फोर जी सार्वजनिक हुनुअघि भारत दूरसञ्चार प्रविधिको प्रयोगकर्तामा सीमित थियो । अहिले हामी द्रुत गतिमा अघि बढेर दूरसञ्चार प्रविधिको ठूलो निर्यातकर्ता बन्न सफल भएका छौं ।’

नेपालसहित विभिन्न देशका सञ्चारमन्त्रीहरूको सम्मेलनमा बुधबार नै भारतीय सञ्चारमन्त्री अश्विनी वैष्णवले फाइभ जीमा भारतले विश्वसँग कुम मिलाइरहे पनि सिक्स जीमा आफूहरू अगुवा हुने लक्ष्यसाथ काम गरिरहेको बताए । हालसम्म भारतले सिक्स जी प्रविधिका १२७ वटा प्याटेन्ट दर्ता गरिसकेको छ । प्राविधिक रूपमा अहिले सिक्स जी प्रविधि उपलब्ध नभए पनि यो अत्यन्तै उच्चकोटिको प्रविधिसहित हाल विस्तारका क्रममा रहेको फाइभ जीभन्दा सय गुणासम्म छिटो हुने आकलन गरिएको छ । प्राविधिक रूपमै तुलना गर्दा फाइभ जीले अधिकतम १० गिगाबाइट प्रतिसेकेन्डको गतिमा इन्टरनेट सेवा दिन सक्छ । हाल विभिन्न देशले फाइभ जीका लागि तयारी गरिरहेका बेला आगामी १० वर्षभित्रै सञ्चालनमा आउने अनुमान गरिएको सिक्स जीले एक टेराबाइट प्रतिसेकेन्डसम्मको गतिमा इन्टरनेट सेवा दिन सक्नेछ ।

सिक्स जी भिजनलाई सफल बनाउन आवश्यक पूर्वाधार निर्माणमा १० हजार करोड भारुभन्दा बढीको लगानी आवश्यक हुने हुँदा त्यसका लागि एक छुट्टै निकाय गठन गरी अनुदान तथा लगानीका रूपमा व्यवस्थापनको जिम्मा दिइनुपर्ने पनि डकुमेन्टको सिफारिस छ । सिक्स जीको दौडमा भारत एक्लो खेलाडी भने होइन । दक्षिण कोरियाले सन् २०२५ सम्मका लागि सिक्स जीका विविध विषयमा पहिलो चरणको अनुसन्धान गर्न र विश्वव्यापी सिक्स जी प्रविधिको नेतृत्व लिने उद्घोषसहित झन्डै २ अर्ब डलर लगानी गरिसकेको छ । (एजेन्सीको सहयोगमा)

प्रकाशित : चैत्र ११, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?