कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

८ बालीका १२ नयाँ जात

६ रैथाने र २ विदेशी जात दर्ताको अनुमोदन, ११ बालीका २० जात उन्मोचन
राजु चौधरी

काठमाडौँ — नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले ८ बालीका १२ नयाँ जात विकास गरेका छन् । उनीहरूले धानको १, भटमासको १, हिउँदे सिमीको २, प्याजको १, ग्लाडियोलसको ३, जुटको १, उखुको २ र रहरको १ नयाँ जात उन्मोचन गरेका हुन् ।

८ बालीका १२ नयाँ जात

उन्मोचनले नार्ककै वैज्ञानिकहरूले अनुसन्धान गरेर पत्ता लगाएको बीउको नयाँ जात बुझाउँछ । यस्तो जात अनुसन्धान गर्न ३ वर्षभन्दा बढी लाग्छ । नेपाली वैज्ञानिकले विकास गरेका नयाँ जात राष्ट्रिय बीउबिजन समितिबाट अनुमोदन भइसकेका छन् ।

समितिले धानका ४ रैथाने जात, भटमासको १, सुन्तलाको १ गरी ६ नयाँ रैथाने जात दर्ताका लागिसमेत अनुमोदन गरेको छ । रामतोरिया र भन्टाका १/१ वर्णशंकर (हाइब्रिड) जात दर्ताका लागि अनुमोदन भएको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी प्रकाश आचार्यले बताए । ‘समितिको ६३औं बैठकले २० नयाँ जात दर्ता/उन्मोचन प्रयोजनका लागि अनुमोदन गरेको छ । र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पुगेको छ, मन्त्रीस्तरीय निर्णय भएपछि सूचना प्रकाशन हुन्छ,’ आचार्यले भने ।

वैज्ञानिकहरूले विभिन्न बालीको अध्ययन गरिरहेका छन् । व्यवस्थापकीय पक्ष हेर्ने राष्ट्रिय बीउबिजन समितिले नयाँ जात अनुमोदन गर्दै आएको छ । नेपाली वैज्ञानिकले विकास गरेका नयाँ जात राजपत्रमा प्रकाशन हुन्छन् । रैथाने र विदेशी जात भने सूचनामार्फत प्रकाशन गरिने जनाइएको छ । त्यसपछि बीउहरूले आधिकारिकता पाउने सूचना अधिकारी आचार्यले जनाए । नयाँ विकसित धानको जात हर्दिनाथ–५ हो । यो जात राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम धनुषाले विकास गरी दर्ताका लागि पेस गरेको केन्द्रले बताएको छ ।

हर्दिनाथ–५ समुद्री सतहदेखि ७ सय मिटर उचाइका तराई, भित्री मधेश, रिभर बेसिन र बेसी क्षेत्रका लागि सिफारिस गरिएको छ । हर्दिनाथको दानाको प्रकार मध्यम हो । यसको उत्पादकत्व प्रतिहेक्टर ५.२ देखि ५.७ टन हुने जनाइएको छ । वैज्ञानिकहरूले विकास गरेको भटमासको नयाँ जात खजुरा भटमास–१ हो । प्रतिहेक्टर १.९७ टन उत्पादकत्व भएको खजुरा भटमास–१ समुद्री सतहदेखि १५ सय मिटर उचाइसम्मका तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रका लागि सिफारिस गरिएको छ । यस जातलाई कोसे बाली अनुसन्धान कार्यक्रम, बाँकेले विकास गरेको हो ।

हिउँदे सिमीको नयाँ जात कृषि अनुसन्धान केन्द्र पोखराले विकास गरेको हो । मालेपाटन हिउँदे सिमी–१ र मालेपाटन हिउँदे सिमी–२ नामकरण गरिएको नयाँ जातको उत्पादकत्व क्रमशः प्रतिहेक्टर २५ देखि ३० टन र प्रतिहेक्टर १५ देखि २० टन छ । मालेपाटन हिउँदे सिमीलाई समुद्री सतहबाट १२५० मिटर उचाइसम्मका लागि कर्णाली, लुम्बिनी, गण्डकी र मधेशका क्षेत्रमा सिफारिस गरिएको छ । खुमल प्याज–२ नामको प्याजको नयाँ जात पनि विकास गरिएको हो । प्रतिहेक्टर ३५ देखि ४० टन उत्पादकत्व क्षमता रहेको यस जातलाई समुद्री सतहबाट १४ सय मिटर उचाइसम्मका तराई र मध्य पहाडी क्षेत्रका लागि सिफारिस गरिएको छ । यो जात राष्ट्रिय बागवानी अनुसन्धान केन्द्र खुमलटारले विकास गरेको हो ।

उखुका दुई नयाँ जात जितपुर–८ र जितपुर–९ विकास गरिएको छ । यी जात राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम बाराले विकास गरेको हो । प्रतिहेक्टर ८४ र ९५.६ टन उत्पादकत्व क्षमताका यी जातलाई समुद्री सतहबाट ३ सय मिटर उचाइसम्मको तराई क्षेत्रमा सिफारिस गरिएको छ । कोसेबाली अनुसन्धान कार्यक्रमले नयाँ जातको खजुरा रहर–१ विकास गरेको छ । यस बालीलाई समुद्री सतहदेखि ७ सय मिटर उचाइसम्मका पश्चिम तराईका क्षेत्रका लागि सिफारिस गरिएको हो ।

कृषि अनुसन्धान निर्देशनालय लुक्लेले ग्लाडियोलस बालीका ३ नयाँ जात विकास गरेको छ । यी जातलाई समुद्री सतहबाट ८ सयदेखि २ हजार मिटर उचाइसम्मका मध्य पहाडी र उच्च पहाडी क्षेत्रका लागि सिफारिस गरिएको छ । धानका ४ रैथाने जात कनक जिरा, डल्ले मसिनो, घिउपुरी र तिल्की जात दर्ताका लागि पनि अनुमोदन गरिएको छ । भटमासको नेपाले भटमास र सुन्तलाको बाँसखर्क स्थानीय जात दर्ताका लागि अनुमोदन भएका छन् ।

वर्णशंकर जातको रामतोरिया बालीको रामतोरिया ग्रिन फिंगर र भन्टा बालीको लबोनी एफ–१ जात पनि अनुमोदन भएका छन् । केन्द्रका अनुसार वर्णशंकर जात नेपालको हावापानीसँग सन्तुलन भए/नभएको अनुसन्धान हुन्छ । परीक्षणमा सफल भएपछि दर्ता गर्ने निर्णय हुन्छ ।

हाल मुलुकमा ७ सय ९ जात जात सूचीकृत भइसकेको केन्द्रले जनाएको छ । यसमध्ये ३ सय १ जात हाइब्रिड छन् । हाइब्रिड धेरै फल्ने हुदा किसान यसप्रति आकर्षित छन् । हाइब्रिडमध्ये २ सय ८९ जात आयातित हुन् । बीउ आयात गर्नकै लागि ४० भन्दा बढी कम्पनी केन्द्रमा दर्ता भएका छन् । ती कम्पनीले भारत चीन, थाइल्यान्ड, कोरिया, जापानलगायत मुलुकबाट बीउ आयात गर्छन् । औपचारिक रूपमा मात्रै वार्षिक डेढ अर्ब रुपैयाँको बीउ आयात हुने गरेको बताइन्छ । खुला सीमाका कारण अनौपचारिक रूपमा पनि सोही मात्रामा आयात भइरहेको दाबी गरिएको छ ।

प्रकाशित : चैत्र १, २०७९ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?