कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

आशावादी छन् पर्यटन व्यवसायी

काठमाडौँ — नेपाली पर्यटन बजारको ध्यान यति बेला चीनतर्फ मोडिएको छ । चीनले हालै मार्च १५ पछि आफ्ना नागरिकलाई नेपाललगायत मुलुकमा यात्रा गर्न सकिने प्रावधान ल्याएपछि नेपालका होटल, पदयात्रा र ट्राभल उद्योगमा आबद्ध व्यवसायी कोभिडअघिको जस्तो आर्थिक अवस्थामा पुग्न पाइएला कि भनेर आशावादी देखिएका छन् ।

आशावादी छन् पर्यटन व्यवसायी

‘चीनबाट राम्रो संकेत देखिएको छ,’ पदयात्रा व्यवसायीहरूको छाता संगठन टानका अध्यक्ष नीलहरि बाँस्तोलाले भने, ‘अब नेपालको पर्यटन राम्रो होला कि ? आशा पलाएको छ ।’ बाँस्तोलाले कोभिडयता पदयात्रामा आबद्ध २ सय हाराहारी व्यवसायी यस पेसाबाट पलायन भएको देखिसकेका छन् । ‘कम्पनीहरू बन्द भए, नयाँ पनि आउँदै छन्,’ उनले भने, ‘यो वसन्तयाममा हिमाल आरोहणमा पर्यटक बढ्ने देखिन्छ । त्यसपछि बिस्तारै पदयात्रामा आउने पर्यटक बढ्लान् । हामी आशावादी छौं ।’

तर हालै पर्यटन बोर्डसहितका केही संस्थाले स्थानीय सरकारको अधिकारसँग बाझिने गरी एउटा नियम ल्याए । जसले गर्दा नेपाललाई मन पराउने केही पुराना पर्यटक उक्त निर्णयले बिच्किए । ‘अलि हतार गरेर पर्यटकसँग अनिवार्य गाइड हुनुपर्ने निर्णय गर्‍यौं,’ पर्यटन बोर्डका एक अधिकारीले भने, ‘यस निर्णयले ठूला व्यवसायी खुसी भए । तर ससाना पर्यटन व्यवसायी दुःखी भए । नेपालबाहिरबाट यसको चर्को आलोचना भयो ।’

नयाँ निर्णयले मुक्तिनाथ, मानसरोवरलगायत तीर्थस्थल भ्रमण गर्ने भारतीय तीर्थयात्रीलाई असर पार्छ । भारत अहिले पनि पहिलो स्थानमा पर्ने मुलुक हो, हरेक वर्ष नेपाल आउने पर्यटकमा भारतकै नागरिक पहिलो नम्बरमा हुन्छन् । अध्यागमन विभागले फेब्रुअरीमा सार्वजनिक गरेको ७३ हजार पर्यटक आगमनको तथ्यांकमा भारतीय २५ प्रतिशत छन् । सन् २०२२ मा नेपालमा ६ लाख पर्यटक आएका थिए । यिनमा पनि भारतीय दुई लाख थिए । बाँकी अन्य मुलुकका ७७ हजारभन्दा कम थिए । सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ र सन् २०२० मा २ लाख ३० हजार ८५ जना मात्र पर्यटक आएका थिए ।

पर्यटकलाई नेपालभित्र र बाहिर हवाई टिकट दिने तथा टुर प्याकेज बनाई बिक्री गर्ने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) पनि अहिले केही आशावादी देखिएको छ । ‘केही विदेशी वायुसेवाको सिन्डिकेट थियो । आफ्ना नजिकका ट्राभल एजेन्सीलाई मात्रै टिकट बिक्री गर्न दिइन्थ्यो । जसका कारण एकतर्फी टिकट नै लाखौं तिरेर कामदार र विद्यार्थी बिदेसिनुपरेको थियो,’ नाट्टा अध्यक्ष रमेश थापाले भने, ‘तर चीनतर्फका तीनवटा वायुसेवाले केही महिनाअघिबाट नियमित उडान खुला गर्दै ३०/४० प्रतिशत भाडादर घटाउनेबित्तिकै हाम्रो ट्राभल व्यापारमा आशा छाएको छ ।’

