कच्चा तेलको भाउमा गिरावट- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कच्चा तेलको भाउमा गिरावट

कान्तिपुर संवाददाता

काठमाडौँ — सुनको मूल्य बढ्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ भने घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलरभन्दा तल झरेको छ । शुक्रबार कारोबार बन्द हुँदा डब्लुटीआई तेलको मूल्य प्रतिब्यारेल ६६.७४ डलरमा झरेको छ । कच्चा तेलको मूल्य केही महिनादेखि नै अन्तर्राष्ट्रिय बजारमा ओरालो लागेको छ । 

९ महिनाको अवधिमा औसतमा कच्चा तेलको भाउ प्रतिब्यारेल ५० डलर झरिसकेको छ । गत जुन ९ मा डब्लुटीआई तेलको मूल्य प्रतिब्यारेल १२१ डलरसम्म पुगेको थियो । त्यस्तै शुक्रबार मार्स यूस तेलको भाउ ६७.२४ डलरमा झरेको छ । ब्रेन्ट तेल प्रतिब्यारेल ७२.९७ र मुर्बान क्रुडको ७३.८१ डलरमा झरेको छ । बिहीबारको तुलनामा शुक्रबार मात्रै अधिकांश कच्चा तेलको भाउ २ प्रतिशतले घटेको छ । कच्चा तेलको मूल्यले नेपालको अर्थतन्त्रमै असर पार्दछ । खरिद गरेको कच्चा तेलको मूल्यअनुसार नेपाललाई भारतले प्रत्येक १५–१५ दनिमा नयाँ मूल्य सूची पठाउँछ । कच्चा तेलको भाउ घट्दा नेपालबाट तेलमा बाहिरिने रकम पनि घट्न जान्छ । कच्चा तेलको मूल्य घटेमा महँगी नियन्त्रणमा समेत सघाउ पुग्दछ ।


प्रकाशित : चैत्र ५, २०७९ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्

दक्षिण अस्ट्रेलियामा देखिएको ‘मिनी नेपाल’

नारायण खड्का

अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियामा ४ वर्षपछि नेपाल महोत्सवको आयोजना गरिएको छ । दक्षिण अस्ट्रेलियाको मुख्य क्षेत्र एल्डर पार्क शनिबार बिहानैदेखि नेपालमय बनेको थियो । महोत्सवमा नेपालीबाहेकका समुदायका व्यक्तिहरूको उल्लेख्य सहभागिता थियो । 

तस्बिर : नारायण/कान्तिपुर

कार्यक्रमलाई सफल बनाउन राज्य सरकारले झन्डै ४३ हजार डलर सहयोग गरेको थियो भने बहुसांस्कृतिकमन्त्री, विपक्षी दलका नेतालगायत दर्जनभन्दा बढी अस्ट्रेलियाली राजनीतिक दलका नेताहरूले सहभागिता जनाएका थिए । महोत्सवमा नेपाली कलासंस्कृति तथा झाँकीसहित बिहान प्रभातफेरी गरिएको थियो । उक्त प्रभातफेरीमा सयौं नेपाली तथा विदेशी सहभागी थिए ।

महोत्सवमा प्रदर्शन गरिएको धरहरा, बुद्धको प्रतिमा, ढिकी, जाँतो, गुन्द्री बुन्ने तान, नेपाली बाजाहरू, परम्परागत पोशाकलगायत विभिन्न वस्तुहरू आकर्षणको केन्द्रमा रहेका थिए । विदेशीले नेपाली कला, संस्कृति र परम्परागत वस्तुलाई चासोका साथ अवलोकन गर्नुका साथै नेपालको पर्यटकीय क्षेत्र र पर्यटनप्रति समेत चासो राखेका थिए ।


एनआरएनए दक्षिण अस्ट्रेलियाले आयोजना गरेको महोत्सवमा करिब १ लाख २० हजार डलर खर्च भएको जनाएको छ । हरेक दुई वर्षमा आयोजना गरिने महोत्सव कोभिड संक्रमणका कारण अघिल्लो वर्ष हुन सकेको थिएन । सहरको मुख्य पर्यटकीय क्षेत्रमा आयोजना गरिएका कारण समेत यस वर्ष अन्य वर्षको तुलनामा उल्लेख्य विदेशीको सहभागिता रहेको थियो । महोत्सवमा दोस्रो पुस्ताका नेपालीको उल्लेख्य सहभागिता थियो भने नेपालबाट घुम्न आएका अभिभावकले समेत सक्रियताका साथ सहभागिता जनाएका थिए ।

प्रकाशित : चैत्र ५, २०७९ १३:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×