बीआईआई र डोल्मा इम्प्याक्ट फन्डले वर्ल्डलिंकमा गरे झण्डै २ अर्ब लगानी

कान्तिपुर संवाददाता

काठमाडौँ — बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फन्डले नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्समा संयूक्त १ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेका छन् । बीआईआईले ८.४ मिलियन डलर अर्थात १ अर्ब ८ करोड रुपैयाँ बराबरको लगानी गरेको छ भने डोल्मा इम्प्याक्ट फन्डले ६.९ मिलियन डलर अर्थात ९० करोड रुपैयाँ लगानी गरेको छ ।

इन्टरनेट क्षेत्रमा यो सबैभन्दा ठूलो लगानी रहेको वर्ल्डलिंकले जनाएको छ । यसअघि सन् २०१९ मा पनि वर्ल्डलिंकले प्रत्यक्ष वैदेशिक लगानीका रूपमा बीआईआई (तत्कालीन सीडीसी) बाट १ अर्ब ३५ करोड रुपैयाँ भित्र्याएको थियो । बेलायती राजदूत निकोला पोलिटले नेपालमा दिगो आर्थिक विकासका लागि डिजिटल रुपान्तरण जरुरी रहेको र त्यसका लागि बेलायतले गरेको लगानी महत्त्वपूर्ण हुने बताइन् । संयुक्त्त लगानीबारे जानकारी दिन सोमबार आयोजित कार्यक्रममा बीआईआईको प्रविधि एवम् टेलिकमका प्रबन्ध निर्देशक अभिवन सिन्हाले नेपालमा भरपर्दो र सस्तो इन्टरनेट सेवालाई ग्रामीण क्षेत्रमा पुर्‍याउन, थप रोजगारी सिर्जना गर्न र अर्थतन्त्र वृद्धिमा सघाउन वर्ल्डलिंकले सहयोग गरोस् भन्ने चाहेको बताए ।

डोल्मा फन्ड म्यानेजमेन्टका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत टिम गोचरले नेपालमा छिटो अवधिमा ठूलो फड्को मार्न सक्ने क्षेत्र डिजिटल उद्योग भएकाले प्रविधि लगानीमा असाधारण वृद्धि देखेको बताए । 'ग्रामीण क्षेत्रहरूमा पनि इन्टरनेट पुगोस्, धुन्चे, जुम्लाका मानिसले पनि अनलाइनबाटै काम गर्न सकुन् भनेर हामीले वर्ल्डलिंकमा लगानी गरेका हौं' उनले भने ।

काठमाडौं उपत्यका मात्रै नभएर देशका अन्य भेगमा पनि इन्टरनेट सेवा विस्तार गरेर वर्ल्डलिंकले नेपालको डिजिटल रुपान्तरणका लागि पहल गरिरहेको सिन्हाले बताए । 'यसले गर्दा स्वास्थ सेवा, वित्तीय सेवा र नेपालका युवालाई जोड्ने काममा धेरै प्रगति भएको हामीले देखेका छौं' उनले भने । वर्ल्डलिंकका अध्यक्ष एवम् प्रबन्ध निर्देशक दिलिप अग्रवालले प्राप्त सहायतालाई गुणस्तरीय इन्टरनेट सेवा विस्तारमा लगाइने बताए ।

प्रकाशित : चैत्र ६, २०७९ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्

लक्ष्मीनारायण विद्यापिठमा लोविसंघको प्यानलै विजयी

सुनिता बराल

महोत्तरी — नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत लक्ष्मीनायारायण विध्यापिठ मटिहानी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी निकट विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ)को प्यानल नै विजयी भएको छ ।

अध्यक्षमा लोविसंका सर्वेश कुमार झासहित लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक विद्यार्थी संघको प्यानलनै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षमा झा ७१ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेविसंघका भुपेन्द्र कुमार झाले ५९ मत प्राप्त गरे ।

सचिवमा लोविसंका गौतम कुमार मण्डल ६४ मत प्राप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेविसंघका जितेन्द्र साहले ४६ मत प्राप्त गरेका छन् । यस्तै कोषाध्यक्षमा लोविसंका रोहन कुमार मिश्र ७५ मत प्राप्त गरी विजयी भए ।

सदस्यहरुमा लोविसंकै सपना कुमारी ओझा, अन्जनी कुमारी, पुजा ठाकुर, त्रिपुरारी झा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

जिल्लाभर स्ववियु निर्वाचन भएको एउटै लक्ष्मीनारायण विद्यापिठको निर्वाचनमा १ सय ५५ मतदाता थिए । मतदानमा जम्मा १ सय ३६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : चैत्र ६, २०७९ १८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×