कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

पर्यटकीय क्षेत्रमा बढ्दै विदेशी

अघिल्लो आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने १ लाख ९० हजार ४ सय ५८, चालु आर्थिक वर्षको फागुनसम्म १ लाख ९१ हजार ८ सय ८३ पर्यटक, बर्दिया निकुञ्जमा गत आर्थिक वर्षमा ८ हजार ७ सय १९, चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १४ हजार २ सय ७२ पर्यटक

काठमाडौं, चितवन,पोखरा, लमजुङ, लुम्बिनी र बर्दिया — कोरोना महामारी मन्थर हुँदै जाँदा चितवन राष्ट्रिय निकुञ्ज घुम्न विदेशी नआए पनि स्वदेशी पर्यटक रोकिएनन् । पछिल्ला दिनमा विदेशी पर्यटक पनि चितवन निकुञ्ज घुम्न आउने क्रम बढेको छ । चालु आर्थिक वर्षको फागुनसम्म १ लाख ९१ हजार ८ सय ८३ जनाले निकुञ्ज घुमेको सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

पर्यटकीय क्षेत्रमा बढ्दै विदेशी

अघिल्लो आर्थिक वर्षको १२ महिनामा १ लाख ९० हजार ४ सय ५८ जनाले निकुञ्ज घुमेका थिए । आर्थिक वर्ष सकिन चार महिना बाँकी रहँदा नै पर्यटकको संख्या अघिल्लो वर्षको भन्दा धेरै भइसकेको छ । चैत लागेपछि पर्यटकको संख्या झनै बढ्ने भएकाले पर्यटन व्यवसायी आशावादी छन् । दुर्लभ वन्यजन्तु एकसिँगे गैंडा, पाटे बाघलगायत वन्यजीव हेर्न रुचाउने पर्यटकका लागि चितवन मुख्य गन्तव्य हो ।

स्वदेशी पर्यटकको संख्या उल्लेख्य बढे पनि विदेशीको संख्या बिस्तारै सुधार हुँदै गएको छ । गत आर्थिक वर्षमा निकुञ्ज घुम्नेमध्ये सार्कबाहेकका विदेशी पर्यटक १४ हजार ८ सय ८ जना थिए । यस वर्ष हालसम्म सार्क मुलुकबाहेकका ३२ हजार विदेशीले निकुञ्ज घुमेको तिवारीले जनाए । चितवन निकुञ्ज घुम्न वर्षमा सवा लाख हाराहारीमा विदेशी आउने गरेको निकुञ्जको तथ्यांक छ । हालै चीनले आफ्ना नागरिकले घुम्न सक्ने देशभित्र नेपाल पनि समावेश गरेका कारण आउँदा दिनमा अवस्था राम्रो हुने सम्भावना भने छ । विगतमा चितवन निकुञ्ज घुम्न आउने विदेशी पर्यटकमध्ये ६० प्रतिशत चिनियाँ हुन्थे ।

‘चिनियाँ आए हामीलाई ठूलो राहत हुने थियो । अहिले सौराहामा पनि फाट्टफुट्ट चिनियाँ नागरिक देखिन थालेका छन् । बुकिङका लागि सोधखोज पनि सुरु भएको छ,’ पर्यटकीय होटलको संस्था क्षेत्रीय होटल संघ (हान) चितवन सौराहाका पूर्वअध्यक्ष दीपक भट्टराईले भने । उनको होटलमा विगतमा चिनियाँ पर्यटक प्रशस्त आउँथे । गत दसैंपछि नेपाल र भारतबाहेकका देशबाट आउने पर्यटक पनि केही बढेको उनको भनाइ छ ।

