७ महिनामा १७ करोडको सिमेन्ट निर्यात

पछिल्ला दुई आर्थिक वर्षमा क्रमशः १२ लाख ९३ हजार र ८३ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएकामा यस वर्षका सात महिनामै १६ करोड ७० लाखको सिमेन्ट तथा क्लिंकर भारत गयो
सीमा तामाङ

काठमाडौँ — सरकारले निर्यातमा प्रोत्साहन दिएसँगै चालु आर्थिक वर्षको सुरुदेखि नै सिमेन्ट निर्यात हुन थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म १६ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांक छ । पाल्पा सिमेन्टको ‘तानसेन’ र अर्घाखाँची ब्रान्डका सिमेन्ट भारतमा निर्यात हुन थालेका हुन् । 

सिमेन्ट निर्यात हुन थालेको पहिलो पटक भने होइन । यसअघि पनि करिब ७/८ वर्षअघि आरएमसी ग्रुपको आरएमसी ब्रान्डको सिमेन्ट निर्यात भएको थियो । ‘पहिला हाम्रै कम्पनीले आरएमसी ब्रान्डको सिमेन्ट निर्यात गरिसकेको छ,’ पाल्पा सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवालले भने, ‘पहिला क्लिंकर भारतबाट ल्याई सिमेन्ट पुनः भारतमा पठाउँदा मूल्य उच्च भयो । अहिले क्लिंकर उद्योग नेपालमै छ । त्यसैले पुनः निर्यात गर्न थालेका छौं ।’

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ६ करोड ६ लाख ५६ हजार रुपैयाँ बराबरको १ लाख ५३ हजार ४ सय ९३ टन सिमेन्ट निर्यात भएको छ । १० करोड ६३ लाख ७७ हजार रुपैयाँ बराबरको १ लाख ५१ हजार १ सय ५८ टन क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षभरिमा जम्मा १२ लाख ९३ हजार रुपैयाँ बराबरको १५ हजार १८९ टन सिमेन्ट निर्यात भएको थियो भने अघिल्लो आर्थिक वर्ष ८३ हजार रुपैयाँ बराबरको ११ टन सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ ।

अन्य सिमेन्ट उद्योग पनि भारतका गुणस्तर चिह्न लिई निर्यात गर्ने तयारीमा रहेको उद्योगीहरूको भनाइ छ । मुलुकमा निर्माण क्षेत्र सुस्ताएका कारण सिमेन्टको माग कम रहेको उद्योगीहरू बताउँछन् । सरकारी र गैरसरकारी सबैखाले परियोजना सुस्ताउँदा त्यसको असर सिमेन्ट उद्योगमा परेको छ । माग कम हुँदा हाल उत्पादन क्षमताको ३० देखि ४० प्रतिशत मात्रै उपयोग भइरहेको नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापाले जनाए । ‘आन्तरिक माग एकदमै थोरै छ, सरकारका प्रोजेक्ट बन्द छन् । हाउजिङहरू बन्न बैंकले ऋण दिइरहेका छैनन्,’ उनले भने, ‘निजी र सरकारी प्रोजेक्टकै कारण हाम्रो व्यापार हुने हो, त्यही बन्द छ ।’

मुलुकमा ६५ वटा सिमेन्ट उद्योग छन् । सिमेन्टको माग कम भएर उत्पादन कटौती गरेका कारण १० देखि १५ वटा उद्योग चालु आर्थिक वर्षमै बन्द हुने सम्भावना रहेको उनले सुनाए । नेपालमा वर्षमा १ करोड टनभन्दा बढी सिमेन्ट खपत हुन्छ  । मुलुकमा सिजनमा ७० लाख र अफ सिजनमा ३० लाख टन मात्र सिमेन्ट उत्पादन हुने उनले जानकारी दिए । बैंकले ऋण नदिँदा निजी क्षेत्रले गर्ने पूर्वाधार निर्माणको काम पनि सुस्ताएको छ ।

सरकारी तहको निर्माण क्षेत्रको अवस्था सरकारको पुँजीगत खर्चले नै देखाएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत ६ सम्म सरकारको पुँजीगत खर्च २३.१२ प्रतिशत मात्र रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको साउनदेखि चैत पहिलो सातासम्म ८७ खर्ब ९३ करोड ४५ लाख मात्रै पुँजीगत खर्च भएको महालेखाको तथ्यांक छ ।

