मेवा–ढुंगेसाँघु प्रसारण लाइन निर्माण सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले ताप्लेजुङको मेवादेखि चाँगे (ढुंगेसाँघु) सम्म १३२ केभीको प्रसारण लाइन निर्माण थालेको छ । करिब २० किमि लामो प्रसारण लाइन ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ मा १३२/३३ केभीको मेवा सबस्टेसन तथा त्यहाँदेखि मैवाखोला गाउँपलिका–१ स्थित ढुंगेसाँघु सबस्टेसनसम्म निर्माण गर्न लागेको हो । 

करिब २० किमि लामो यो प्रसारण लाइन १३२ केभीको डबल सर्किटको रहने कम्पनीले जनाएको छ । एक वर्षमा सक्ने लक्ष्य लिइएको उक्त प्रसारण लाइनका लागि ३० करोड रुपैयाँ लागत रहेको कम्पनीले बताएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले प्रसारण लाइनको शिलान्यास गरे । प्रसारण लाइनमा ६२ वटा टावर रहनेछन् ।

प्रसारण लाइनले मेवाखोला बेसिनमा निर्माण गरिने मेवाखोला जलविद्युत् आयोजना, तल्लो मेवाखोला जलविद्युत् आयोजना, सोनाखोला जलविद्युत् आयोजना, पालुङखोला–१ जलविद्युत् आयोजना, पालुङखोला सानो जलविद्युत् आयोजना र माथिल्लो मेवाखोला–ए जलविद्युत् आयोजना जोड्ने ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीले जनाए । जलविद्युत् आयोजनाहरूबाट उत्पादित करिब १५० मेगावाट बिजुलीलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न गरी प्रसारण लाइन निर्माण सुरु गरिएको ज्ञवालीले बताए ।

‘छुट्टाछुट्टै प्रसारण लाइन निर्माण गर्नुभन्दा एउटा साझा प्रसारण लाइन बनाएर विद्युत् प्रवाह गर्न प्राविधिक, आर्थिक तथा पर्यावरणीय दृष्टिबाट उपयुक्त देखिएकाले आयोजना अगाडि बढाइएको हो,’ उनले भने, ‘आयोजनाबाट मेवाखोला बेसिनमा निर्माण गरिने जलविद्युत् आयोजना लाभान्वित हुनेछन् । आयोजनाको समयसीमाभित्र नै निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’

स्थानीयस्तरबाट आयोजनालाई आवश्यक सहयोग गर्ने र प्रसारण लाइन आयोजनाबाट हुने विविध क्षति न्यूनीकरण गर्न एकीकृत प्रसारण लाइन निर्माण गर्नुपर्ने आवश्यकता रहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जनाए ।

प्रकाशित : चैत्र ८, २०७९ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्

वर्ल्डलिंकमा बीआईआई र डोल्मा इम्प्याक्टको २ अर्ब लगानी

कान्तिपुर संवाददाता

काठमाडौँ — बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फन्डले नेपालको इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्समा संयुक्त १ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेका छन् ।

बीआईआईले ८.४ मिलियन डलर अर्थात् १ अर्ब ८ करोड रुपैयाँ बराबरको लगानी गरेको छ । डोल्मा इम्प्याक्ट फन्डले ६.९ मिलियन डलर अर्थात् ९० करोड रुपैयाँ लगानी गरेको छ ।

इन्टरनेट क्षेत्रमा यो सबैभन्दा ठूलो लगानी रहेको वर्ल्डलिंकले जनाएको छ । यसअघि सन् २०१९ मा पनि वर्ल्डलिंकले प्रत्यक्ष वैदेशिक लगानीका रूपमा बीआईआई (तत्कालीन सीडीसी) बाट १ अर्ब ३५ करोड रुपैयाँ भित्र्याएको थियो । नेपालमा दिगो आर्थिक विकासका लागि डिजिटल रूपान्तरण जरुरी रहेको र त्यसका लागि बेलायतले गरेको लगानी महत्त्वपूर्ण हुने बेलायती राजदूत निकोला पोलिटको भनाइ छ ।

संयुक्त लगानीबारे जानकारी दिन सोमबार आयोजित कार्यक्रममा बीआईआईको प्रविधि एवं टेलिकमका प्रबन्ध निर्देशक अभिनव सिन्हाले नेपालमा भरपर्दो र सस्तो इन्टरनेट सेवालाई ग्रामीण क्षेत्रमा पुर्‍याउन, थप रोजगारी सिर्जना गर्न र अर्थतन्त्र वृद्धिमा सघाउन वर्ल्डलिंकले सहयोग गरोस् भन्ने चाहेको बताए ।

नेपालमा छिटो अवधिमा ठूलो फड्को मार्न सक्ने क्षेत्र डिजिटल उद्योग भएकाले प्रविधि लगानीमा असाधारण वृद्धि देखेको डोल्मा फन्ड म्यानेजमेन्टका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत टिम गोचरले जनाए । ‘ग्रामीण क्षेत्रहरूमा पनि इन्टरनेट पुगोस्, धुन्चे, जुम्लाका मानिसले पनि अनलाइनबाटै काम गर्न सकून् भनेर हामीले वर्ल्डलिंकमा लगानी गरेका हौं,’ उनले भने ।

काठमाडौं उपत्यका मात्रै नभएर देशका अन्य भेगमा पनि इन्टरनेट सेवा विस्तार गरेर वर्ल्डलिंकले नेपालको डिजिटल रूपान्तरणका लागि पहल गरिरहेको सिन्हाले बताए । ‘यसले गर्दा स्वास्थ्य सेवा, वित्तीय सेवा र नेपालका युवालाई जोड्ने काममा धेरै प्रगति भएको हामीले देखेका छौं,’ उनले भने । प्राप्त सहायतालाई गुणस्तरीय इन्टरनेट सेवा विस्तारमा लगाइने वर्ल्डलिंकका अध्यक्ष एवम् प्रबन्ध निर्देशक दिलीप अग्रवालको भनाइ छ ।

प्रकाशित : चैत्र ८, २०७९ ०८:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×