लघुवित्त विरुद्ध आन्दोलन गर्न भन्दै चन्दा असुली

कान्तिपुर संवाददाता

काठमाडौँ — लघुवित्त विरुद्ध आन्दोलन गर्न खर्च जुटाउनुपर्ने भन्दै संघर्ष समितिले 'पीडित'बाटै पैसा असुली गर्ने गरेको भेटिएको छ । लघुवित्त वित्तीय संस्थाबाट लिएको ब्याज र साँवा मिनाहा गराइदिने प्रलोभन देखाउँदै संघर्ष समितिका नाममा सदस्यताका लागि भनेर 'पीडित'बाटै चन्दा असुली गर्न थालेको प्रमाण भेटिएको छ । 

लघुवित्त संस्था विरुद्धको संघर्ष समितिको रसिदमा हरेक सदस्यबाट ५ सय रुपैयाँका दरले चन्दा असुली गरेको देखिन्छ । केही महिनायता धेरै स्थानमा यसरी चन्दा उठाउने प्रवृत्ति बढ्दै गएको पाइएको छ । कपिलवस्तु चन्द्राैटा ६ का मणिराम कोरीले आन्दोलनका लागि भन्दै आफ्नो गाउँबाट ५/५ सय रुपैयाँ असुल गरिएको बताए । 'आन्दोलन गर्न भन्दै गाउँका सबै घरबाट ५ सय रुपैयाँ असुल गरिएको थियो' उनले भने 'ऋण नलिएकाबाट पनि जबरजस्ती पैसा लिएका हुन् ।'

उक्त समूहले रसिद नै काटेर चन्दा असुली गरिरहेको र स‌ंघर्ष समितिको सदस्य प्रमाणपत्र तथा परिचय पत्र पनि वितरण गरिरहेको छ । वित्तीय संस्था विरुद्ध अराजक गतिविधिमा नलाग्न र संस्थाहरुले निर्देशित सीमा भन्दा बढी ब्याज असुली गरे उजुरी गर्न राष्ट्र बैंकले चेतनामुलक सन्देश जारी गरेको छ । तर, गाउँगाउँमा भने आन्दोलनका लागि भन्दै पीडितबाट चन्दा उठाउने समूह सक्रिय रुपमा लागेको छ ।

लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणीबाट १५ प्रतिशतभन्दा बढी ब्याजदर असुली गरे उजुरी गर्न राष्ट्र बैंकले आम सर्वसाधारणलाई आग्रह गरिरहेको छ । राष्ट्र बैंकले चेतनामूलक सन्देश जारी गर्दै लघुवित्त वित्तीय संस्थाका लागि १५ प्रतिशत अधिकम ब्याजदर तोकिएकाले त्योभन्दा बढी कर्जा असुली गरेको अवस्थामा सिधै उजुरी गर्न र लिएको पाइए कारबाही गर्ने बताउँदै आएको छ ।


प्रकाशित : चैत्र ८, २०७९ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्

सेयर बजारका सबै सूचक ओर्लिए

कान्तिपुर संवाददाता

काठमाडौँ — अघिल्लो कारोबार दिन हरियाली बनेको सेयर बजार बुधबार फेरि राताम्मे बनेको छ । परिसूचक नेप्सेसहित सबै उपसमूहका सूचक ओर्लिएका छन् । नेप्से १८.७५ अंक घटेर १९३० अंकमा कायम भएको छ । यसअघिको कारोबार दिन सोमबार परिसूचक २२.६ अंक बढेको थियो । 

बुधबार १ अर्ब ३० करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा १ करोड बढी हो । कुल ३८ कम्पनीको मूल्य बढ्दा १६६ को घट्यो भने १० को स्थिर रहृयो । बैंकिङ ७, विकास बैंक ४५, फाइनान्स २३, होटल तथा पर्यटन ३५, जलविद्युत् २६, जीवन बीमा १२८, उत्पादन ८२, माइक्रोफाइनान्स ११, निर्जीवन बीमा ९४ र अन्य उपसमूह १४ अंक घटे ।

मायाखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत तथा सपोर्ट माइक्रोफाइनान्सको ६ प्रतिशत बढ्यो । बोटलर्स नेपाल तराईको मूल्य सबैभन्दा धेरै ७.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, हिमालयन डिस्टिलरी, नबिल बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।


प्रकाशित : चैत्र ८, २०७९ १५:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×