प्रधानमन्त्री दाहालले बैंक, लघुवित्त र सहकारीको बृहत् समीक्षा बैठक बोलाउने- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री दाहालले बैंक, लघुवित्त र सहकारीको बृहत् समीक्षा बैठक बोलाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याको समाधानका लागि बृहत् समीक्षा बैठक बोलाउने भएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंक तथा वित्तीय संस्थाप्रति बढेको आक्रोश र जनगुनासोलाई समेत प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने बताएका हुन् । 

‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए । मुख्यतः ग्रामीण वस्तीमा सहज र सरल कर्जा प्रवाह भएको थियो तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन्’ दाहालले भने ‘सहकारीहरूमा पनि समस्या देखिएका छन्, यिनीहरूको बृहत् समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरूरी छ ।’ बैंक तथा वित्तीय संस्थाहरूको कार्यप्रति समीक्षा आवश्यक रहेको र त्यसबाट समस्या पहिचान गरी समाधान गर्ने उनले बताए । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।


प्रकाशित : चैत्र ५, २०७९ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्

डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित 

कान्तिपुर संवाददाता

दिपायल — डोटी बहुमुखी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । विद्यार्थी संगठनहरुबीच विवाद हुँदा नेकपा चन्द समूह निकट अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थीहरुले क्याम्पसमा तोडफोड र मतपेटिकामा आक्रमण गरेपछि निर्वाचन स्थगित भएको हो ।

मतदाताको परिचयपत्रसम्बन्धी सामान्य विवादका क्रममा क्याम्पसमा तोडफोड गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेको विज्ञप्ति प्रकाशन गरेको थियो ।

निर्वाचन समितिले ७५ प्रतिशत मतदान सम्पन्न भइसकेपछि निर्वाचन स्थगित गर्नुपरेको जनाएको छ । डोटी बहुमुखी क्याम्पसमा ८ सय ९ मतदाता रहेका छन् । स्ववियु निर्वाचनका लागि ३ वटा प्यानलले उम्मेदवारी दिएका छन् । जसमा नेविसंघ एक्लै निर्वाचनमा होमिएको छ भने एमाले र माओवादी निकट विद्यार्थी संगठनको एउटा तथा नेकपा चन्द समूह र राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठनको अर्को संयुक्त प्यानल रहेका छन् ।

निर्वाचन स्थगित गरेपछि नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय डोटी घेराउ गरेको छ भने डोटी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । नेविसंघका जिल्ला अध्यक्ष दिपेन्द्र सिंहले सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको अवस्थामा मतदान केन्द्रमा प्रवेश गरेर मतपेटिकालगायतका निर्वाचन सामग्रीहरु तोडफोड गर्नेलाई कारबाही गरी मतदान पुनः सञ्चालन गर्नुपर्ने बताए ।

प्रकाशित : चैत्र ५, २०७९ १७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×