कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विदेशी लगानी प्रतिबद्धता १८ अर्ब, भित्रियो पौने ३ अर्ब

मणिपाल कलेजबाट १ अर्ब ८० करोड रुपैयाँ विदेशी लगानी बाहिरिएपछि गत साउन र भदौमा खुद विदेशी लगानी ऋणात्मक
यज्ञ बञ्जाडे

काठमाडौँ — चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ) सम्ममा नेपालमा कुल २ अर्ब ८४ करोड रुपैयाँ मात्र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको छ । नेपालमा गत आर्थिक वर्षदेखि नै विदेशी लगानी तीव्र दरमा घट्न थालेको हो ।

विदेशी लगानी प्रतिबद्धता १८ अर्ब, भित्रियो पौने ३ अर्ब

उक्त वर्षमा पनि भदौबाहेक सबै महिनामा विदेशी लगानी घटेको थियो । चालु आर्थिक वर्षको सुरुदेखि नै सोही प्रवृत्ति दोहोरिएको छ । यसअनुसार गत साउनदेखि माघसम्म सबै महिना विदेशी लगानी उच्च दरले घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

चालु आर्थिक वर्षका पहिलो २ महिना (साउन र भदौ) मा खुद विदेशी लगानी ऋणात्मक थियो । यसअनुसार साउनमा १ अर्ब ४० करोड र भदौसम्ममा ८० करोड रुपैयाँले खुद विदेशी लगानी ऋणात्मक रहेको राष्ट्र बैंकको तथ्यांक छ । यद्यपि साउनमा ४० करोड ९६ लाख र भदौमा ५८ करोड ८० लाख रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । चालु आर्थिक वर्षको सुरुमै पोखरास्थित मणिपाल कलेजबाट १ अर्ब ८० करोड रुपैयाँ विदेशी लगानी बाहिरिएपछि आर्थिक वर्षको पहिलो दुई महिनामा खुद विदेशी लगानी ऋणात्मक देखिएको हो । यही कारण सात महिनासम्ममा खुद विदेशी लगानी १ अर्ब ३ करोड मात्र रहेको राष्ट्र बैंकको मासिक तथ्यांकले देखाएको छ । यही तथ्यांकका आधारमा गत आर्थिक वर्षको सात महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिको खुद विदेशी लगानी करिब साढे ९३ प्रतिशतले घटेको हो ।

०७८ माघसम्म १६ अर्ब २९ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । बाहिरिएको विदेशी लगानी नहेरी नेपाल भित्रिएको रकम मात्र जोड्दा चालु आर्थिक वर्षको सात महिनामा कुल २ अर्ब ८४ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको देखिन्छ । सोही अवधिमा नेपालबाट फिर्ता भएको रकम घटाउँदा खुद विदेशी लगानी कम देखिएको हो । गत असोजदेखि भने खुद प्रत्यक्ष विदेशी लगानीको वृद्धिदर पनि सकारात्मक हुन थालेको थियो । राष्ट्र बैंकका अनुसार गत असोजमा करिब ८८ करोड ९३ लाख, कात्तिकमा ३४ करोड ९६ लाख, मंसिरमा १७ करोड ५८ लाख, पुसमा १४ करोड ४५ लाख र माघमा २८ करोड ५९ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको छ । यसरी नेपालमा भित्रिएको विदेशी लगानी सोही अवधिमा विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धताभन्दा निकै कम हो ।

गत साउनदेखि माघसम्म नेपालमा १ सय ४४ वटा आयोजनाका लागि १८ अर्ब ६३ करोड रुपैयाँको प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांक छ । यो चालु आर्थिक वर्षको सात महिनामा उद्योग विभागले स्वीकृत गरेको विदेशी लगानी प्रतिबद्धता रकम हो । तर, सोही अवधिमा १ अर्ब ४ करोड रुपैयाँ मात्र विदेशी लगानी भित्रिएको छ । गत माघमा मात्रै १ अर्ब ३९ करोड रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता प्राप्त भएको छ । सोही अवधिमा वास्तविक रूपमा नेपाल भित्रिएको विदेशी लगानी ६६ करोड रुपैयाँ मात्र हो ।

प्रतिबद्धता भएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने हुँदैन । सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउने अनुमति दिएको हुन्छ । यसकारण गत माघसम्ममा १८ अर्बको लगानी प्रतिबद्धता भएकामा १ अर्ब रुपैयाँ मात्र रकम भित्रियो भनेर विश्लेषण गरिहाल्न नमिल्ने जानकारहरू बताउँछन् । यद्यपि लगानीका लागि भएको प्रतिबद्धताको तुलनामा निकै कम मात्र विदेशी लगानी आउने गरेको उनीहरू स्विकार्छन् ।

नेपालमा विदेशी लगानी निरन्तर घट्नुको पहिलो कारण राज्यले उपयुक्त लगानी वातावरण बनाउन नसक्नु नै भएको अर्थविद् केशव आचार्यको भनाइ छ । ‘जबसम्म स्वदेशी लगानीकर्ताले लगानी थप्न चाहँदैनन्, तबसम्म विदेशी लगानीकर्ता ठूलो पुँजीका साथ आउलान् भनेर सोच्नु मूर्खता हो,’ उनले भने, ‘विदेशी लगानीकर्तालाई आकर्षित गर्न सुरुमा स्वदेशी लगानीकर्तालाई मेरो लगानी सुरक्षित छ र त्यसबाट उचित प्रतिफल पनि लिन सकिन्छ भनेर राज्यले आश्वस्त गर्न सक्नुपर्छ । त्यसपछि विदेशी लगानीकर्ता आफैं आउँछन् ।’