सरकारले निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, ०७९ मा सिमेन्टमा करिब ८ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था छ । वार्षिक १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छुट दिनेसमेत चालु आर्थिक वर्षको बजेटमा उल्लेख छ । ‘तीन सय अर्ब बराबरको सिमेन्ट उत्पादन गर्ने क्षमता उद्योगहरूको छ । तर आन्तरिक माग र सबैले निर्यात गर्न नसक्दा उपयोग हुन सकेको छैन,’ थापाले भने, ‘भारतमा निर्यात गर्न बजार बनाउनुपर्‍यो । त्यहाँको गुणस्तर चिह्न लिनुपर्‍यो ।’ हालसम्म ३ वटा कम्पनीले गुणस्तर चिह्न लिइसकेको जानकारी आएको छ । अन्य कम्पनीले पनि निवेदन दिएका छन् । नगण्य मात्रामा निर्यात सुरु भए पनि बिस्तारै बढ्दै जाने उनको भनाइ छ ।

सिमेन्ट निर्यात बढ्ने मात्रै होइन, आयातसमेत घटिरहेको छ । गत वर्षको तुलनामा चालु वर्षको ७ महिनामा ६१ प्रतिशतले सिमेन्ट तथा क्लिंकरको आयात घटेको छ । सात महिनामा २१ करोड १९ लाख ४८ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर आयात भएको छ । गत वर्षको सोहीमा ५४ करोड ४० लाख ९५ हजार रुपैयाँको सिमेन्ट तथा क्लिंकर आयात भएको थियो । यसको अर्थ नेपालमा पर्याप्त सिमेन्ट उत्पादन भई निर्यातको ढोका खुला भएको छ ।

गत असारदेखि सिमेन्ट निर्यात गर्ने थाले पनि भारतीय बजारमा सिमेन्टको मार्केट बनाउने क्रममै रहेको पाल्पा सिमेन्ट उद्योगका सञ्चालक अग्रवालले बताए । ‘गएको असारदेखि सिमेन्ट पठाउन थाल्यौं, आन्तरिक माग न्यून छ, बाह्य मुलुकमा बजार बनाउँदै छौं,’ उनले भने, ‘यसपालि अलिअलि पठाइरहेका छौं, अर्को वर्षदेखि धेरै निर्यात गर्न सक्छौं ।’ हालसम्म अर्घाखाँची र तानसेन ब्रान्ड मात्र निर्यात भइरहे पनि अन्य उद्योग ‘आईएस मार्क’ लिने क्रममा रहेकाले निर्यात बढ्ने उनले जनाए । उनका अनुसार पहिला भारतबाटै क्लिंकर ल्याई बनाइएको सिमेन्ट भारतमै निर्यात गर्नुपर्थ्यो । तर अहिले क्लिंकर उद्योग मुलुकमै छ । सरकारले सिमेन्ट निर्यातमा नगद अनुदान दिनेलगायत व्यवस्था गरेकाले पनि धेरै उद्योग सिमेन्ट निर्यात गर्न आईएस मार्कका लागि आवेदन दिइरहेको उनको भनाइ छ ।

सामान्यतया छठपछि सिमेन्टको सिजन सुरु हुने भए पनि यस वर्ष माघदेखि मात्रै सुरु भएको अर्घाखाँची सिमेन्टका चिफ फाइनान्स अफिसर राजु पौडेलले बताए । ‘माघदेखि उद्योग उपयोगको ५० प्रतिशत क्षमता चलिरहेको छ, सिमेन्टको माग कम हुँदा पनि क्षमताअनुसार सञ्चालन गर्न सकेका छैनौं ।’

बर्सेनि औसत ९० प्रतिशत उद्योग चल्ने गरे पनि हाल ५० प्रतिशत हाराहारीमा चलिरहेको उनले जनाए । ‘भारतको गुणस्तर चिह्न लिइसकेपछि खासै समस्या छैन । तर सरकारले दिने भनेको अनुदान वर्षको अन्तिममा दिन्छु भनेका छन् । त्यसले कति समय लिन्छ थाहा छैन,’ उनले भने, ‘सरकारले पनि बिस्तारै अनुदान दिँदै गरे हुन्थ्यो । सरकारले ५० करोड रुपैयाँ बराबरको निर्यात गर्दा ८ प्रतिशतसम्म अनुदान दिने भनेको छ । वर्षको बीचतिर असोज–कात्तिकमा नियम ल्यायो । त्योभन्दा अघि निर्यात गरेको अनुदान पाउने/नपाउने पनि अन्योल छ ।’

