भारतलाई बेच्न पुग्ने बिजुली देशका ३९ हजार परिवारमा पुगेन 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले बर्खामा देशभित्र खपत गरी बढी भएको विद्युत् भारतमा बेच्दै आएको छ । गत ६ महिनामा (साउनदेखि पुससम्म) भारतलाई बिजुली बिक्री गरेर सरकारी स्वामित्वको प्राधिकरणले ८ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गर्यो । तर देशकै विभिन्न जिल्लामा झण्डै ३९ हजार परिवार टुकीकै भरमा जीविकोपार्जन गरिरहेका छन् ।

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ प्रतिवेदन अनुसार ३८ हजार ९ सय ७ परिवार बत्ती बाल्न मट्टितेल प्रयोग गर्ने गरेका छन् । यो कुल संख्याको ०.६ प्रतिशत हो । जनगणना अनुसार बत्ती बाल्न सबैभन्दा बढी लुम्बिनीमा मट्टितेल प्रयोग हुन्छ । लुम्बिनीमा १ प्रतिशत परिवारले मट्टितेल प्रयोग गर्दै आएका छन् । दोस्रोमा मधेस प्रदेशमा ०.९ प्रतिशत परिवार, कोशीमा ०.८ प्रतिशत, कर्णालीमा ०.५ प्रतिशत, सुदूरपश्चिममा ०.३ प्रतिशत, गण्डकीमा ०.२ प्रतिशत, बागमतीमा ०.१ प्रतिशत परिवारले बत्ती बाल्न मट्टितेल प्रयोग गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय जनगणना २०६८ को तुलनामा बत्ती बाल्न मट्टितेल प्रयोग गर्ने परिवारको संख्या घटेको छ । जनगणना २०६८ को प्रतिवेदनअनुसार १८.३ प्रतिशत परिवार बत्ती बाल्न मट्टितेलको भर पर्ने गरेका थिए । कुल जनसंख्यामध्ये बिजुली बत्ती बाल्नेको संख्या ९२ प्रतिशत छ । सोलार/सौर्य ऊर्जाको प्रयोगमार्फत ६.६ प्रतिशत जनसंख्याले बत्ती बाल्ने गरेका छन् । बिजुली बत्तीको पहुँच क्रमिक रुपमा बढे पनि सबैमा पुग्न सकेको छैन । २०६८ को जनगणनाअनुसार ६७.३ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच पुगेको थियो ।


प्रकाशित : चैत्र १०, २०७९ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकीमा माओवादीका मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री अधिकारी अल्पमतमा
प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबार पदबाट राजीनामा दिएका छन् । शुक्रबार बिहान ११ बजे बसेको गण्डकी प्रदेशसभाअन्तर्गत माओवादी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा संलग्न दुई मन्त्रीलाई राजीनामा गराउने निर्णय गरेको थियो । 

संसदीय दलका नेता एंव भौतिकमन्त्री चुमानले केन्द्रको निर्णयअनुसार सरकारबाट बाहिरिएको बताए । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेता चुमानलाई सरकारबाट बाहिरिन बिहीबार निर्देशन दिएका थिए ।

गण्डकीमा माओवादी र राप्रपाको साथले एमाले नेतृत्वमा सरकार बनेको थियो । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ३१ सांसद आवश्यक पर्छ । दुई मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री खगराज अधिकारी नेतृत्व सरकार अल्पमतमा परेको छ । अब अधिकारीलाई कि राजीनामा दिने कि त विश्वासको मत लिने दुई विकल्प रहनेछन् ।

प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् । गण्डकीमा एमालेका २२, राप्रपाका २ र स्वतन्त्र एक सांसद रहेका छन् ।

प्रकाशित : चैत्र १०, २०७९ १७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×