मौलाकालिका केवलकार नयाँ वर्षदेखि सञ्चालन हुने- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मौलाकालिका केवलकार नयाँ वर्षदेखि सञ्चालन हुने

नारायण शर्मा

पूर्वी नवलपरासी — गैंडाकोट नगरपालिका वडा नम्बर १ स्थित मौलाकालिका मन्दिरमा निर्माण भैरहेको केवुलकार नयाँ वर्षबाट सञ्चालन हुने भएको छ । मौलाकालिका केवलकारका इन्जिनियर गोकुल साउदका अनुसार केवलकार निर्माणको सबै काम अन्तिम चरणमा छ, नयाँ वर्षदेखि सञ्चालनमा आउने छ ।

'गैंडाकोटको धारापानीमा चढ्ने स्टेसन र डाँडामा रहेको पुरानो हेलिप्याड भएको स्थानमा पनि ओर्लने स्टेसन निर्माण भैसकेको छ' साउदले भने 'तार तान्ने काम सम्पन्न भैसकेको छ, तारमा डब्बा जोड्ने काम आउँदो १० दिनभित्र सकिने छ ।' हरेक नयाँ वर्षमा एकै दिन मौलाकाली मन्दिरमा हजाराैं तिर्थालुहरु पुग्ने गरेका छन् । नयाँ वर्षका तिर्थालुलाई केवलकारमा यात्रा गराउनेगरी काम भइरहेको उनले सुनाए ।

आईएमई समूहको डेढ अर्ब लगानी रहेको केवलकार १२ सय मिटर लामो छ । यो केवलकारमा ६ वटा टावर रहने छ । ती टावरमा यात्रु चढने १४ वटा गोण्डोला (डब्बा ) रहने छ । त्यसमा १२ वटा डब्बामा यात्रु ओसार्ने , एउटामा सामान ओसार्ने र अर्को सर्भिसिङ प्रयोगमा आउने डब्बा हुने छ । केवलकार पूर्ण क्षमतामा सञ्चालन हुदा दैनिक ६ हजार यात्रु आउजाउ गर्न सक्छन् । केबुलकारले माथि डाँडामा सुविधा सम्पन्न ५० कोठाको होटल पनि निर्माण भएको छ । स्विङ पुल, स्पा , ब्याङ्केट हल समेत छ । होटलको छतमा हेलिप्याड राख्न मिल्ने व्यवस्था छ । केवलकारमा आईएमई ग्रुपको ५१ प्रतिशत र स्थानीयको ४९ प्रतिशत लगानी रहेको छ । यो केवुलकार यूरोपियन स्टयाण्डर्डको रहेको माैलाकालिका केवलकारकाे दाबी छ । आइएमई समूहले यसअघि काठमाडाैंको चन्द्रागिरिमा केवलकार सञ्चालनमा ल्याइसकेको छ । हाल यो समूहले बुटवल र गैंडाकोटमा केवलकारको काम अन्तिम चरणमा पुर्‍याएको छ ।

केवलकारको तल्लो स्टेसन (चढ्ने स्थान) बाट माथिल्लो स्टेसन (झर्ने स्थान)सम्मको दूरी ३ सय २० मिटर मात्र रहेको छ । तलबाट माथिसम्म ५ मिनेटमा पुगिने छ । हाल मौलाकालिका फेदीबाट करिब ४५/५० मिनेट उकालो हिँडेर यात्रुहरु मन्दिर पुग्ने गरेका छन् । बिहान उकोलो पैदल जादा स्वास्थ्य राम्रो हुने भएकाले त्यहा पुग्नेहरुको चाप हरेक बिहमन बाक्लै देखिन्छ । मन्दिर परिसरबाट चितवन, नवलपरासी र देबघाटको मनोरमदृश्य देख्न सकिन्छ । नेपालमा हाल मनकामना, चन्द्रगिरि, अन्नपुर्ण र कालिन्चोक केवलकार सञ्चालनमा छन् । निर्माणधीन अवस्थामा यो मौलाकालिका, रुपन्देहीमा लुम्बिनी तथा सिद्धार्थ केवलकार र तनहुँमा बन्दिपुर केवलकार छन् ।

प्रकाशित : चैत्र ५, २०७९ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्

स्ववियु निर्वाचन : पाल्पाका ४ क्याम्पसमध्ये २ वटामा निर्विरोध

सहिद बहुमुखी क्याम्पसमा मतदान जारी, त्रिभुवन बहुमुखी क्याम्पसमा सहमतिको प्रयास
माधव अर्याल

पाल्पा — स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत पाल्पाको चारमध्ये दुई क्याम्पसमा निर्विरोध भएको छ । सहिद बहुमुखी क्याम्पसमा भने मतदान जारी छ । त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा भने एमाले निकट अनेरास्ववियुले निर्वाचन कार्यालय र क्याम्प्स प्रमुखको कार्यकक्षमा मनोनयनका दिन फागुन २७ गते तालाबन्दी गरेको छ । तालाबन्दीपछि स्ववियु निर्वाचन कार्यक्रम प्रभावित छ ।

