बैंक तथा वित्तीय संस्था संघर्ष समितिको आन्दोलन फिर्ता- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंक तथा वित्तीय संस्था संघर्ष समितिको आन्दोलन फिर्ता

रासस

काठमाडौँ — चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

मंगलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानका लागि पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको श्रेष्ठले बताए ।

'बजारमा देखिएका समस्या र हामीले उठाएका मागबारे प्रधानमन्त्री आफैँ जानकार हुनुहुन्छ । ती विषयलाई गम्भीरतापूर्वक लिएको र ब्याजदर घटाउनका लागि सरकारले पहल गर्ने प्रधानमन्त्रीको आश्वासनपछि हामीले सबै विरोधका कार्यक्रम आजैदेखि फिर्ता लिएका छौँ”, श्रेष्ठले भने ।

बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार संघ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता संगठनमा आबद्ध व्यवसायी आन्दोलित थिए । उनीहरु सोमबारदेखि नेपाल राष्ट्र बैंकमा धर्ना बसेका थिए ।

प्रकाशित : फाल्गुन ३०, २०७९ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपति भण्डारी र शीर्ष नेतृत्वबीच बिदाइ भेट

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले आज आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकी छन् ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख राजनीतिक दलका प्रमुखहरूसँग राष्ट्रपति भण्डारीले सामूहिक भेटघाट र चियापान गरेको उनका प्रेस विज्ञ टीकाप्रसाद ढकालले जानकारी दिए ।

भेटघाटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरू सहभागी भएका थिए ।

सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गर्ने विभिन्न कार्यकालका प्रधानमन्त्रीहरू, राजनीतिक नेतृत्व र सम्बद्ध सबैलाई धन्यवाद दिएकी थिइन् भने शीर्ष नेताहरूले उनको कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई दिएका थिए ।

नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण सोमबार दिउँसो १ बजे शीतल निवासमा तय गरिएको छ ।


प्रकाशित : फाल्गुन २८, २०७९ २२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×