प्रकाशित : चैत्र ८, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्

उपभोग्य वस्तुमा अनुगमन र जरिवाना बढ्यो, गुणस्तर बढेन

८ महिनामा अनुगमन भएका व्यावसायिक फर्ममध्ये २१ प्रतिशत कारबाहीमा, डेढ करोड जरिवाना
राजु चौधरी

काठमाडौँ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने अनुगमन र कारबाहीको संख्या बढे पनि बजारको समस्या ज्युँका त्युँ देखिएको छ । बजार अनुगमन गरी मूल्य नियन्त्रण गर्ने मुख्य दायित्व पाएको विभागले दिनकै २/३ टोली खटाएर काम गरिरहेको छ । चाडबाडका क्रममा विशेष अनुगमन टोली बनाएरै अनुगमन गर्ने गरिएको छ । तर बजारमा विकृति घटेका छैनन् ।

गत वर्ष २ हजार ४ सय ४८ व्यावसायिक फर्ममा अनुगमन गरेर १ हजार ३ सय ३७ लाई कारबाही गरिएको विभागको तथ्यांक छ । ती व्यावसायिक फर्मबाट १ करोड ८६ लाख रुपैयाँ जरिवाना असुल भयो । चालु आर्थिक वर्षको फागुनसम्म २ हजार ५ सय ८५ फर्ममा अनुगमन गरी ५ सय ४९ फर्म कारबाही गरिएको छ । तिनबाट १ करोड ५० लाख राजस्व संकलन गरिएको छ । यो क्रममा बढ्दै गएको छ । तर बजारको अवस्था हेर्दा सुधार देखिन्न । अनुगमनका क्रममा केही न केही कैफियत भेटिने गरेको विभागका कर्मचारी बताउँछन् ।

‘विगतको तुलनामा अनुगमन, कारबाहीमा पर्ने संख्यासँगै जरिवाना पनि बढ्दो क्रममा छ । ठूला व्यावसायिक घरानाको हकमा केहीले अटेरी गरे पनि धेरैजसोले सुधार गरेका छन्,’ विभागका प्रवक्ता होमनाथ भट्टराईले भने, ‘बिलबीजक जारी नगर्ने, दर्ता नगर्ने, मूल्यसूची, सरसफाइलगायतको समस्या सानामै देखिन्छ । अनुगमनमा हिँड्दा केही न केही समस्या देखिएकै हुन्छ ।’ सामान्य कैफियत र तत्काल सुधार गर्न मिल्ने देखिए निर्देशन मात्रै दिइन्छ । उपभोक्ता ठगी गर्ने उद्देश्यले जानी जानी गल्ती गर्ने व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याइएको उनले बताए ।

उपभोक्ता संरक्षण ऐनविपरीत कार्य गरेको कसुरमा ती व्यावसायिक फर्मलाई कारबाही गरिएको विभागका प्रवक्ता भट्टराईले जनाए । बिलबीजक जारी नगरी कारोबार गरेको, बढी मूल्य लिएकोलगायत कसुरमा कारबाही गरिएको उनको भनाइ छ । ‘उजुरी र विभागको आफ्नै रुटिनअनुसार दैनिक अनुगमन भइरहेको छ,’ उनले भने, ‘विगतको तुलनामा व्यवसायी केही सचेत भए पनि पूर्ण रूपमा स्वच्छ छैनन् । सबै क्षेत्रमा समस्या देखिन्छ ।’

आठ महिनामा करिब २१ प्रतिशत व्यवसायी कारबाहीमा परेको विभागकै तथ्यांक छ । ती व्यवसायीलाई डेढ करोड जरिवाना गरिएको छ । ७ सय ७३ व्यावसायिक फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागको तथ्यांक छ । यो क्रम बर्सेनि चलिरहेको छ ।

‘अनुगमनका क्रममा दिनहुँ जरिवाना गरिन्छ, एक पटक अनुगमन गरेपछि फलोअप गरिँदैन । त्यही भएर समस्या भइरहन्छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘अनुगमन दैनिक काम जस्तै मात्रै भयो, योजनाबद्ध रूपमा नहुँदा प्रभावकारी भएन ।’ पछिल्लो समय हरेक वस्तुको मूल्य बढ्दो क्रममा रहेको तिमिल्सिनाले जनाए । खाद्यान्न, पानी, इन्धन, लत्ताकपडा, होटल, औषधिलगायत सबै क्षेत्रमा लुट छ । तर, अनुगमन प्रभावकारी छैन । किसानले तरकारीमै राम्रो मूल्य पाएका छैनन् । तर उपभोक्ता मूल्य अचाक्ली बढी छ । सरकारले किसानले पाउने दूधको मूल्य बढाएपछि डेरी उद्योग र खुद्रा पसलले मनोमानी मूल्य असुलिरहेका छन् । तर त्यसको नियमन छैन ।

