पुरानो दरबारमा भोजनको भण्डार
काठमाडौँ — पुतलीसडकबाट डिल्लीबजारतर्फ उकालो लाग्दै गर्दा बायाँ मोडिनेबित्तिकै देखिन्छ, पुरानो शैलीको चारतले ‘दरबार’ । बिहानीपख यो प्रायः सुनसान रहन्छ । मध्याह्न १२ बजेपछि भीडभाड बढिहाल्छ– खानाको स्वाद लिनेहरू पस्छन् । साँझको ६ बजेपछि नौला अनुहारहरू नेपाली खानाको स्वाद लिन ‘दरबार’ छिरिहाल्छन् ।
ती पाहुनालाई दौरा–सुरुवाल र ढाकाटोपीमा सजिएकाहरूले स्वागत गर्दै बस्ने ठाउँसम्म पुर्याउँछन् । त्यसपछि विभिन्न समुदायका पोसाकमा सजिएका युवतीले करुवामा पानी लगेर काँसको गिलासमा राखिदिन्छन् ।
०५४ सालमा जीर्णोद्धार गरी ०५५ सालबाट ‘दरबार’ मा सञ्चालित ‘भोजन गृह’ मा नेपाली खानाको स्वाद लिन विदेशी पाहुनाको भीड लाग्ने गरेको छ । नेपालीहरूको रोजाइमा पनि आफ्नो रेस्टुराँ परेको सञ्चालक भरत बस्नेत बताउँछन् । खोटाङको चिसापानीमा जन्मिएका उनीसँग विदेशदेखि स्वदेशकै विभिन्न संघसंस्थामा आबद्ध भएर काम गरेको अनुभव छ ।
तस्बिरहरू तथा भिडियो : अंगद ढकाल/कान्तिपुर
एकताका ट्राभल एजेन्सीमा काम गर्न थालेपछि गुणस्तरीय पर्यटक नेपाल भित्र्याउनुपर्छ भन्दै पुरानो शैलीका घर खोज्न थाले । त्यही बेला तत्कालीन ‘श्री ५ को सरकारले भ्रमण वर्ष नेपाल १९९८’ घोषणा गर्यो । त्यसलाई सफल बनाउने भए पहिला काठमाडौंको वायु प्रदूषण कम गर्नुपर्छ, ऐतिहासिक घरहरूको संरक्षण गर्नुपर्छ र नयाँ घर बनाए पनि पुरानो शैलीका हुनुपर्छ भन्दै उनले अभियान थाले । यही बेला उनी आफैं पुरानो घरको खोजीमा थिए, ताकि पुरानो घरमा विदेशी पर्यटक ल्याएर नेपाली खानाको स्वाद चखाऔं ।
त्यही बेला ०५४ सालतिर डिल्लीबजारमा रहेको पुरानो तर जीर्ण दरबार फेला पारे । ‘यो घर राजाका बडागुरुज्यू नैनराज पाण्डेका सन्तानहरूको निवास थियो । तर बस्दैनथे,’ बस्नेतले भने, ‘यसको पश्चिमपट्टिको भागमा गार्मेन्ट उद्योग चलाइएको थियो । र, पूर्वतर्फको भाग बिक्री गरिसकिएको थियो ।’ त्यही पश्चिमपट्टिको गार्मेन्ट भाडामा लिए । जीर्णोद्धारसँगै ‘भोजन गृह’ सञ्चालन गरे । ‘नेपाली खाना अन्त पनि पाइन्छ । खानासँगै विभिन्न समुदायका सांस्कृतिक पहिचानसहितको नाचगान देखाउने गरी भोजन गृह सुरु गरें । विदेशी पर्यटक राम्रै आउन थाले । थोरैथोरै नेपाली पाहुना पनि आए,’ बस्नेत भन्छन् ।
भोजन गृह कोरोनाका कारण भने सन् २०१९ को अन्तिमदेखि बन्द भएको थियो । अहिले भने भर्खर एक महिनाअघि पुनः सञ्चालन भएको उनको भनाइ छ । ‘यस अवधिमा घरलाई भूकम्पप्रतिरोधी बनायौं । रङरोगन गरेर चिरिच्याट्ट पनि पार्यौं,’ उनले भने, ‘दरबारसहित ३४ आना जग्गा छ,’ उनले भने, ‘अहिलेसम्म थोरैथोरै गरेर यसमा पनि लगानी मात्रै ४० करोड पुगिसकेको छ ।’ कोभिडअघि ६१ जनाले रोजगारी पाएकामा अहिले ४० जना कार्यरत छन् ।
लगानीभन्दा बढी मिहिनेत दैनिक रूपमा पाहुनालाई कसरी खुसी पार्ने भन्ने ध्याउन्न बस्नेतको छ । पाहुनालाई आउनेबित्तिकै मकै भटमास दिइन्छ । त्यसपछि तारेको आलु टेबल–टेबलमा पुर्याइन्छ । ‘लगत्तै मःम (खसी र कुखुराको) दिन्छौं, पछि क्वाँटीको सुप चखाइन्छ,’ उनले भने, ‘यससँगै नाचगान सुरु हुन्छ, नेवारी, तामाङ सेलो, झिझिया र बाला नाचनाचेर उपस्थित पाहुनालाई मनोरन्जन दिने गरेका छौं ।’
नाचसँगै खाना सुरु हुन्छ । खानामा चामलको भात, घिउले झानेको दाल, दुई थरी तरकारी, खसी, कुखुराको मासु हुन्छ । दहीको सिकर्नी पनि दिइन्छ । ‘पहिलो पटक यहाँ आउनेहरू सांस्कृतिक नाचसँगै खानाको स्वादमा भुल्छन्,’ बस्नेतले भने, ‘हाम्रो मेनुको सुरुवाती मूल्य २९ सय रुपैयाँ छ ।’ यो गृहले ट्राभल एजेन्सीमाझ मार्केटिङ गरेर विदेशीलाई नेपाली खाना खुवाउन आग्रह गर्ने गरेको छ ।
एकसाथ दुई सय जना बसेर खाना खान मिल्ने भोजन गृह साँझ परेपछि सांस्कृतिक कार्यक्रमले गुन्जायमान बन्छ । ‘सांस्कृतिक पहिचानसहित भोजन गृह सुरु गरेका हौं । हाम्रा रेस्टुराँमा काम गर्नेले दौरासुरुवाल नै लगाउने गरेका छन्,’ बस्नेतले भने, ‘यहाँ आएपछि नेपाल चिनियोस्, नेपाल देखियोस् भन्ने हाम्रो मनसाय हो ।’ बिहानको खानाका लागि प्रत्येक दिन मध्याह्न १२ बजेबाट भोजन गृह खुल्छ । साँझ ७ बजेदेखि खानासहित सांस्कृतिक कार्यक्रम सुरु हुन्छ । राति १० बजेसम्म चल्ने र परिवारसहित आउनेको जमात बाक्लो हुने बस्नेत बताउँछन् ।
प्रकाशित : चैत्र ६, २०७९ ११:३८