मर्स्याङ्दी करिडोर अन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

सरकार र युरोपेली लगानी बैंकको १६ अर्ब लगानी
अबको ४ महिनामा दुबै सबस्टेसन चार्ज गरिसक्ने

काठमाडौँ — मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुई वटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

मर्स्याङ्दी करिडोर अन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

भरतपुर सबस्टेसनको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको र अबको एक महिनाभित्र चार्ज गरी सञ्चालनमा आउने आयोजना प्रमुख नारायण रेग्मीले जानकारी दिए । यस्तै लमजुङ उदीपुर सबस्टेसनको करिब ९० प्रतिशत काम सम्पन्न भएको र अबको चार महिनामा सञ्चालनमा आउने रेग्मीको भनाइ छ । मनाङको धारापानी सबस्टेसन भने भौगोलिक जटिलताका कारण निर्माणमा समस्या भएको रेग्मीले जानकारी दिए । भरतपुर र उदीपुरमा भने कुनै पनि समस्या नरहेको जनाउँदै उनले ४ महिनामा दुवै सबस्टेसन चार्ज हुने बताए ।

निर्माणाधीन सबस्टेसनको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गरेका छन् । उनले अनुगमनमा क्रममा निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरुसँग विस्तृत छलफल गरी सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गरेका छन् ।

भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्नेगरी अन्तिम चरणका कामहरु भइरहेको प्राधिकरणले जनाएको छ । आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरु निर्माणाधीन छन् । खुदी सबस्टेसन आगामी ६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसन निर्माणमा भने समय बढ्ने प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार भौगोलिक रुपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरणहरु लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने छ । पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ ।

नयाँ भरतपुर सबस्टेसनमा सञ्चालन पूर्व गर्नुपर्ने परीक्षणका कामहरु भइरहेका छन् । उदीपुर सबस्टेसनका अधिकांश सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । सबस्टेसनमा रहने उपकरणहरु निर्माण स्थलमा ढुवानी भइसकेका छन् । उपकरणको जडान जारी छ । मर्स्याङ्दी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।


प्रकाशित : चैत्र १०, २०७९ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?