विदेशी लगानीका कम्पनीले ८ महिनामा नेपालबाट लगे साढे १३ अर्ब नाफा- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशी लगानीका कम्पनीले ८ महिनामा नेपालबाट लगे साढे १३ अर्ब नाफा

रासस

काठमाडौँ — चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत विदेशी लगानीका कम्पनीले करिब साढे १३ अर्ब रुपैयाँ बराबरको रकम लगेका छन् । उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ बराबर लाभांश रकम फिर्ताको सिफारिस गरिएको हो । 

विभागले आठ महिनामा रोयल्टीवापत २ अर्ब ८ करोड ९३ लाख रुपैयाँ, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार भारु तथा सात हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि १५ दिनभित्र रकम लैजान पाइन्छ ।

विभागले फागुनमा मात्रै लाभांशवापत करिब ३ अर्ब विदेश लैजानका लागि सिफारिस दिएको छ । विभागले २ अर्ब ८ करोड १० लाख ८३ हजार विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीवापत फागुनमा मात्रै ३३ करोड ३० लाख ९१ हजार ५ सय ३७, २ लाख ५० हजार २४ अमेरिकी डलर, २० लाख १० हजार भारु फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ ।

शाखाका प्रमुख शङ्करसिंह धामीका अनुसार गत आवको तुलनामा चालु आवमा विदेशिने रकम बढ्ने अनुमान छ । 'गत आवमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापतको रकम लैजान कडाइ गरेको थियो, गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै विदेशिने अनुमान छ', उनले भने । चालु आवको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत एक हजार ६९ जना लगानीकर्ता, १५० जना प्रतिनिधि र ३९२ जना आश्रितका लागि सिफारिस गरेको छ । फागुनमा मात्रै विभागले १२३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागका अनुसार फागुनसम्म २ सय ३९ उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।

प्रकाशित : चैत्र ३, २०७९ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्

अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौँ सम्मेलन थाइल्यान्डमा

रासस

काठमाडौँ — अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौँ  सम्मेलन थाइल्यान्डको बैंककमा हुने भएको छ । आगामी जेठ २० र २१ मा हुने सम्मेलनमा विश्वभरिका विभिन्न देशमा क्रियाशील परिषद्का दुई दर्जन बढी स्थायी, राष्ट्रिय र सम्बन्धन सदस्यबाट पाँच सय जना प्रतिनिधिको उपस्थिति हुने परिषद्का महासचिव मोहन गोले तामाङले जानकारी दिए ।

सम्मेलन सम्पन्न गर्नका लागि मूल व्यवस्थापनको जिम्मेवारी तामाङ समाज थाइल्यान्ड र तामाङ समाज म्यानमार (बर्मा)लाई दिइएको परिषद्का उपाध्यक्ष टासी लामाको भनाइ छ ।

परिषद्को पाँचौँ सम्मेलनबाट संसारभर रहेका तामाङ जातिको एकतालाई सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिकरुपमा जोड्दै नीति र नेतृत्व चयनका लागि विभिन्न व्यक्तिहरुको संयोजकत्वमा सम्मेलन व्यवस्थापन समिति, विधान मस्यौदा समिति, सांगठनिक तथा आर्थिक समिति, सांस्कृतिक पुन:स्थापना कार्ययोजना समिति, समसामयिक प्रस्ताव समिति गठन गर्नुका साथै अध्यक्ष मण्डल र निर्वाचनमण्डल समेत गठन गरेको जनाइएको छ ।

परिषद्को अध्यक्ष भने जुन मुलुकका सम्मेलनको आयोजना हुन्छ सोही मुलुकको अध्यक्ष हुने व्यवस्था छ । त्यसैअनुरुप पाँचौँ सम्मलेनबाट थाइल्यान्डले अध्यक्ष पाउनेछन् । हाल भारतका के एम तितुङ अध्यक्ष छन् ।

प्रकाशित : चैत्र ३, २०७९ १७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×