निर्वाचन अधिकृत जीवन थापाका अनुसार त्रिभुवन बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनबीच सहमतिको प्रयास जारी छ । झन्डै ८ सय मतदाता रहेको सहिद बहुमुखी क्याम्पस रामपुरमा कांग्रेस निकट नेविसंघले सभापतिमा ल्याकत अली र एमाले निकट अनेरास्ववियुले सन्देश ढकालको प्यानलसहित उम्मेदवारी दिएका छन् ।

प्रत्यक्षतर्फ नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी) ले तालमेल गरेका छन् । नेविसंघ र अखिल क्रान्तिकारीको प्यानलमा सचिवमा रमेश पोखरेल, कोषाध्यक्षमा तिलक सारु छन् । यसैगरी सदस्यहरुमा कसम मल्ल ठकुरी, कविता राना, जयन्ती दर्जी, अस्मिता खनाल र महेश राक्सेले मनोनयन दर्ता गराए । अनेरास्ववियुले सचिव रमा श्रेष्ठ, कोषाध्यक्ष दुर्गा विक, सदस्यहरुमा अनिता श्रेष्ठ, जानकी बयम्बु, समरबहादुर खन्गाहा, राजन गौतम, सम्बोधन खनालले उम्मेदवारी दर्ता गराए ।

समानुपातिकतर्फ भने नेपाल विद्यार्थी संघले १०, अनेरास्ववियुले १० र अनेरास्ववियु(क्रान्तिकारी)ले ६ जनाको नामावली पेश गरेका छन् । स्ववियु निर्वाचन अधिकृत सूर्यप्रसाद घिमिरेका अनुसार नेविसंघबाट दर्पण सोती, जनक पाण्डे, बन्दना गैरे, लक्ष्मी श्रेष्ठ, विवेक नेपाली, आशिष पोखरेल, दिक्षा ज्ञावली, विपिन गैरे, योगिता पंगेनी, निकिता पाठकको नाम सिफारिस गरेको छ ।

अनेरास्ववियुले नविना रेग्मी, त्रिशन न्यौपाने, शितल अधिकारी, नारन भण्डारी, शिरिषा विश्वकर्मा, सच्चा रेग्मी, राधिका गौतम, पवन भण्डारी, मिलन पौडेल र विमल गौतमको नाम बुझाएको छ । अनेरास्ववियु क्रान्तिकारीले चनिसरा सोती, हेम कुमारी सोती, बिनु सोती, कान्तिसरा सुनारी, ममता सुनारी र राममाया सोतीको नाम पठाएको छ । सहिद क्याम्पसमा १५ सदस्यीय समिति रहनेछ । जसमा आठ जना प्रत्यक्ष र सात जना समानुपातिकतर्फबाट प्रतिनिधित्व हुनेछ ।

तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा भने सात ६ विद्यार्थी संगठन र असंलग्न विद्यार्थी संगठनबीच सहमतिका लागि छलफल भइरहेको छ । विद्यार्थी संगठनहरु पदको भागबण्डा गरेर स्ववियु गठन गर्ने प्रयासमा छन् । नेकपा एकीकृत समाजवादी संगठनले पद भागबण्डामा चित्त नबुझाएपछि केही दिनयता दैनिकजसो छलफल चलिरहेको छ ।

अनेरास्ववियुका मागका सम्बन्धमा क्याम्पस प्रशासनले छलफल गरेपनि निष्कर्ष निस्कन नसकेपछि तालाबन्दी खुलेको छैन । अनेरास्ववियुले हार्ने निश्चित भएपछि बहानाबाजी गर्दै वार्ता र छलफलबाट पदमा जाने प्रयास गरेको अन्य संगठनको आरोप छ । पछिल्ला दिनमा प्राध्यापक नियुक्ति, कर्मचारी नियुक्तिमासमेत भागबण्डा हुँदै आएकाले पनि स्ववियु पनि भागबण्डाबाटै लैजान खोजिएको अन्य विद्यार्थी संगठनले बताएका छन् ।

उद्बुद्ध कलेज स्वतन्त्र विद्यार्थी युयिनन निर्वाचन अन्तर्गत एमाले निकट अनेरास्ववियुको एकल प्यानल निर्विरोध भएको छ । अनेरास्ववियुका नेता नवीन आचार्यका अनुसार सभापतिमा केशव पंगेनी, उपसभापति कमल बस्याल, सचिव कृष्णा झापुर्लक, सहायक सचिव बिनिता कामु निर्विरोध भए । सदस्यहरु सरिता नेपाली, रुपा घर्ती, हेमा हिस्की, विष्णु आचार्य, संगीता आचार्य, नेत्रबहादुर पल्ली रहेका छन् । दमकडास्थित माण्डव्य बहुमुखी क्याम्पसमा पनि एमाले निकट अनेरास्ववियुका सरोज अधिकारी सभापति र बन्दना सुनार सचिव रहेको समिति गठन भएको छ । यहाँ नेविसंघ र एकीकृत समाजवादी निकट अनेरास्ववियुसमेत समितिमा छ ।

प्रकाशित : चैत्र ५, २०७९ १२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×