कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

दक्षिण एसियाका मुलुक समेट्नेगरी आईटीयूको क्षेत्रीय कार्यालय भारतमा खुल्यो

नेपाल सहितका देशमा प्राविधिक सहयोग र नीति निर्देशन प्रदान गर्न सहज हुने आईटीयूको भनाइ

काठमाडौँ — सूचना तथा सञ्चार प्रविधिका लागि संयुक्त्त राष्ट्र संघको विशेष संस्था अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले भारतको नयाँ दिल्लीमा आफ्नो क्षेत्रीय कार्यालय तथा नवप्रवर्तन केन्द्र सञ्चालनमा ल्याएको छ । बुधबार विज्ञान भवनमा आयोजित कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्षेत्रीय कार्यालय र नवप्रवर्तन केन्द्रको उद्घाटन गरेका थिए ।

दक्षिण एसियाका मुलुक समेट्नेगरी आईटीयूको क्षेत्रीय कार्यालय भारतमा खुल्यो

उक्त्त कार्यालयले भारत, नेपाल, भुटान, बाङ्लादेश, श्रीलंका, माल्दिभ्स, अफगानिस्तान र इरानलाई दूरसञ्चारसम्बन्धी सेवा प्रदान गर्नुका साथै यी देशहरूबीच समन्वय बढाउन भूमिका खेल्ने संघले जनाएको छ । कार्यालय उद्घाटन समारोहमा भारतीय प्रधानमन्त्री मोदीले पनि दक्षिण एसियाली देशहरूबीचको सहकार्य बढाउन र क्षेत्रीय डिजिटल डिभाइड कम गर्न भारतस्थित आईटीयूको नयाँ कार्यालय र नवप्रवर्तन केन्द्रले पहल गर्ने भनाइ राखेका थिए ।

आईटीयूकी महासचिव डोरिन बोग्डान-मार्टिनले एसिया प्यासिफ क्षेत्रमा आईटीयूको उपस्थितिले यहाँका राष्ट्रहरूलाई दिगो कनेक्टीभिटी, विकसित प्रविधि, साइबर सुरक्षा, डिजिटल समावेशिता आदि मार्फत अझै नजिक ल्याउने धारणा राखेकी थिइन् । ‘डिजिटल रुपान्तरण चाहने राष्ट्रहरूका लागि भारत एउटा रोल मोडल हो,’ उनले भनिन्, ‘भारत र समग्र दक्षिण एसियाली राष्ट्रहरूमा हुने नवप्रवर्तन, डिजिटल रुपान्तरण र हाम्रा सबै साझेदारसँगको सहकार्यका लागि खोलिएको हाम्रो क्षेत्रीय कार्यालय र नवप्रवर्तन केन्द्रले गर्ने काम हेर्न म व्यग्र छु ।’

नयाँ कार्यालयले दक्षिण एसियाली राष्ट्रहरूमा आईटीयूका पहलहरू कार्यान्वयन गर्नुका साथै सूचना र सञ्चार प्रविधिको विकासमा प्राविधिक सहयोग र नीति निर्देशन प्रदान गर्ने संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नवप्रवर्तन केन्द्रबाट नविनतम विचारहरू आदानप्रदान गर्नुका साथै उन्नत प्रविधिलाई प्रवर्द्धन गर्ने काम हुने भनिएको छ । साथै, दक्षिण एसियामा आईसीटी र दूरसञ्चार सञ्चाल र सेवाहरूको विकासमा योगदान पुर्‍याउने लक्ष्य रहेको आईटीयूले जनाएको छ ।

यसअघि थाइल्यान्डको बैंककस्थित आईटीयूको क्षेत्रीय कार्यालयले एसिया र प्रशान्त क्षेत्र हेर्ने गरेको थियो । दिल्लीमा कार्यालय खोलेपछि अब दक्षिण एसियाली राष्ट्रहरूका दूरसञ्चारसम्बन्धी अवसर र चुनौतीहरूलाई सम्बोधन गर्न सहज हुने आईटीयूको दूरसञ्चार विकास शाखाका निर्देशक कसमम लकिसन जाभाजाभाले बताएका छन् । उक्त कार्यक्रममा भाग लिन नेपालबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासहितको टोली मंगलबार साँझ दिल्ली गएको थियो ।

प्रकाशित : चैत्र ८, २०७९ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?