नागरिक लगानी कोषले उत्पादनशील क्षेत्रमा लगानी गर्ने- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिक लगानी कोषले उत्पादनशील क्षेत्रमा लगानी गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नागरिक लगानी कोषका अध्यक्ष सूर्यबहादुर थापाले आर्थिक वृद्धिमा टेवा पुग्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा शनिबार आयोजित कोषको ३३ औं वार्षिकोत्सवमा थापाले आफूलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ कोषले काम गर्ने बताए ।

‘देशको आर्थिक वृद्धिमा टेवा पुर्‍याउने एवं रोजगारी सिर्जना गर्न गरी कोषले कृषि, पर्यटन, उर्जा र पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै लैजानुपर्ने देखिन्छ,’ उनले भने, ‘कर्मचारी विनियमावली अगाडि बढेको, कोषको स्रोत, साधनअनुसार कार्यरत कर्मचारीको सेवा सुविधा परिमार्जन हुँदै आएको छ । कोषले सोहीअनुसार आफू पनि परिमार्जन हुनुपर्ने देखिन्छ ।

कार्यक्रममा राजस्व सचिव रामप्रसाद घिमिरले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोबारमा सहजता आएको बताए । सोही अवसरमा घिमिरले विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्यांक लिन थालेपछि त्रुटि कम हुन थालेको दाबी गरे । अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोषप्रति आकर्षण बढ्दो क्रममा रहेको धारणा पनि उनको थियो ।

नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम २ खर्ब ६ अर्ब १९ करोड रुपौयाँ रहेकोमा उक्त अवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेको बताए । लगानी गर्दा सुरक्षित र प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई उच्च प्राथमिकता दिई आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रहरुलाई प्राथमिकता दिई लगानी बढाउँदै आएको उनको दाबी थियो ।

कोषको विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता देखि नयाँ सफ्टवेयर संचालनमा आइसकेको उनले बताए । ‘राष्ट्रसेवक कर्मचारीहरुको कोषमा जम्मा गर्नुपर्ने रकम सिग्याँस प्रणालीबाट सिधै जम्मा हुने व्यवस्था गरिसकिएको छ भने सबै सहभागीहरुलाई सापटी तथा अन्तिम भुक्तानी एनसिएचएलको कनेक्ट आइपीएसमार्फत बैंक खातामा पठाउने व्यवस्था गरिएको छ । निजी क्षेत्र तथा अन्य संगठित संस्थाहरुको रकम संकलन अनलाइन प्रणालीबाटै गर्ने व्यवस्था मिलाइसकिएको छ ।’

प्रकाशित : चैत्र ४, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्

'महाभारत पर्यटन मार्ग'का लागि बजेट माग

कान्तिपुर संवाददाता

काठमाडौँ — सिन्धुली र काभ्रेबाट वाग्मती प्रदेशसभामा निर्वाचित चार सांसदले आगामी आर्थिक वर्षमा 'महाभारत पर्यटन मार्ग'का लागि बजेट व्यवस्था गराउन संघ सरकारसँग माग गरेका छन् ।

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको नेतृत्वमा शनिबार उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी आव २०८०/०८१ को नीति कार्यक्रममा 'महाभारत पर्यटन मार्ग' योजना समेटी बजेट विनियोजन गर्न माग गरेका हुन् । काठमाडौं उपत्यका-काभ्रे–सिन्धुली–उदयपुर हुँदै सुनसरीको बरहा क्षेत्रसम्मको महाभारत श्रृंखलालाई जोड्ने उक्त मार्गलाई राष्ट्रिय गौरवको आयोजना बनाउनुपर्ने समेत प्रदेशमन्त्री तथा सांसदहरूले माग राखेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले उक्त मार्गलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको कानुनमन्त्री श्रेष्ठले जानकारी दिए । उपप्रधानमन्त्री श्रेष्ठसँगको भेटमा कानुनमन्त्री श्रेष्ठसँगै नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशसभा दलका प्रमुख सचेतक रत्न ढकाल, प्रदेश सदस्यद्वय मातृकाप्रसाद भट्टराई र सुष्पा भुजेल न्यौपाने थिए ।

उक्त मार्गअन्तर्गत ग्वार्कोदेखि ढुंखर्कसम्म सडक कालोपत्र भइसकेको र बाँकी खण्डको अधिकांश भागमा ट्रयाक खुलेको छ । कतै पनि पुल निर्माण गर्नु नपर्ने भएकोले यस सडक निर्माणका लागि लागत सस्तो पर्ने बताइएको छ ।

झण्डै ३०० किमिको यस मार्गले आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, कृषि सबै क्षेत्रमा विशेष योगदान पुर्‍याउने मन्त्री श्रेष्ठको विश्वास छ । त्यस्तै महाभारत क्षेत्रमा बसाइँसराइको समस्या तीव्र रहेको बेला यस सडक छिटो निर्माण भएमा ती क्षेत्रको बसाइँसराइ रोकिन सक्ने उनले बताए ।

'यस सडकले नेवाः, तामाङ र किरात संस्कृतिलाई जोड्ने छ । अत्यन्तै सुन्दर भूगोल भएकाले लाखौं पर्यटकहरुलाई आकर्षित गर्नेछ । सडकको दायाँबायाँ अधिकांश ठाउँमा लिंकरोड बनिसकेकाले त्यस क्षेत्रका कृषि उत्पादन सिधै काठमाडौं उपत्यकामा ल्याई लाखौं कृषकहरुको जीवनस्तर बदल्न सकिनेछ,' मागपत्रमा लेखिएको छ, 'तसर्थ, यस मार्गलाई देशको गौरवको आयोजनाको रुपमा विकास गर्नका लागि हामी विशेष अनुरोध गर्दछौं ।'

प्रकाशित : चैत्र ४, २०७९ १७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×