लगानी बोर्डले भारतको एनएचपीसीलाई दियो सेती-६ आयोजनाको अध्ययन अनुमतिपत्र- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लगानी बोर्डले भारतको एनएचपीसीलाई दियो सेती-६ आयोजनाको अध्ययन अनुमतिपत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — लगानी बोर्डको कार्यालयले भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई ४५० मेगावाटको सेती नदी–६ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र दिएको छ । बोर्डले डोटी र अछाम जिल्लामा निर्माण हुने आयोजनाको अनुमतिपत्र जारी गरेको हो । बिहीबार बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले एनएचपीसीका उपमहानिर्देशक अशोककुमार जोशीलाई अनुमतिपत्र हस्तान्तरण गरेका हुन् ।

बोर्डले ३ महिनाभित्र आयोजना अध्ययन गरी प्रारम्भिक प्रतिवेदन र २१ महिनाभित्र विस्तृत आयोजनाको प्रतिवेदन (डीपीआर) बुझाउनुपर्ने गरी अनुमति प्रदान गरेको हो । कम्पनीले सेती नदी–६ सँगै ७५० मेगावाटको पश्चिम सेती पनि अघि बढाएको छ । अहिले कम्पनीले पश्चिम सेतीको प्रारम्भिक प्रतिवेदन बुझाएर विस्तृत अध्ययनको काम गरिरहेको छ ।

२०७९ जेठ २३ मा बसेको लगानी बोर्डको ५१ औं बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट उत्पादन क्षमताको सेती नदी–६ आयोजनाको विकास तथा लगानीको खाका तयार पार्ने जिम्मा एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको थियो । साउन २३ मा बसेको लगानी बोर्डको ५२ औं बैठकले सर्वेक्षण लाइसेन्स जारी गर्ने समझदारीपत्र अनुमोदन गरेको थियो ।

यी दुई आयोजना एउटै नदी 'बेसिन'मा ५० किलोमिटर दूरीमा छन् । माथिल्लो तटीय आयोजनाका रूपमा पश्चिम सेती र तल्लो तटीय आयोजनाका रूपमा सेती नदी–६ सँगसँगै निर्माण भए कुल १२ सय मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन हुनेछ । लगानी बोर्ड र एनएचपीसीबीच गत भदौ २ गते निर्माण सम्झौता भएको थियो । एनएचपीसीले दुवै आयोजनाबाट उत्पादित बिजुली बेच्न अर्को सरकारी पावर ट्रेड कर्पोरेसन इन्डिया लिमिटेड (पीटीसी) सँग विद्युत् खरिद बिक्रीका लागि सम्झौता गरिसकेको छ ।

प्रकाशित : चैत्र ३, २०७९ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्

रुपन्देहीमा १८ लाख बराबरको अवैध सामान बरामद

अमृता अनमोल

बुटवल — रुपन्देही प्रहरीले शुक्रबार १८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका ७ बनगाईबाट १८ लाख ३६ हजार ६८० रुपैयाँको भन्सार छलेर ल्याएको सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मर्चवारी गाउँपालिका–४ का ओमप्रकाश यादवले चलाएको ग १ त ४६२५ नम्बरको ट्याक्टरलाई बनगाईमा रोकेर जाँच गर्दा भारतबाट ल्याउँदै गरेको अवैध सामान भेटिएको थियो ।

जसमा लेडीज सुट, ब्लाउजको भित्री अस्तर, पहेंलो धोतीको कपडा, पूजामा प्रयोग गरिने सेतो कपडा, बेल्ट लगायत छन् । बरामद भएको सामान थप कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

प्रकाशित : चैत्र ३, २०७९ १७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×