पालिकाभरका गाईगोरुमा रोगको संक्रमण, एक सातामै १० मरे 

विप्लव महर्जन

सल्यान — जिल्लाको कालिमाटी गाउँपालिकाको सात वटै वडामा किसानले पालेका गाईगोरुमा रोगको संक्रमण बढेको छ । ‘लम्पी स्किन’ रोगको संक्रमणका कारण एक सातामै किसानले पालेका १० गाईगोरु मरेका छन भने ९४ विरामी परेका छन् । विरामी परेका गाईगोरुको छालामा फोका देखिने र अन्डकोष, घाँटी, नाभी, सुन्निने, ज्वरो आउने समस्या देखिएको छ । धमाधम विरामी पर्ने र गाईगोरु मर्न थालेपछि अन्य पशुमा रोग सर्ने डरले किसानहरु चिन्तित भएका छन् ।

पालिकाभरका गाईगोरुमा रोगको संक्रमण, एक सातामै १० मरे 

कालिमाटी गाउँपालिका ५ का किसान धनबहादुर गाहाले आफ्नो घरमा पालेका दुई गाईगोरुमा रोगको संक्रमण देखिएको बताए । उनका अनुसार किसानले नबुझेको रोग भएकाले अन्य पशु तथा मानिसमा सर्ने त्रास बढेको छ । रोगको संक्रमण गाईगोरुमा ८/१० दिन पहिलेदेखि देखिएको र केही मरेको कालिमाटी गाउँपालिका ५ का स्थानीय तथा नेता पुरुषोत्तम भटराईले बताए । पहिला सामान्य जस्तो लागेर किसानले कसैलाई नभनेको र संक्रमण बढ्दै गएपछि गाउँपालिकामा गएर जानकारी गराएको उनले बताए । उनका अनुसार हाल कालिमाटी गाउँपालिकाको पशु शाखाले उपचार सुरु गरेको छ ।

कालिमाटी गाउँपालिका पशु शाखा प्रमुख केशवराज बस्नेतले विज्ञ डाक्टरलाई तस्बिर देखाउने र गाईगोरुमा देखिएको लक्षणका बारेमा जानकारी गराई सल्लाह लिँदा ‘लम्पी स्किन’ रोग पाइएको बताए । रोगले महामारीको रुप लिन नपाओस भनेर विज्ञको सल्लाह अनुसार पालिकाका सात वटै वडामा किसानका घरमा विरामी परेका गाईगोरुको उपचार गरिरहेको जानकारी गराए ।

उनका अनुसार समयमै उपचारको अभावमा पालिकामा १० गाईगोरु मरेका छन् । पालिकाले सबै वडामा उपचार थालेपछि विरामी परेका ९४ मध्ये ६४ ठिक भैसकेका छन् । अन्यको पनि उपचार भैरहेको छ । पहिला भन्दा अहिले धेरै सुधार आइसकेको भएपनि पूर्ण रुपमा रोगको पहिचानको लागि ल्याब टेस्ट गर्न सुर्खेत पठाएको उनको भनाइ छ ।


प्रकाशित : चैत्र ३, २०७९ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?