सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ५६ अर्ब बढी- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ५६ अर्ब बढी

पुँजीगत खर्च २२ प्रतिशत मात्रै
रासस

काठमाडौँ — चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा १ खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुन मसान्तसम्म सरकारले  ७ खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व संकलन भने ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको राजस्व संकलन र बजेट खर्च विवरणअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी देखिन्छ । यो अवधिमा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ४२.७ प्रतिशत छ भने बजेट खर्च ४३.४४ प्रतिशत छ । चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । तर, लक्ष्यअनुसार राजस्व नउठेको भन्दै अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकार १४ प्रतिशत अर्थात् २ खर्ब ४४ अर्बले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ ।

सुरुआती विनियोजित बजेटको तुलनामा आठ महिनाको बजेट खर्च ४३.४ प्रतिशत मात्रै छ । अर्थात् फागुन मसान्तसम्म सरकारले कुल ७ खर्ब ७९ अर्ब २३ करोड बजेट खर्च गरेको छ । यस अवधिमा सरकारको चालु खर्च ५१.४, पुँजीगत खर्च २२.१ र वित्तीय व्यवस्थातर्फको खर्च ३७.४ प्रतिशत छ । चालुगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बराबर वार्षिक विनियोजन रहेकोमा हालसम्म ६ खर्ब ८ अर्ब ८४ करोड ४५ लाख बराबर छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख वार्षिक विनियोजन रहेकोमा २२. १५ प्रतिशत अर्थात् ८४ अर्ब २५ करोड ६० लाख बराबर मात्रै खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख वार्षिक बजेट छुट्याइएकोमा फागुन मसान्तसम्म ८६ अर्ब १२ करोड ९६ लाख खर्च भएको छ । महालेखा नियन्त्रकको तथ्याङ्क हेर्दा आठ महिना अवधिमा पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थातर्फको खर्च बढी छ ।

फागुन मसान्तसम्ममा सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ४२.७ प्रतिशत बराबर मात्रै छ । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै असुली भएको हो । जसमध्ये आन्तरिक राजस्व सङ्कलन ४१.५३ प्रतिशत अर्थात् ५ खर्ब ८२ अर्ब ७७ लाख १५ हजार रहेको छ । यसवर्ष ५५ अर्ब ४५ करोड ८३ लाख वैदेशिक सहायता लिने सरकारको लक्ष्य रहेकोमा हालसम्म ८.६६ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड २० लाख बराबर मात्रै वैदेशिक सहायता भित्रिएको छ ।

प्रकाशित : चैत्र १, २०७९ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्

गणित उद्यान सुरु

रासस

काठमाडौँ — विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न नेपालमा पहिलो पटक गणित उद्यान (म्याथ पार्क) को सुरुआत गरिएको छ । गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले म्याथ पार्कको सुरुआत गरिएको हो ।

बूढानीलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुलले स्थापना गरेको म्याथ पार्कको आज उद्घाटन गरिएको छ । पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले पार्कको उद्घाटन गरिन् । म्याथ पार्कमा विद्यार्थीहरूले गणितलाई प्रयोग गरेर रमाउँदै सिक्ने अवसर प्राप्त गर्नेछन् । गणित विषय गाह्रो हुन्छ, भन्ने मानसिकताबाट विद्यार्थीलाई टाढा राख्न म्याथ पार्कको भूमिका रहने छ । साथै शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीहरूले आफैँ म्याथ पार्कमा गणितका नयाँ कुरा सिक्न सक्छन् जसले कक्षा कोठाको शिक्षणमा पनि सहयोग पुग्ने छ ।

विज्ञान प्रविधि सचिव बज्राचार्यले नेपालमा पहिलो म्याथ पार्क निर्माणले शिक्षा क्षेत्रमा नयाँ कुरा थपिएको बताइन् । उनले विज्ञान र गणित विषयप्रति विद्यार्थीको आकर्षण कम हुने गरेको भन्दै म्याथ पार्कले विद्यार्थीलाई सहज हुने बताइन् ।


मन्त्रालयले स्टिम शिक्षाका सामग्री तयार पार्ने कार्य भइरहेको जानकारी दिँदै पूरा भएपछि विद्यालयलाई वितरण गरेर शिक्षकलाई यसबारे तालिम दिन तयारी गरेकोसमेत उनले जानकारी दिइन् । नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले यस्ता खालका पार्क सबै विद्यालयमा हुन आवश्यक रहेको बताइन् ।

अंग्रेसजी जानीनजानी बोल्ने गरे पनि गणित आउँदैन भन्ने र यसलाई महत्त्वका साथ नहेरिएको काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन, स्टिम विभागका प्रमुख विनोद पन्तले बताए । विद्यालयकी प्रिन्सिपल जुनिता शाही कार्कीले विद्यालयको गणित विभागका कारण म्याथ पार्क निर्माण गर्न सकिएको जानकारी दिइन् ।


प्रकाशित : फाल्गुन ३०, २०७९ १९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×