कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

पोहोर ५ महिनामा भएको खर्बको निर्यात यसपालि ८ महिनामा

८ महिनाको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड
समग्र निर्यात २९.७ प्रतिशतले कम
राजु चौधरी

काठमाडौँ — आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न सरकारले अनेकौं कार्यक्रम घोषणा गरे पनि परिणाम निराशाजनक देखिएको छ । गत वर्ष ५ महिनामा खर्ब रुपैयाँ नाघेको निर्यात यस पटक ८ महिनामा बल्ल त्यो लक्ष्यमा पुगेको हो । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँको निर्यात भएको छ । जबकि, गत आर्थिक वर्ष २०७८/७९ को ५ महिनामै १ खर्ब २ अर्ब ९२ करोड निर्यात भएको थियो ।

पोहोर ५ महिनामा भएको खर्बको निर्यात यसपालि ८ महिनामा

मुलुकको निर्यात व्यापार प्रशोधित पाम तेल र भटमासको प्रशोधित तेलमा निर्भर हुँदै आएको छ । यी दुई वस्तुको निकासी घटबढकै आधारमा समग्र निर्यात घट्ने र बढ्ने गरेको भन्सार विभागले जनाएको छ ।

‘कच्चा पदार्थका रूपमा तेस्रो मुलुकबाट आयात हुने यी दुई वस्तुले निर्यात व्यापारमा भूमिका खेलेको छ । भारतले कडाइ गर्दा नेपालको समग्र निर्यात नै घटेको देखियो,’ भन्सार विभागका एक अधिकारीले भने, ‘चालु आर्थिक वर्षको ८ महिनामा प्रशोधित पाम तेलको निर्यात ५७ प्रतिशत र भटमासको प्रशोधित तेलको निर्यात ७९ प्रतिशत घटेको छ, जसले गर्दा खर्बको निर्यात पुर्‍याउन ८ महिना लाग्यो ।’ कच्चा पदार्थको आयातमा छुट र निर्यातमा प्रोत्साहन पाएका यी वस्तुले समग्र निर्यात/आयात व्यापारमा प्रभाव पार्ने गरेका हुन् । आठ महिनामा यी दुई वस्तुको निकासी घटेकै कारण समग्र निर्यात २९.७ प्रतिशतले घटेको देखिन्छ । गत वर्षको ८ महिनामा १ खर्ब ४७ अर्ब ७४ करोडको निर्यात भएको थियो ।

निर्यात बढाउनकै लागि २०७९/८० को बजेट वक्तव्यमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अदुवा, अलैंची, जडिबुटीलगायत तुलनात्मक लाभका वस्तुहरू तयारी रूपमा प्रशोधन तथा ब्रान्डिङ गरी निकासी गर्न त्यस्ता वस्तुको पकेट क्षेत्रमा प्रशोधन उद्योग खोल्न थप सहुलियत प्रदान गर्ने बताएका थिए । नेपाल एकीकृत व्यापार रणनीति र व्यापार घाटा न्यूनीकरण रणनीतिक कार्ययोजना परिमार्जनसहित कार्यान्वयन गर्ने बताएका थिए । क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानीलगायत वस्तु र सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउटसोर्सिङ जस्ता सेवा पहिचान गरी निर्यात प्रवर्द्धन गर्ने दाबी गरेका थिए । यस्ता वस्तुको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था मिलाएको बताएका थिए । त्यस्तै, औद्योगिक क्षेत्रको विकास, वैदेशिक लगानी आकर्षित र उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी मासिक १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई विद्युत् महसुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिने बताएका थिए । यद्यपि, निर्यात व्यापारमा कुनै सुधार भएको छैन ।

सरकारले बजेटमार्फत घोषणा गरेका कार्यक्रमहरू घोषणामै सीमित हुँदा पनि निर्यातमा सुधार हुन नसकेको जानकारहरू बताउँछन् । फलस्वरूप व्यापार घाटा ८ महिनामै ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । विभागको तथ्यांकअनुसार निर्यात हुने वस्तुमा पहिलो नम्बरमा प्रशोधित पाम तेल नै छ । उक्त अवधिमा १५ अर्ब १८ करोडको पाम तेल निर्यात भएको छ । गत वर्ष यही अवधिमा भने ३५ अर्ब ३३ करोडको निर्यात भएको थियो । निर्यात हुने दोस्रोमा भटमासको तेल प्रशोधित छ । ८ महिनामा ८ अर्ब ३७ करोड रुपैयाँको निर्यात भएको हो । जबकि, गत वर्ष यही अवधिमा ४१ अर्ब ४० करोड रुपैयाँको निर्यात भएको थियो । तेस्रो नम्बरमा सेन्थेटिक यार्नको निर्यात् पनि ७ प्रतिशतले घटेर ७ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ ।

ऊनी गलैंचा कार्पेटको निर्यात भने २४.७८ प्रतिशतले बढेर ७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अलैंचीको निर्यात ८० प्रतिशतले बढेर ५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । तयारी कपडाको निर्यात साढे ८ प्रतिशतले बढेर ५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । विभागका अनुसार फलामे पाताको निर्यात अस्वाभाविक रूपमा बढेको छ । गत वर्षको ८ महिनामा ७६ करोडको निर्यात भएको फलामे पाता चालु आवको ८ महिनामा ४ सय २९ प्रतिशतले बढेर ४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । फलफूलको जुसको निर्यात साढे १२ प्रतिशतले बढेर ३ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

जानकारका अनुसार विदेशमा स्वदेशी वस्तुको माग भए पनि गुणस्तरीय उत्पादन निकासी गर्न सकिएको छैन, जसले गर्दा पनि निर्यात बढ्न सकेको छैन । स्वदेशमै पर्याप्त सम्भावना र उत्पादन बढाउन सक्ने कृषिजन्य वस्तुमा समेत परनिर्भरता हुँदा आयातनिर्यातको खाडल बढेको छ । विभागका अनुसार ८ महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँको आयात भएको छ । नभई नहुनेदेखि विलासिताको वस्तुको आयातसमेत अत्यधिक रूपमा बढेको छ ।

विभागका अनुसार उक्त अवधिमा ९८ अर्ब ९५ करोडको डिजेल, ४४ अर्ब १५ करोडको पेट्रोल, ३८ अर्ब ७२ करोडको खाना पकाउने एलपी ग्यास आयात भएको छ । त्यस्तै, ३५ अर्ब ८६ करोडको सुन, २७ अर्ब ६७ करोडको भटमासको कच्चा तेल, २६ अर्ब ७० करोडको शुद्ध फलाम, २० अर्ब ११ करोडको कच्चा पाम तेल, १८ अर्ब ३४ करोड रुपैयाँको मोबाइल टेलिफोन आयात भएको छ । तेस्रो मुलुकबाट आयातित भटमासको कच्चा तेल, कच्चा पाम तेल नेपालमा रिफाइन भएर पुनः भारत निर्यात हुन्छ ।

प्रकाशित : चैत्र ९, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?