काठमाडौंसहित देशभर १ हजार ट्राभल व्यवसायी रहेका अध्यक्ष थापा बताउँछन् । सबै वायुसेवा खुल्दै जाँदा टिकट व्यापार २०१९ अघिको लयमा जानेछ । पर्यटन क्षेत्रमा सर्वाधिक लगानी भएको र सर्वाधिक आम्दानी गर्ने पहिलो नम्बरको होटल, रिसोर्ट उद्योग भने निराश छ ।

तारे होटलसहित पर्यटकस्तरका २५ सय हाराहारी सदस्य रहेको होटल संघ नेपाल (हान) ले केही दिनअघि होटल उद्योग २०२५ सम्म आर्थिक मन्दीको मार बेहोर्ने प्रक्षेपण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्‍यो ।

‘होटल–रिसोर्टमा निजी क्षेत्रको लगानी अर्बौंको छ । तर हामी प्रतिदिन अधिकतम ३८/४० प्रतिशत मात्रै बुकिङमा चलिरहेका छौं,’ हानका प्रथम उपाध्यक्ष विनायक शाहले भने, ‘त्यो पनि विकेन्ड (बिदा) मा मात्रै हो । अरू दिन यो अंक तल झर्छ । विदेशी पर्यटक अझै देखिएका छनैन् । काठमाडौंबाहिरका होटल आन्तरिक पर्यटकको भरमा सातामा एक दिन बिदामा चल्छन् । बाँकी दिन हाम्रो व्यापार खुम्चिएकै छ ।’

पर्यटक आगमन सुस्त हुँदा होटल उद्योग सञ्चालन खर्चसमेत धान्नै नसक्ने गरी थला परेको हानले जनाएको छ । ‘कोभिडले झन्डै तीन वर्ष थला पारेको होटल उद्योगलाई राज्यबाट आउने नीति नियमले कुनै सरोकार नदेखाएको आरोप लगाउँदै मुलुकभरका होटल उद्योग सञ्चालन गर्न कठिन भइरहेको हानले जनाएको छ । ‘सन् २०१९ को तुलनामा २०२२ मा करिब आधा प्रतिशत पर्यटकको संख्या वृद्धि (६ लाख १४ हजार) भएको तथ्यले सकारात्मक सन्देश दिएको छ,’ शाहले भने, ‘तर हरेक व्यवसायीले पहिलेको तुलनामा व्यावसायिक लाभ लिन सक्ने अवस्था छैन । अकासिएको मूल्यवृद्धि, तरलताको अभाव र व्यवसाय सञ्चालनका समस्या छँदै छन् ।’

देशभरिका प्रदेश तदर्थ समितिका अध्यक्ष तथा क्षेत्रीय संघका अध्यक्षसँगको छलफलमा बैंक तथा वित्तीय संस्थाबाट होटल व्यवसाय प्रवर्द्धन र विकासका लागि प्रवाह भएको ऋणको साँवाब्याज भुक्तानीमा थेग्नै नसकिने गरी भइरहेको निरन्तरको चरम प्रतिकूल ताकेताप्रति केन्द्रीय होटल संघ नेपालको ध्यानाकर्षण भएको संघ अध्यक्ष सिर्जना राणाको भनाइ छ ।

नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बद्ध बैंक एवं वित्तीय संस्थाबाट नेपाली होटल क्षेत्रलाई कठिन आर्थिक चक्रव्यूहबाट बचाई पुनर्जीवन प्रदान गर्न ऋणको साँवाब्याज भुक्तानीको भाका व्यावहारिक ढंगमा बढाउनेलगायत कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण नितान्त आवश्यक रहेको र ब्याजदर एकल अंकमा कायम राखिनुपर्ने उनले बताइन् । पर्वतारोहणमा अनुमति लिने क्रम गत वर्षको दाँजोमा क्रमिक सुधार भएको पर्यटन विभागका महानिर्देशक होमप्रसाल लुइँटेलको भनाइ छ ।

प्रकाशित : चैत्र १०, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?