कोरोनापछि पूर्णरूपमा आन्तरिक पर्यटकमा निर्भर रहनुपरेकामा अहिले नेपाली ६०, भारतीय १० र अन्य विदेशी ३० प्रतिशत जति रहने गरेको हान सौराहाका सचिव पर्यटन व्यवसायी महेश खनालले जनाए । विदेशीहरूमा क्यानडा, इटलीलगायत युरोपका अन्य देशबाट पनि आएका छन् । सबै कुरा सामान्य भए पर्यटक संख्यामा सुधार हुने पश्चिम चितवन पटिहानीमा पर्यटकीय होटल सञ्चालन गरेका गणेश पौडेल बताउँछन् ।

पोखरामा उत्साह न निराशा

गत साता ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थी काठमाडौंबाट पोखरा आउँदा हवाईजहाजमा ८० प्रतिशत विदेशी यात्रु देखे । पोखरामा पर्यटकको आगमन वृद्धि हुँदै गएकामा हर्षित भए । उनको खुसी त्यतिबेलासम्म मात्रै टिक्यो, जतिबेला पोखरा विमानस्थलबाटै बसले ती पर्यटकलाई अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रा सुरु हुने स्थान वीरेठाँटी पुर्‍याउने थाहा पाए ।

पदयात्रामा आउने विदेशी पर्यटक बढ्दो छन् । धेरैजसो जापान, कोरिया, युरोपका फ्रान्स, जर्मनी, नेदरल्यान्ड्सका पर्यटक पदयात्रामा आएका छन् । ती पर्यटकको बसाइँ पोखरामा भने घट्दो छ । ‘अहिले पोखरा ट्रान्जिट सहरजस्तो मात्रै भएको छ,’ उनले भने, ‘विदेशी पर्यटक विमानस्थलबाट सिधै पदयात्रामा निस्कने र पदयात्राबाट सिधै काठमाडौं फर्कने क्रम चलेको छ ।’ अहिले चल्तीका पदमार्गमा विदेशी पर्यटक धेरै देखिए पनि पोखरामा नअडिएको उनले बताए । पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएको छ । कतारको राजपरिवारकी सदस्य आस्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न म्याग्दीमा छिन् । अन्नपूर्ण आधार शिविर (एबीसी), घान्द्रुक–घोरेपानी–पुन हिल, मर्दी हिमाल पदयात्रा मार्ग पर्यटकले भरिभराउ छन् । पछिल्लो समय ग्रेट माछापुच्छ्रे ट्रेलअन्तर्गत घाचोक–खुमैडाँडा पदयात्रा मार्ग आन्तरिक पदयात्रीमाझ लोकप्रिय भएको छ । मादी गाउँपालिकाको ताङतिङ–क्रपुडाँडा, सिक्लेस–कफुचे, सिक्लेस–कोरी पदयात्रा मार्गमा पर्यटक बढेका छन् ।

सरकारले अप्रिल १ देखि संरक्षण क्षेत्रमा एकल पदयात्रामा निस्कने विदेशी पर्यटकका लागि अनिवार्य पथप्रदर्शक (गाइड) लैजानुपर्ने व्यवस्थाको टानले स्वागत गरेको छ । ‘यो व्यवस्थाले पर्यटक स्वयंलाई सुरक्षित बनाउँछ नै, नयाँ रोजगारी पनि सिर्जना गर्छ,’ टान गण्डकीका अध्यक्ष पन्थीले भने । ‘बर्सेनि ४५ देखि ५० हजार एकल पदयात्री पर्यटक आउँदा २५ हजारसम्म रोजगारी सिर्जना हुने,’ उनले थपे । सन् २०१९ मा ८६ हजार विदेशी पर्यटकले त्यस क्षेत्रमा पदयात्रा गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्यांक छ । कोरोना महामारीपछि सन् २०२२ मा ८१ हजार विदेशी पर्यटक पदयात्राका लागि आए । गत वर्षसँग तुलना गर्दा यस वर्षलाई उल्लासमय मान्न नसकिएपछि सुधारोन्मुख रहेको उनले बताए ।

