३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बेनी–जोमसोम सडकको भीरकाटेमा सुरुङ बनाइने

दायाँतिर कडा पहाड र बायाँ किनारामा कालीगण्डकीले निरन्तर कटान गरेकाले सडक सुरक्षाका लागि सुरुङमार्गको डिजाइन
घनश्याम खड्का

म्याग्दी — कालीगण्डकी करिडोरअन्तर्गत निर्माणाधीन बेनी–जोमसोम–कोरला सडकको पोखरेबगर खण्डको भीरकाटेमा सुरुङ (टनेल) निर्माण हुने भएको छ । अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर नजिक भीरकाटेमा सडकको डिजाइन परिवर्तन गरी ३ सय ५० मिटर लामो सुरुङमार्ग बनाइने बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

बेनी–जोमसोम सडकको भीरकाटेमा सुरुङ बनाइने

दायाँतर्फ अग्लो ओडार परेको कडा पहाड र बायाँ किनारामा कालीगण्डकी नदीले निरन्तर कटान गरेकाले सडक सुरक्षाका लागि सुरुङमार्गको डिजाइन गरिएको हो ।

‘भीरकाटे खण्डमा सडक कालीगण्डकी नदी किनारामै रहेकाले बर्खाका बेला बर्सेनि कालीगण्डकीले सडक बगाउने र यातायात अवरुद्ध बनाउने गर्छ । कुनापट्टि ओडार परेको अग्लो कडा पहाड छ, जुन विस्फोटन वा अन्य विधिबाट काटेर सडकको लेभलमा ल्याउन सम्भव छैन । त्यसैले यहाँ सुरुङ नै उत्तम विकल्प हो,’ बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘भीरकाटे खण्डमा सडकको बेस छैन । नदी किनारामा ढुंगा राखेर डाइभर्सनले काम चलाएका छौं । डिजाइन अप्रुभ भएको छ । अब ठेक्का लगाउने प्रक्रियामा छौं ।’

भीरकाटेमा ३ सय ५० मिटर लामो सुरुङमार्ग बनाउन ८० करोड रुपैयाँभन्दा बढी लागत लाग्ने प्रारम्भिक अनुमान रहेको आयोजनाले जनाएको छ । जोमसोम–कोरला १ सय १० किमि लामो सडकमध्ये म्याग्दीमा पर्ने बेनी (गलेश्वर)–घाँसा खण्डको ३८ किमिमध्ये १५ किमि अति कठिन क्षेत्र हो ।

अर्को दुई किमि सडकमा रहेका १० वटा पहिरोको पनि थप अध्ययन भइरहेको छ । भीरकाटे नकी टिम्मुरे भन्ने स्थानमा करिब एक सय मिटर सडक भने अर्धसुरुङ (अंग्रेजी अक्षरको सी आकार) मा निर्माण हुनेछ । उक्त खण्डमा सडकको देब्रे किनारामा कालीगण्डकी साँघुरो घाटी भएर बगेको र दायाँ कुना भाग अग्लो पहाड भएकाले विस्फोट गरी पूरै भीर काट्न सकिने अवस्था छैन ।

प्रकाशित : चैत्र ५, २०७९ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?