‘उपभोक्ताको दैनिक जीवनमा चाहिने ससाना कुराको अनुगमन र महँगी नियन्त्रण गरिदिए पुग्छ,’ उनले भने, ‘तर विडम्बना त्यो काम भएको छैन ।’ बजार अनुगमनका क्रममा एकअर्का निकायबीच समन्वयकारी भूमिका नहुँदा पनि समस्या नसुल्झिएको उपभोक्ताकर्मी बताउँछन् । बजार अनुगमनका लागि दर्जन निकाय छन् । संघीय संरचनासँगै बजार अनुगमन गर्ने दायित्व स्थानीय सरकारको पनि हो । संविधानको अनुसूची ८ ले दिएको अधिकारअनुसार स्थानीय तहमा बजार व्यवस्थापन, अनुगमन, नियमन र व्यवस्थापनको जिम्मा प्रदेश तथा स्थानीय तहको हो । ‘सविधानले पूर्ण अधिकार दिए पनि स्थानीय तहमा अनुगमन हुँदैन ।

उपत्यकामा मनोमानी मूल्य असुलेका व्यवसायीले जिल्लामा झन् ठगी गर्छन् । म्याद नाघेका सामानलाई नै उच्च मूल्य राखेर बिक्री गर्छन्,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘तर विडम्बना सरकारको आँखा त्यहाँ पुग्न सकेको छैन । स्थानीय सरकारले भने अनुगमन नै गरिदिएनन् ।’ गाउँ तहसम्मै सरकारको उपस्थिति देखाउन अनुगमनको जिम्मा स्थानीय तहलाई दिइएको हो । तर यो निकायबाट पनि अनुगमन हुन सकेको छैन ।

मूल्यको विषय वाणिज्यले हेरे पनि गुणस्तरबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नापतौल ठगीको विषयमा गुणस्तर तथा नापतौल विभागले अनुगमन गर्छन् । कृषिजन्य वस्तु/तरकारीको विषय कृषि विभाग, माछामासुको पशुसेवा विभाग र औषधिका विषयमा औषधि व्यवस्था विभागले पनि अनुगमन गर्नुपर्ने हो । यी निकायले पनि बजारका समस्या नदेखेझैं गरिरहेको बानियाँको दाबी छ । ‘सबै निकायले समन्वयकारी भूमिका गरेर अनुगमन गरे केही प्रभाव पर्छ ।

सबै विभागको आआफ्नै दम्भका कारण बजारमा सुधार देखिएन,’ उनले भने । वाणिज्यले फागुनमा मात्रै १ सय ९५ व्यावसायिक फर्ममा अनुगमन गरेको थियो । तीमध्ये उपभोक्ता संरक्षण ऐनविपरीत कार्य गर्ने २८ फर्मलाई जरिवाना गरिएको छ । ‘१ सय ९५ फर्ममध्ये ९६ सामान्य अवस्थामा थिए । २८ लाई जरिवाना गर्दै ५३ व्यावसायिक फर्मको कागजात मागेर अध्ययन गरिरहेका छौं,’ भट्टराईले भने, ‘४ फर्मलाई सुधार गर्न निर्देशन पनि दिएका छौं ।’

विभागले सबैभन्दा बढी होटल तथा रेस्टुराँ व्यवसायबाट ७ लाख ७० हजार जरिवाना असुलेको छ । फागुनमा ५ होटल तथा रेस्टुराँलाई जरिवाना भएको छ । तीन खाद्य पसलबाट ५ लाख ५ हजार, दुई मदिरा एवं सुर्तीजन्य पसलबाट ३ लाख ५ हजार र तीन तरकारी तथा फलफूल पसलबाट २० हजार जरिवाना असुल गरिएको विभागले जनाएको छ । दुईवटा अटो पार्ट्स फर्मबाट २५ हजार, एक रेडिमेट तथा थान कपडा पसललाई १५ हजार, एक फर्निचर एन्ड फिक्चर्सबाट २० हजार र माछा, मासु पसलबाट ५ हजार जरिवाना असुल गरिएको भट्टराईले बताए ।

प्रकाशित : चैत्र ८, २०७९ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×