लगानी धेरै, अकुपेन्सी थोरै

पोखरामा हाल पाँचतारे एक, चारतारे ६, तीन तारे, पर्यटकस्तरका र साधारण गरी १ हजार २ सय होटल छन् । तिनमा ४० हजार बेड पुगेका छन् । पर्यटक आगमन दर उस्तै हुँदा पनि संख्या बाँडिँदा अकुपेन्स कम छ । पोखराका होटलमा १५ देखि २० प्रतिशत अकुपेन्सी रहेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जनाए । पहिला १० हजार मात्रै बेड हुँदा त्यति नै संख्यामा पर्यटक आउँदा ७०–८० प्रतिशत अकुपेन्सी देखिन्थ्यो ।

‘अहिले लेकसाइडमा अलि अलि विदेशी पर्यटक देखिन्छन् । तर त्यतिले एक छेउ पनि पुग्दैन,’ सुवेदी भन्छन्, ‘यो सिजन ७० देखि ८० प्रतिशत अकुपेन्सी हुनुपर्ने हो । लगानी बढेको बढ्यै छ, अकुपेन्सी कम देखिन्छ ।’ पोखरामा सडक महोत्सवलगायत मेला महोत्सव हुँदा ९० प्रतिशतसम्म अकुपेन्सी पुगे पनि पछिल्लो समय विमान दुर्घटना र मुग्लिङ–पोखरा सडकका कारण आन्तरिक पर्यटक घट्दो छन् । पोखरा हुँदै मुक्तिनाथ पुग्ने भारतीय पर्यटक आफ्नै सवारीसाधन लिएर आउँछन् । खानासमेत उतैबाट बोकेर आउने र होटलको एउटै कोठामा धेरैजना बस्ने गरेको अध्यक्ष सुवेदीले बताए । चीनले नेपाललाई गन्तव्य मुलुकको सूचीमा राखे पनि एकैपल्ट ह्वात्तै पर्यटक आउने स्थिति नरहेको उनको बुझाइ छ ।

पर्यटनमा मन्दीको असर

कोरोना महामारीमा विश्वभर व्यवसाय बन्द हुने क्रम बढ्यो । रोजगारी गुम्दै गयो । रुस–युक्रेन युद्धले युरोपेली मुलुकको अर्थतन्त्रमा परेको असरले पर्यटकको क्रयक्षमतासमेत घट्यो । त्यसमाथि जहाज भाडा नै महँगो हुँदा विदेशी पर्यटकको पहिलो रोजाइमा नेपाल नपरेको पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देल बताउँछन् । गत वर्षको यही समयमा जति पर्यटक अहिले पोखरामा नदेखिएको उनको भनाइ छ ।

‘हवाई क्षेत्रमा दैनिकजसो केही न केही गडबडीका खबर सुनिन्छ,’ उनले भने, ‘मुग्लिङ–पोखराको बाटो स्तरोन्नतिमै समय लाग्ने जस्तो देखिन्छ । यस्तो अवस्थामा पर्यटकको आगमन खासै उल्लासमय छैन ।’ नेपालबाट अन्य मुलुकमा चल्ने जहाज ट्रान्जिट सहर हुँदै नगई सिधा उडान हुँदा जहाज भाडा महँगो परेको उनको बुझाइ छ । बजेट एयरलाइन्सको कटौती, राष्ट्रिय ध्वजावाहक जहाजले नियमित अन्तर्राष्ट्रिय उडान नगर्नुलगायत कारणले पनि जहाज भाडा महँगो भएको उनले बताए ।

चितवन निकुञ्जभित्र जिप सफारी गर्दै पर्यटक । तस्बिरहरू : कान्तिपुर

‘हामीसँग प्रतिस्पर्धी गर्ने दुबई, थाइल्यान्ड, भियतनामलगायत मुलुकले सस्तो प्याकेजमा बेचिरहेका छन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारीस्तरबाट प्रचारप्रसार नहुँदा पर्यटक आगमन सोचे जस्तो हुन सकेको छैन ।’ प्रधानमन्त्री नै आएर उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसक्नुले निजी क्षेत्रलाई सशंकित बनाएको उनको भनाइ छ । ‘अहिले व्यवसायी आफैं ऋणको बोझमा छन् । कसरी लगानी सुरक्षित गर्ने भन्नेमा छन्,’ उनले भने, ‘यस्तो बेला सरकारीस्तरबाटै अन्तर्राष्ट्रिय उडानका लागि पहल हुनुपर्छ ।’

