रसुवागढीको १ सय ११ मेगावाट विद्युत् असारदेखि राष्ट्रिय प्रसारणमा

९० प्रतिशत काम सकियो, काम ढिलो हुँदा साढे तीन अर्ब लागत वृद्धि
कमल धिताल

काठमाडौँ — रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षभित्र बिजुली उत्पादन सुरु गर्ने तयारी गरेको छ । उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन १११ मेगावाट क्षमताको आयोजना निर्माण ०७० माघबाट सुरु गरिएको हो । ०७६ सालमै निर्माण सक्ने लक्ष्य लिइए पनि भूकम्प, नाकाबन्दीलगायत समस्याले निर्माणमा अवरोध भएपछि समय थपिएको आयोजना प्रमुख नरनाथ न्यौपानेले जनाए । 

नेपाल विद्युत् प्राधिकरणसँग आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गर्ने समयमा निर्माण अवधिको ब्याजबाहेक १३ अर्ब ६८ करोड ४२ लाख लागत रहेको आयोजना निर्माण सकिने बेलासम्म १७ अर्ब १ करोड लागत पुग्ने अनुमान रहेको कम्पनीको भनाइ छ । आयोजनाको लागतमा ब्याजसमेत जोड्दा उत्पादनको चरणसम्म यसको कुल लागत २१ अर्ब १५ करोड रुपैयाँ पुग्ने उनले बताए ।

विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन भएको कारण पनि आयोजना निर्माणको लागत अनुमान बढेको न्यौपानेले बताए । ‘भूकम्प र नाकाबन्दीमा इन्धन अभाव हुँदा काम गर्न सकिएन,’ न्यौपानेले भने, ‘अब त्यस्तो समस्या छैन । सबै काम तीव्र गतिमा भइरहेको छ । असारमा उत्पादन सुरु गर्ने गरी तयारी गरिएको छ ।’ आयोजनामा जडित तीनवटा टर्बाइनबाट असारमा परीक्षण सुरु गर्न सकिने गरी काम भइरहेको उनको भनाइ छ । ‘तीनवटै युनिटबाट बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्राविधिक खटिएको छन्,’ न्यौपानेले भने ।

प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहने ठूलो बाढी तथा पहुँचमार्गमा गइरहेको पहिरोलगायत कारणले पनि निर्माणमा ढिलाइ भएको न्यौपानेको दाबी छ । रसुवाको भीरपाखोमा नमुनायोग्य संरचना निर्माण गरी २२ मेगावाट क्षमताको चिलिमे विद्युत् ऊर्जा उत्पादन गरेपछि प्राप्त अनुभवका आधारमा चिलिमे जलविद्युत्कै प्राविधिक समूहले यस आयोजना निर्माणको अगुवाइ गरिरहेको छ । तर आयोजनाको जटिल भौगोलिक अवस्था र सडकको पहुँच अभावलगायत कारणले पनि निर्माणमा ढिलाइ भएको न्यौपाने बताउँछन् ।

उपकरण जडानमा छोटो अवधिमै उल्लेख्य प्रगति हासिल गर्न सफल भएका कारण पनि यसै आर्थिक वर्षमा उत्पादन गर्ने अवस्था प्रबल रहेको उनको भनाइ छ । भोटेकोशी खोलाको बाँध, चार हजार एक सय ८५ मिटर लामो हेडरेस सुरुङ सर्चट्यांक, पेनस्टक, टेलरेस सुरुङ र भोटेकोशीबाट पानीसँगै सुरुङमा पस्ने बालुवा थिग्य्राउने पोखरीका सम्पूर्ण संरचना निर्माण सम्पन्न गरी उपकरण जडानको काम करिब सकिएको न्यौपानेले जनाए ।

आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा पठाउन टिमुरेदेखि आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेको ‘प्रसारण हब’मा लैजान १० किमि लामो आन्तरिक प्रसारणलाइन निर्माण पनि सँगसँगै गरिरहेको उनको भनाइ छ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण र रसुवाका स्थानीय निकाय संयुक्त लगानीमा जलविद्युत् आयोजना निर्माण भइरहेको छ । स्वपुँजीअन्तर्गत ५१ प्रतिशत संस्थापक सेयरधनी समूहको र ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको छ । व्यापारिक विद्युत् उत्पादनपछि जलविद्युत् आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन भई वार्षिक ३ अर्ब २५ करोड आम्दानी हुने न्यौपानेको दाबी छ ।

प्रकाशित : चैत्र ८, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

कोरियन भाषा सिक्ने लहर

लक्ष्मी गौतम

पाँचथर — फालेलुङ–२ की १७ वर्षीया अम्बिका अधिकारी सबेरै सदरमुकाम फिदिमको सेवारो कोरियन भाषा इन्स्टिच्युट पुग्छिन् । ६ बजे उक्त कक्षा छुट्नासाथ नास्ता गरेर कक्षा १२ को परीक्षा तयारीका लागि ट्युसन जान्छिन् । 


