कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काठमाडौं–केरुङ रेलमार्ग : चिनियाँ प्राविधिक टोलीले थाल्यो फिल्ड सर्भे

४२ महिनाभित्र अध्ययन सकिने, दूरी, लागत, सुरुङ, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिने
विमल खतिवडा

काठमाडौँ — चिनियाँ प्राविधिक टोलीले काठमाडौं–केरुङ रेलमार्गको फिल्ड सर्भे सुरु गरेको छ । चिनियाँ नयाँ वर्ष मनाएर गत फागुन २४ मा फर्किएको प्राविधिक टोली सर्भेका लागि रसुवा पुगेको हो । टोलीमा ४० जना प्राविधिक छन् ।

काठमाडौं–केरुङ रेलमार्ग : चिनियाँ प्राविधिक टोलीले थाल्यो फिल्ड सर्भे

चिनियाँ टोली काठमाडौं, नुवाकोट हुँदै रसुवा पुगेको हो । यी तीनवटै जिल्लामा फिल्ड सर्भे हुने रेल विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकारले बताए । ‘अहिलेसम्म विभिन्न समयमा गरेर ४० जनाको प्राविधिक टोली अध्ययनका लागि नेपाल आएर फिल्डमा गइसकेको छ,’ उनले भने, ‘दुई देशबीच भएको सहमतिअनुसार अध्ययन अघि बढ्नेछ ।’ पुस तेस्रो साता पनि चिनियाँ प्राविधिक टोली रसुवागढी पुगेको थियो । त्यतिबेला स्याफ्रुबेंसी, धुन्चे र रसुवागढीलगायत ठाउँको सर्भे गरेर टोली काठमाडौं फर्किएको थियो ।

सुरुमा चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपको ६ जना प्राविधिक टोली सर्भेका लागि आएको थियो । अहिले पनि त्यही कम्पनीको प्राविधिक टोली थपिएर अध्ययनका लागि आएका हुन् । ‘यसअघि आएर टोलीले सामान्य फिल्ड हेरेर चिनियाँ नयाँ वर्ष मनाउन गएको थियो,’ चित्रकारले भने, ‘अब भने नियमित अध्ययन हुनेछ ।’ उनका अनुसार रेल मार्ग जहाँजहाँ बनाइने भनिएको छ, त्यहाँको भौगोलिक बनावटदेखि निर्माणमा लाग्ने कुल लागत अध्ययनबाट थाहा हुनेछ । रेल विभागका प्राविधिक कर्मचारी आवश्यक सहजीकरणका लागि चिनियाँ प्राविधिक टोलीसँगै फिल्डमा गएको उनको भनाइ छ । ‘एरिएल सर्भेबाट फिल्डको अध्ययन गरिनेछ,’ उनले भने, ‘त्यसका लागि हेलिकोप्टर, ड्रोनलगायत उपकरणहरू प्रयोग हुनेछन् ।’

चिनियाँ प्राविधिक टोली कसरी अध्ययन गर्ने भन्नेबारे दुई दिनसम्म छलफल गरेर फागुन २९ मा फिल्ड गएको रेल विभागका महानिर्देशक रोहित बिसुराल बताउँछन् । ‘लामो समयपछिको प्रतीक्षापछि फिल्ड सर्भे सुरु भएको छ,’ उनले भने, ‘केही समस्या नआए तोकिएको समयमै अध्ययन सकिनेछ ।’ अध्ययनका लागि आवश्यक पर्ने उपकरण उपलब्ध भएसम्म नेपालकै प्रयोग गर्ने र नभएको खण्डमा मात्र चीनबाट ल्याउने उनको भनाइ छ । प्रारम्भिक अध्ययनअनुसार सम्भाव्यता अध्ययन गर्न ४२ महिना लाग्नेछ । सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, लागत, सुरुङ, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिनेछ ।

२०७८ चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न दुई देशबीच औपचारिक सहमति भएको थियो । २०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति जुटेको थियो । प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किलोमिटर दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्नेछ, जसलाई छेडेर रेलमार्ग बनाइनेछ । यसको अध्ययन चीनले आफ्नै खर्चमा गर्नेछ । उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

यता काठमाडौं–केरुङसँगै चर्चामा रहेको काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन गत असोजमा सकिए पनि अन्तिम प्रतिवेदन तयार भइसकेको छैन । अध्ययनअनुसार उक्त रेलमार्ग निर्माण गर्न ३ खर्ब २० अर्ब रुपैयाँ लाग्नेछ । विस्तृत अध्ययनमार्फत सबै संरचना निर्माणमा लाग्ने खर्चसहितको यो लागत अनुमान निकालिएको हो ।

२०७८ असोज २२ मा नेपाल र भारत सरकारका उच्च अधिकारीबीच भएको समझदारीपत्र (एमओयू) अनुसार अध्ययन अघि बढाइएको थियो । विभागका महानिर्देशक बिसुरालका अनुसार आगामी वैशाख दोस्रो साताभित्र तयार भइसक्नेछ ।

भारतको कोंकण रेलवे कर्पोरेसनको प्राविधिक टोलीले यसको अध्ययन गरेको हो । अन्तिम अध्ययनअनुसार रेलमार्गको दूरी १४० किलोमिटर हुनेछ । ‘यो विस्तृत परियोजना रिपोर्ट (डीपीआर) बराबरकै अध्ययन हो, अन्तिम प्रतिवेदन तयारपछि यसैका आधारमा निर्माणमा जान सकिनेछ,’ बिसुरालले भने, ‘लागत र दूरीमा भने प्रतिवेदन तयार पार्दासम्म तलमाथि हुन सक्छ ।’ कोंकणले नेपाल सरकारसँगको समन्वयमा ८ महिना लगाएर अध्ययन प्रतिवेदन तयार पारेको थियो ।

प्रकाशित : चैत्र ९, २०७९ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?