कोरोनाका कारण सरकारले ०७६ चैत ११ बाट लकडाउन गरेयता झन्डै ३ वर्ष लमजुङका होमस्टेमा पर्यटक आएनन् । हिजोआज विदेशी पर्यटक आउन थालेको लमजुङको क्ब्होलासोंथार गाउँपालिका–३ घलेगाउँकी होमस्टे सञ्चालक कमला घलेले बताइन् । विशेषगरी इटालियनहरू समूहमा आउने गरेको पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका कार्यालय सचिव दीर्घ घलेले जनाए ।

घलेगाउँमा तथ्यांक लिन थालेको वर्ष ०५७/५८ मै ६२ विदेशी पर्यटक भित्रिएका थिए । १२ वर्षको अवधिमा ५ हजार ६ सय ९९ विदेशी पर्यटक आए । सबैभन्दा बढी ०७३/७४ मा ८ सय २७ विदेशी आएको घलेले बताए । सन् २०२० को सुरुवाततिरबाटै विदेशी पर्यटक नआएको पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेको भनाइ छ ।

भुजुङमा जापानी पर्यटक बढी आउने गरेको क्ब्होलासोंथार–४ भुजुङस्थित पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गुरुङले जनाए । अरू देशबाट पनि पर्यटक आउँछन् । ‘पर्यटक घुम्न आउँछन् । यहाँको होमस्टेमा बस्छन् । यहाँको परिकार खान्छन्,’ उनले भने । विदेशी धेरैको चाहना भीरमह सिकार हेर्ने रहेको उनको भनाइ बताए ।

घलेगाउँ, भुजुङ र काउलेपानी मात्रै नभएर मर्स्याङ्दी–५ घेर्मुको रकगार्डेन, वडा ३ को सिउरुङ, राइनास–९ राइनासकोटलगायत होमस्टेमा विदेशी पर्यटक आउने गरेका छन् ।

रूपन्देहीको बेलहिया नाका हुँदै लुम्बिनी भ्रमणमा आउने पर्यटकको संख्या बढेको छ । म्यानमार, श्रीलंका, दक्षिण कोरिया, थाइल्यान्ड र भियतनामबाट लुम्बिनीमा आउने पर्यटकको संख्या बढेको तथ्यांकले देखाएको हो । म्यानमार, श्रीलंका, दक्षिण कोरिया, थाइल्यान्ड र भियतनामबाट मार्च १२ देखि १८ सम्ममा ३ हजार ३ सय ९३ जना पर्यटक भित्रिएको बेलहियास्थित अध्यागमन कार्यालयले जनाएको छ । म्यानमारबाट ४ सय ५९, श्रीलंकाबाट ६ सय ४८, दक्षिण कोरियाबाट ५ सय ९१, थाइल्यान्डबाट ८ सय १४ र भियतनामबाट १ सय ७६ पर्यटन लुम्बिनी आएको देखिएको छ । यो अघिल्लो साताको तुलनामा २ सय ८९ ले बढी हो ।

अघिल्लो साता मार्च ५ देखि ११ सम्ममा ३ हजार १ सय ४ जना पर्यटक लुम्बिनी भित्रिएका थिए । गत वर्षको तुलनामा यस वर्षको सुरुवाती तीन महिनामै उल्लेख्य पर्यटक बेलहिया नाका हुँदै लुम्बिनी आएका छन् । सन् २०२२ मा भन्दा सन् २०२३ को मार्चमा आउने पर्यटकको संख्या धेरै रहेको अध्यागमन कार्यालय बेलहियाले जनाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण २०२२ मा २० हजार २ सय २० विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२३ को मार्चसम्म २४ हजार ६ सय २० विदेशी पर्यटक यो नाकाबाट नेपाल आएका छन् । २०२२ मा बेलहिया हुँदै १८ हजार ९ सय ४४ पर्यटक बाहिरिएका थिए भने २०२३ को मार्चसम्म मात्रै २२ हजार १ सय ३६ पर्यटक नाका हुँदै फर्केको अध्यागमन कार्यालयले बतएको छ ।