धेरैभन्दा धेरै विदेशी लगानी भित्र्याउन नेपालले धेरै नीतिगत र संरचनात्मक सुधार गर्नुपर्ने भए पनि सुरुमा स्वदेशी लगानीकर्ताले लगानी विस्तार गर्ने वातावरण निर्माण गर्नु नै मुख्य काम भएको उनले बताए ।

‘पहिले स्वदेशी लगानीकर्तालाई आश्वस्त पारौं, त्यसपछि मात्र विदेशी लगानीका लागि रहेका नीतिगत र व्यावहारिक अवरोध हटाउँला,’ उनले भने, ‘स्वदेशी लगानीले पनि उत्पादनमूलक क्षेत्रबाट लगानी झिकेर व्यापारमा केन्द्रित गरिरहेका बेला विदेशी लगानी आएन भनेर के कुरा गर्नु ?’

पछिल्ला दिनमा नेपालमा बैंक तथा वित्तीय संस्थाविरुद्ध बढ्दै गएको अराजक गतिविधिले पनि अन्तर्राष्ट्रिय जगत्मा नराम्रो सन्देश गएको छ । यस्ता गतिविधिले विदेशी लगानीकर्ता लगानी विस्तारका लागि झस्किएका देखिन्छन् । यसकारण सम्बन्धित निकायले तत्काल यस्ता गतिविधि रोक्न पहल गर्नुपर्ने आचार्यको सुझाव छ । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) अन्तर्गतको एसिया प्रशान्त समूह (एपीजी) ले नेपाललाई ‘ग्रे लिस्ट’ मा राख्न प्रारम्भिक प्रतिवेदन दिनुले पनि कालान्तरमा नेपालमा आउने विदेशी लगानी घट्ने आचार्यको भनाइ छ ।

गत मंगलबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार र प्रत्यक्ष वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोत भएको बताएका छन् । नेपाल उद्योग परिसंघको पहलमा नेपाल–चीन लगानी तथा बिजनेस सम्मेलनमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । ‘हाम्रा छिमेकीले हासिल गरेको अभूतपूर्व आर्थिक प्रगतिले निर्यात व्यापारको विस्तार र आन्तरिक लगानीको स्तरवृद्धि गरी नेपालको विकास र समृद्धिको अवसरका फराकिला मार्ग खोल्नेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘हामी छिमेकीका विशाल बजारहरूमा हाम्रा उत्पादनहरूको सजिलो र बृहत् पहुँचको आशा गर्छौं ।’

विदेशी लगानीका लागि स्थिर राजनीतिक वातावरण चाहिन्छ भन्नेमा सरकार सचेत रहेको बताउँदै प्रधानमन्त्रीले नीतिमा निरन्तरता र स्थिरताको वातावरण बनाउने धारणा राखे ।

नेपालले लगानी प्रणालीमा ठूला सुधार गरेको भन्दै प्रत्यक्ष विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन र संरक्षण गरेको उनको दाबी छ । ‘जलविद्युत्, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानीलगायत क्षेत्रमा लगानी गर्नुस्,’ उनले भने, ‘नेपालको कानुनले लगानीबाट कमाएको आम्दानी लैजान कुनै समस्या छैन । स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै भेदभाव छैन ।’ नेपालको चीनसँगको बढ्दो व्यापार घाटा र चीनबाट आएको एफडीआईको प्रतिबद्धता र वास्तविक लगानीमा देखिएको कमीका केही समस्या देखिएको पनि प्रधानमन्त्री दाहालले बताए ।

विदेशी लगानीकर्ताको समस्या समाधानका लागि सरकारले एकल बिन्दु सेवा सुरु गर्ने विषयमा कानुन बनाएर संसद्बाट पारित गर्ने क्रममा रहेको पनि प्रधानमन्त्री दाहालले जानकारी दिए । ‘पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ–नयाँ प्रविधिको आवश्यकता छ । यसका लागि चीन सरकारले नेपालमा नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्नुपर्छ,’ उनले भने, ‘मुलुक राजनीतिक स्थिरतातर्फ अग्रसर छ । जुन लगानीका लागि अत्यावश्यक छ ।’ कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उत्पादनमूलक उद्योग, सूचना प्रविधि, सिमेन्ट, पर्यटन, जलविद्युत्लगायत क्षेत्र लगानीका लागि अत्यन्त उपयुक्त रहेको बताएका थिए ।

नेपालमा विभिन्न क्षेत्रका ५५ वटा राष्ट्रबाट एफडीआई आउने गरेको भए पनि हरेक वर्ष विदेशी लगानीको लाभांशबापत बाहिरिने रकम धेरै रहेको र पछिल्ला वर्षहरूमा लगानी पनि घट्दै गएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १८ अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ । आर्थिक वर्ष ०७७/७८ मा नेपालमा कुल १९ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।

प्रकाशित : चैत्र ३, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?