बिमा अभिकर्ताको व्यवस्थापन अब अनलाइनबाटै- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

बिमा अभिकर्ताको व्यवस्थापन अब अनलाइनबाटै

कान्तिपुर संवाददाता

काठमाडौँ — नियामक निकाय बिमा प्राधिकरणले अब अनलाइन प्रणालीबाटै बिमा अभिकर्ता व्यवस्थापन गर्ने भएको छ । एक जना अभिकर्ता एकभन्दा बढी समान किसिमको बिमा कम्पनीमा आवद्ध हुन नपाउने विद्यमान कानुनी व्यवस्था पूर्ण रुपमा कार्यान्वयन गर्ने उद्देश्यले प्राधिकरणले अनलाइन प्रणालीबाट व्यवस्थापन सुरु गरेको हो ।


नेपाल बिमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले आइतबार अनलाइन प्रणालीमार्फत अभिकर्ता व्यवस्थापन गर्ने प्रणालीको शुभारम्भ गरे । उक्त प्रणालीले 'एक बिमक, एक बिमा अभिकर्ता' अनुरुप समान प्रकृतिको एक भन्दा बढी बिमा कम्पनीमा रहे/नरहेको बारे जानकारी दिन्छ । ‘अनलाइन प्रणालीका माध्यमबाट व्यवस्थापन भएपछि अभिकर्ताको परिचय, रहने स्थान र आवद्ध कम्पनी लगायतका बारेमा स्पष्ट जानकारी हुने हुँदा उनीहरूको अनुगमन गर्न सहज हुन्छ,’ अध्यक्ष सिलवालले भने, ‘बिमा व्यवसाय वृद्धि भएसँगै अभिकर्ताको संख्या पनि बढ्ने भएकाले विश्वसनीय ढंगले जिम्मेवारबोधका साथ अभिकर्ताले काम गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रभावकारी व्यवस्थापन जरुरी हुन्छ । जसको सुरुवात भइसकेको छ ।’

अनलाइन प्रणालीमार्फत् अभिकर्ताको व्यवस्थापन र इजाजतपत्र नवीकरण प्रक्रिया सरल र सहज हुने प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उक्त प्रणालीमा कुनै समस्या आउन नदिन र आएमा तत्काल समाधान गर्न पनि उनले निर्देशन दिए । ‘प्राधिकरणले अनलाइन प्रणाली मार्फत् एक बीमक, एक बिमा अभिकर्ताको व्यवस्थापन कार्यसँगै विभिन्न अनलाइन भुक्तानी सेवा प्रदायकबाट नवीकरण दस्तुर भुक्तानी गरी मध्यस्थकर्ता (बिमा अभिकर्ता र सर्भेयर) को इजाजतपत्र नवीकरण कार्यलाई निरन्तरता दिएको छ,’ उनले भने ।

बिमा कम्पनीमार्फत् प्राधिकरणको अनलाइन प्रणालीमा हालसम्म १ लाख ६३ हजार ९ सय २५ जना अभिकर्ताले स्थायी लेखा नम्बरसहित आवश्यक कागजात समावेश गरी विवरण अद्यावधिक गराएका छन् । अभिकर्ताको इजाजतपत्र अद्यावधिक गर्नका लागि योग्य देखिएकाको संख्या २ लाख २१ हजार ८ सय ५० रहेकोमा १ लाख ६३ हजार ९ सय २५ को अद्यावधिक भएको र बाँकी ५७ हजार ९ सय २५ को भने अद्यावधिक प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ ।

अनलाइन प्रणालीमा बिमा अभिकर्ताले प्रविष्ट गरेको स्थायी लेखा नम्बरका आधारमा अध्ययन गर्दा समान प्रकृतिका दुई वा दुईभन्दा बढी कम्पनीमा कार्य गर्नेको संख्या ५ हजार ४५ रहेको पाइएको छ । एकभन्दा बढी बिमा कम्पनीमा कार्यरत अभिकर्तालाई एउटा मात्रै छान्न मिल्ने व्यवस्था (वान टाइम पासवर्ड–ओटीपी) मार्फत गरिएको प्रधिकरणले जनाएको छ । यस्तै, अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण भएको जानकारी इमेल मार्फत सम्बन्धित व्यक्तिलाई पठाइने व्यवस्था समेत अनलाइन प्रणाली मार्फत मिलाइएको छ ।

प्रकाशित : चैत्र ५, २०७९ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्

ज्ञानोदय क्याम्पस खजुरामा अनेरास्ववियुको टिम विजयी

रुपा गहतराज

नेपालगन्ज — बाँके खजुरामा रहेको ज्ञानोदय बहुमुखीपब्लिक  क्याम्पसमा विनयकुमार यादव सभापति रहेको प्यानल अनेरास्ववियुको टिम विजयी भएको छ । दुई सय २९ जना मतदाता रहेको ज्ञानोदय क्याम्पसमा २ सय २२ मत खसेको थियो । जसमा यादवले १ सय १ मत प्राप्त गरे । 

यसैगरी अनेरास्ववियु (क्रान्तिकारी)का सरिफ खाँले ६१ मत र नेविसंघका हिमाल पंगालीले ४८ मत पाएका छन् । समानुपातिकतर्फ भने अनेरास्ववियुले १ सय ७, नेविसंघले ५७ र अनेरास्ववियु (क्रान्तिकारी)ले ५४ मत ल्याएका छन् ।

यस क्यम्पसमा तीनवटा विद्यार्थी संगठनहरु चुनावी मैदानमा थिए । सभापतिका लागि अनेरास्ववियुले विनयकुमार यादव, नेविसंघले हिमाल पंगाली र अखिल (क्रान्तिकारी)ले सरिफ खाँलाई उम्मेदवार बनाएका थिए ।

आइतबार नर्सिङ क्याम्पस नेपालगन्ज, खजुरास्थित ज्ञानोदय क्याम्पस र राप्तीपारिको सिद्वेश्वरी बहुमुखी क्याम्पस तथा कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ ।

प्रकाशित : चैत्र ५, २०७९ १९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×