होटल संघले भन्यो- 'सञ्चालन खर्च पनि धान्‍न नसक्ने भयौं'

कान्तिपुर संवाददाता

काठमाडौँ — तारे होटलसहित पर्यटक स्तरका २५ सय हाराहारी सदस्य रहेको होटल संघ नेपाल (हान) ले पर्यटक आगमन सुस्त हुँदा होटल उद्योग सञ्चालन खर्चसमेत धान्न नसक्ने गरी थला परेको जनाएको छ ।

संघले राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै ‘कोभिडले झन्डै तीन वर्ष थला पारेको होटल उद्योगलाई राज्यबाट आउने नीति नियमले कुनै सरोकार नदेखाएको आरोप लगाउँदै मुलुकभरका होटल उद्योग आर्थिक मारमा पर्न गई संचालन गर्न कठिनाइ भइरहेको जनाएको छ ।

‘सन् २०१९ को तुलनामा २०२२ मा करिब आधा प्रतिशत पर्यटकको संख्या वृद्धि (६ लाख १४ हजार) भएको तथ्यले सकारात्मक सन्देश दिएको छ,’ हानका प्रथम उपाध्यक्ष विनायक शाहले भने, ‘तर हरेक व्यवसायीले पहिलेको तुलनामा व्यवसायिक लाभ लिनसक्ने अवस्था छैन । अकासिएको मूल्यवृद्धि, तरलताको अभाव र व्यवसाय सञ्चालनको समस्या छँदै छन् । सबैभन्दा बढी आशा गरेको पर्यटक र ग्राहक आउन सक्ने वातावरण नहुँदा धेरैजसो होटल व्यवसायीहरुले यो अवस्थामा कसरी व्यवसाय धान्ने भन्ने प्रश्न हरेक क्षण सुन्नु परेको छ ।’

पर्यटकहरु नआए वा सेवा नदिए होटलहरु जीवन्त नरहने भन्दै हानले सरकारलाई होटल उद्योगको संरक्षण गर्न बढीभन्दा बढी पर्यटक ल्याउनुको विकल्प नभएको जनाएको छ । उसले यो विषय रोजगारी सम्वर्द्धन र श्रमिकको जीविकोपार्जनसँग समेत प्रत्यक्ष जोडिएकाले व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेको छ ।

संघकी अध्यक्ष सृजना राणाले देशैभरका प्रदेश तदर्थ समितिका अध्यक्ष तथा क्षेत्रीय संघका अध्यक्षसँगको छलफलमा बैंक तथा वित्तीय संस्थाहरुबाट होटल व्यवसाय प्रवर्द्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा व्याज भुक्तानीमा थेग्नै नसकिने गरी भइरहेको चरम प्रतिकूल ताकेताप्रति केन्द्रीय होटल संघ नेपालको ध्यानाकर्षण भएको बताएकी छन् ।

उनले नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बद्ध बैंक एवं वित्तीय संस्थाहरुबाट नेपाली होटल क्षेत्रलाई कठिन आर्थिक चक्रव्यूहबाट बचाई पुनर्जीवन प्रदान गर्न ऋणको साँवा व्याज भुक्तानीको भाका व्यवहारिक ढंगमा बढाउने लगायत कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण नितान्त आवश्यक रहेको भन्दै बढ्दै गएको व्याजदर एकल अंकमा कायम राखिनुपर्ने बताइन् ।

उनले यस विषयमा नेपाल सरकारका नीति निर्माताहरु, सम्बद्ध सरकारी निकायलगायत नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुमा समस्या समाधानका लागि थुप्रैपटक बैठक, ज्ञापनपत्र बुझाइएको तर सुनुवाइ नहुँदा होटल संघ नेपाल पत्रकार सम्मेलन गर्न बाध्य भएको बताइन् ।

होटल व्यवसाय कारोबारलाई सरकारी वित्तीय मौद्रिक लगायतका आर्थिक नीति नियममा कुनै सरोकार नराखी अन्य उद्योग व्यवसायलाई प्रदान गरिएको व्यवस्था र व्यहारबाट पनि वञ्चित गरिएको हुँदा नेपालको होटल क्षेत्र ह्रासोन्मुख अवस्थामा पुगेको संघको भनाइ छ । साथै वार्षिक बजेटभन्दा बढी परिमाणको लगानी भइसकेको नेपाली होटल क्षेत्रलाई नेपाल सरकारले हालसम्म पनि उद्योग सरहको मान्यता समेत नदिनु खेदजनक रहेको बताइएको छ ।

संघले व्यवसायको आयबाट ऋणको साँवा व्याज तिर्नसक्ने अवस्थामा पुर्‍याउन हालको विकास क्रममा रहेका विद्यमान विमानस्थल, राजमार्ग लगायतका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजारमा नेपाललाई प्रवर्द्धन गरिनुपर्ने जनाएको छ ।

प्रकाशित : चैत्र ७, २०७९ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्

सल्यानमा आगलागीमा जलेर ५ जना सख्त घाइते

विप्लव महर्जन

सल्यान — सल्यानमा एक पसल घरमा भएको आगलागीमा जलेर घरधनीसहित पाँच जना सख्त घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका–४ भण्डारखोलास्थित शंकर रानाको तीन कोठे एक तले टिनले छाएको घरमा रहेको किराना पसलमा सोमबार राति साढे ८ बजेतिर एक्कासि आगो लाग्दा पसलका साहु रानासहित पाँच जना सख्त घाइते भएका हुन् ।

सख्त घाइते हुनेमा भण्डारखोला निवासी वर्ष २४ का घरधनी शंकर राना, २६ वर्षका यज्ञ राना, २१ का जीवन राना, २० वर्षका सञ्जिव शाह, १८ वर्षका क्षेत्रमनी राना रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । सख्त घाइते भएका शंकर राना, यज्ञ राना र जीवन राना बोल्न नसक्ने र सञ्जिव शाह र क्षेत्रमनी राना हल्का बोल्न सक्ने अवस्थामा रहेको उनले जानकारी दिए ।

उनका अनुसार सख्त घाइते भएका सबैलाई मिसन अस्पताल चौरजहारीमा सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर मेडिकल कलेज बाँके लगिएको छ । पसलमा एउटा प्लास्टिक जर्किनमा पेट्रोल राखेको हुँदा सलाई कोर्दा आगलागी भएको हुन सक्ने आशंका भए पनि वास्तविक कारण भने खुल्न सकेको छैन ।

आगलागी हुँदा पसलमा के कति क्षति भयो भन्ने खुल्न नसकेको र प्रवनानी लक्ष्मीदत्तको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरी मुचुल्का उठाइरहेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र ७, २०७९ ०८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×