भरपर्दो काम गर्न निर्माण व्यवसायीलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले विकास आयोजनाका कामहरु भरपर्दो र गुणस्तरीय बनाउन निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । मुलुकमा विकासको ठूलो सम्भावना रहेको बताउँदै राष्ट्रपति पौडेलले त्यसका लागि सबै मिलेर काम गर्नुपर्ने बताए ।

‘अब हामीलाई पछाडि फर्कने छुट छैन, सबैको सहकार्यमा नेपाललाई समृद्धि बनाउनुपर्छ,’ राष्ट्रपति पौडेलले भने ‘त्यसैले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा छ ।’ नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा बुधवार राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । व्यवसायीलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने पनि उनले प्रतिबद्धता जनाए । निर्माण व्यवसायीहरूको समस्याबारे आफू जानकार रहेको पौडेलले बताए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायमैत्री ऐन कानुनको अभावमा विगतमा व्यवसायीले धेरै झमेला सामना गर्नु परेको बताए । सार्वजनिक खरिद नियमावलीको १२औं संशोधनका कारण निर्माण उद्योगमा केही सुधार देखिएको अध्यक्ष सिंहले जानकारी दिए । पछिल्लो समय राज्यले व्यवसायीहरूलाई भुक्तानी नदिँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको विषयमा अध्यक्ष सिंहले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराए ।