तनहुँको सराङघाट सबस्टेसन सम्पन्न

काठमाडौँ — तनहुँको बन्दिपुर गाउँपालिका–६ मा निर्माण भएको ३३/११ केभीको सराङघाट सबस्टेसन सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एसियाली विकास बैंक (एडीबी) नेपाल आवासीय  नियोगका प्रमुख आर्नो कुश्वाले संयुक्त रुपमा सोमबार सबस्टेसनको उद्घाटन गरे ।

तनहुँको सराङघाट सबस्टेसन सम्पन्न

उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले करिब दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत् पहुँच पुर्‍याउने गरी काम भइरहेको बताए । 'सबै नेपालीको घरमा विद्युत् पुर्‍याउने सरकारको लक्ष्य पूरा गर्न विद्युतीकरणको अन्तिम यात्रामा छौं, यसका लागि अधिकांश ठेक्का सम्झौता सम्पन्न भइसकेका छन्, योसँगै विद्युत् पुगेका ठाउँमा आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन प्रणाली सुधारमा व्यापक काम गरिरहेका छौं,' घिसिङले भने ।

नेपालले पछिल्लो एक दशकमा विद्युतीकरणमा उल्लेख्य प्रगति हासिल गरेको उल्लेख गर्दै नेपाल आवासीय नियोग प्रमुख कुश्वाले भने, ‘विश्वको विद्युत् पहुँचको वार्षिक वृद्धिदर औसतमा ०.८ प्रतिशत रहेकोमा नेपालको धेरै तीब्र दर अर्थात् ४.३ प्रतिशत छ, यो कामको हामी प्रशंसा गर्दछौं ।’ आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक सबस्टेसनदेखि बन्दिपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ । प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पुर्‍याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । यसमध्ये १ हजार १३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ ।

तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो । आयोजना अन्तर्गतकै तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटरको ३३ केभी प्रसारण लाइन र ३३/११ केभीको घिरिङ सबस्टेसन यसअघि नै सञ्चालनमा आइसकेका छन् ।

सराङघाट सबस्टेसनमा ६/८ एमभीए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीन वटा फिडर लाइन निकालिएको छ । एउटा फिडर जगेडामा राखिएको छ । सबस्टेसनमार्फत् तनहुँको आँबुखैरेनी, बन्दिपुर र देवघाट गाउँपालिकामा विद्युत् आपूर्ति भइरहेको छ । दुई वटा सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इस्ट इन्डिया उद्योग/वाइवा इन्फ्राटेक जेभीसँग २०७५ मंसिरमा ठेक्का सम्झौता भएको थियो । करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा कार्यान्वयनमा ल्याइएको हो । आयोजनामा २२० किलोमिटर फिडर लाइन र ३५० किलोमिटर वितरण लाइन निर्माण गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित : चैत्र ६, २०७९ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?