उनको यो दैनिकी चार महिनाअघि सुरु भएको हो । ‘राम्रो पैसा कमाउन सकिने भएकाले बेलैमा कोरियालाई गन्तव्य बनाएकी हुँ,’ उनले भनिन् । स्नातकोत्तर गरेका जागिर नपाएर भौंतारिएको देखेपछि स्वदेशमै जागिर खाऔंला भन्ने आशा मरेको उनी सुनाउँछिन् ।

पाँचथर हिलिहाङ–७ की माङसा लावती अम्बिकासँगै कोरियाली भाषा सिकिरहेकी छन् । बीएड तेस्रो वर्षमा अध्ययनरत उनी आफन्त एवं नातागोताले कोरियामा राम्रो आम्दानी गरेको देखेर त्यसतर्फ मोहित भएको बताँउछिन् । फालेलुङ–८ की लक्ष्मी केरुङको बाध्यता अलि फरक छ । बुबालाई छालासम्बन्धी रोग लागेपछि घरव्यवहार चलाउनसँगै उपचार गर्ने पैसा जुटाउन कोरिया जान चाहेको उनी प्रस्ट्याउँछिन् ।

‘बाआमाको जेठो सन्तान हुँ, जागिर खोजौं आठ कक्षा मात्रै पढेकी छु, घरव्यवहार मेरै काँधमा छ, त्यही भएर भाषा सिक्न सदरमुकाम झरेँ, कोरिया गएर कमाएपछि बाबुको उपचार गर्ने योजना छ,’ केरुङ भन्छिन् । बीएड दोस्रो वर्षमा अध्ययनरत फालेलुङ–४ की अनिला राई पनि कोरिया जाने कोसिसमा छिन् । विदेशमा सुरक्षित भइन्न कि ? भन्ने शंका लागे पनि गइसकेकाको प्रगति देखेर त्यसतर्फ मन एकोहोरिएको उनले बताइन् ।

कक्षा १२ देखि स्नातक तह तेस्रो वर्षसम्म अध्ययन गरिरहेका अम्बिका, माङसा र अनिला कोरिया जान भाषा सिकिरहेका प्रतिनिधि पात्र मात्रै हुन् । पाँचथर सदरमुकाम फिदिमसँगै विभिन्न पालिकामा चलिरहेका कोरियाली भाषा सिकाइ केन्द्रमा स्नातकोत्तर गरेका र बच्चाका आमासम्म भाषा सिकिरहेका भेटिन्छन् ।

सात वर्षीया छोरीकी आमा २६ वर्षीया बिन्दु लिम्बू घरपायकमै रोजगारी नभेटेपछि यो भाषा पढ्न थालेको बताउँछिन् । स्नातकोत्तर उत्तीर्ण फाल्गुनन्दकी सुजाता नेम्वाङले शैक्षिक योग्यताका प्रमाणपत्रले पनि जागिर नभेटेपछि कोरिया जान चाहेको बताउँछिन् । फिदिम–१४ की सरु मगरका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएको ६ वर्ष भयो । अहिले कार्यरत कम्पनीमा सोचेजस्तो कमाइ नभएपछि अहिले उनी आफैं कोरियन भाषा सिकिरिहेकी छन् । ‘उहाँलाई भाषा पढेर कोरिया जानुस् भन्दा पास गर्न सक्दिनँ भन्दै मलाई जाऊ भन्नुभएको छ, उनले यता घरव्यवहार र छोरी हेर्ने भनेपछि इन्स्टिच्युट धाउन थालेँ,’ उनले भनिन् ।

सदरमुकाम फिदिममा ६ वटा भाषा सिकाइ केन्द्र छन् । अधिकांश केन्द्रमा महिलाको संख्या धेरै छ । भाषा सिक्नेको लाइनमा १७ देखि ३४ वर्ष उमेरका धेरै छन् । फिदिमको एक लघुवित्त कम्पनीमा काम गरिरहेकी २२ वर्षीया अल्का लिम्बूले अहिले कार्यरत कम्पनीको आम्दानीले पेट पाल्न मात्र सकिएकाले विदेश जाने योजना बुनेको सुनाउँछिन् । पछिल्लो समय नेपालको शिक्षा प्रणाली, अस्थिर राजनीति र रोजगारीको न्यून सम्भावनाले ग्रामीण महिला रोजगारीका लागि विदेश गन्तव्य बनाउँदै छन् । भाषा सिक्नेमध्ये ६० प्रतिशत महिलाको संख्या रहेको सेबारो कोरियन भाषा सिकाइ केन्द्रका सञ्चालक गजेन्द्र तुम्बापोको भनाइ छ ।

कोरियन भाषा सिक्ने यी महिलाको उपस्थितिले देशमा रोजगारीको अवस्था कस्तो छ भन्ने वास्तविकता छर्लङ्ङ हुन्छ । फिदिम माविका प्रधानाध्यापक विनोद ठाकुर नेपालमा बढ्दो बेरोजारी समस्या न्यूनीकरण गर्न विद्यालयबाटै व्यावहारिक र व्यावसायिक शिक्षा दिनुपर्ने तर्क राख्छन् ।

प्रकाशित : चैत्र ८, २०७९ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×