जनवरीमा ४ हजार २ सय ७५ पर्यटक नेपाल भित्रिए भने ३ हजार ७ सय ६७ पर्यटक नेपालबाट बाहिरिए । उक्त महिनामा सबैभन्दा धेरै थाइल्यान्डबाट १ हजार ९ सय ८० पर्यटक नेपाल आएका थिए । म्यानमारबाट ७ सय ५७, दक्षिण कोरियाबाट १ सय ९७, भियतनामबाट १ सय ७८, अमेरिकाबाट १ सय ४४ पर्यटक नेपाल आए । सन् २०२३ को फेब्रुअरीमा सो नाका हुँद सबैभन्दा धेरै थाइल्यान्डबाट पर्यटक आएका छन् । फेब्रुअरीमा भारतीय मार्ग हुँदै ४ हजार १ सय ९५ पर्यटक नेपाल भित्रिएका थिए भने ३ हजार ९ सय ६३ थाइल्यान्डका पर्यटक यहाँबाट बाहिरिएका छन् । म्यानमारबाट २ हजार १ सय ८९, श्रीलंकाबाट १ हजार ९ सय ८२, भियतनामबाट १ हजार ३ सय ८१ पर्यटक नेपाल आएको अध्यागमन कार्यालयका प्रमुख वासुराम पौडेलले जनाए । गत वर्षको फेब्रुअरीमा ५६ जना विदेशी मात्रै बेलहिया हुँदै नेपाल भित्रिएका थिए ।

भारतको लखनउबाट आएका नरेश शुक्ला परिवारसहित पहिलो दिन बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरेको १५ मिनेटमै सोमबार बघौरा फाॅटामा बाघ देखे । पहिलो पटक वन क्षेत्रभित्र बाघ देखेका शुक्लाको परिवारमा खुसीको सीमा थिएन । बर्दिया निकुञ्ज अवलोकन सकिएपछि शुक्लाले घरपरिवार र साथीभाइलाई बाघ हेरेको भिडियो सेयर गरे र फेरि साथीहरूलाई लिएर बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने बताए । उनीहरूजस्तै अहिले अमेरिका, फ्रान्स, हल्यान्डलगायत मुलुकबाट बाघ हेर्न आउने पर्यटक यहाँ बढेका छन् ।

दाङबाट आएका पर्यटक दिनेश डाँगीले एकै दिनमा दुईवटा बाघ देखेको बताए । ‘निकुञ्जभित्र बग्ने ओराही खोलानजिक बाघले पानी पिउँदै गरेको अवस्थामा पहिलो पटक देखियो,’ उनले भने, ‘दोस्रो पटक ओराही खोलाभन्दा केही दूरीमा बाघ देखेका थियौं ।’ निकुञ्जमा फागुन, चैत र वैशाख महिना बाघ हेर्न सकिने भन्दै पर्यटक भित्रिने गरेका छन् ।

गत महिना पर्यटक निकै कम आए पनि अहिले पर्यटकको आगमन बढेको पर्यटन व्यवसायी रामजी थापाले बताए । ‘बाघ हेर्न आउने पर्यटकका कारण अहिले यहाँका होटल भरिभराउ छन्,’ उनले भने, ‘धेरैजसो आन्तरिक पर्यटक त सातादेखि होटल बुक गरेर बसेका छन् ।’ बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि अहिले हब बन्दै गएको थापाले जनाए ।

प्रकाशित : चैत्र १०, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?