तीन दिनमा पौने २४ अर्ब आन्तरिक ऋण उठाइँदै

काठमाडौँ — सरकारले आउँदो बुधबारसम्ममा झण्डै २४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् २३ अर्ब ८३ करोड रुपैयाँ उठाउन लागेको जनाएको छ । जसअनुसार १६ अर्ब ८३ करोड रुपैयाँ बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण रहेको छ भने बाँकी ७ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको छ ।

तीन दिनमा पौने २४ अर्ब आन्तरिक ऋण उठाइँदै

ट्रेजरी बिलका लागि सोमबार बोलकबोल गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ । जसअनुसार बुधबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म)मा ८८ अर्ब रुपैयाँ आन्तरिक उठाउने योजना बनाएको छ । यो आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ उठाउन लागेको हो ।

सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । उक्त लक्ष्यलाई तीन चरणमा गरेर उठाउन लागेको हो । सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन । दोस्रो त्रैमासबाट मात्र आन्तरिक ऋण उठाउन लागेको हो । जसअनुसार चौथो त्रैमासमा सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना राखेको छ ।

तेस्रो त्रैमासमा ट्रेजरी विलमार्फत् ६० अर्ब, विकास ऋणपत्र मार्फत् २५ अर्ब, नागरिक बचतपत्र मार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्र मार्फत ५० करोड गरेर कुल ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो । ट्रेजरी विल र विकास ऋणपत्रको ब्याजदर बोलकबोलका आधारमा तय हुने राष्ट्र बैंकले बताएको छ ।

प्रकाशित : चैत्र ५, २०७९ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?