सोलु खोलाबाट व्यावसायिक उत्पादन सुरु

कमल धिताल

काठमाडौं — निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो नदी प्रवाही (आरओआर) जलविद्युत् परियोजना सोलु खोला दूधकोशीले व्यावसायिक उत्पादन थालेको छ । १५ दिन परीक्षण उत्पादनपछि ८६ मेगावाटको आयोजनाले व्यावसायिक उत्पादन थालेको हो । मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजना उद्घाटन गरे । 

सोलु खोलाबाट व्यावसायिक उत्पादन सुरु

साहस ऊर्जा कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजना माघ २७ देखि राष्ट्रिय लाइनमा जोडिएको थियो । आयोजनाले यही फागुन १७ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो । सोलु दूधकोशी आयोजना स्वदेशी पुँजीमा बनेको निजी क्षेत्रको सबैभन्दा ठूलो तथा नेपालको तेस्रो ठूलो आयोजना हो ।

पाँच सय मेगावाटसम्मका जलाशययुक्त आयोजना स्वदेशी लगानीमै निर्माण गर्न सक्छौं भन्ने अनुभव आफूले प्राप्त गरेको साहस ऊर्जाका अध्यक्ष हिम पाठकले बताए । ‘विनाशकारी भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायतका कारणले अपेक्षित समयमा पूरा हुन नसकेको भए पनि ठूला आयोजना निर्माण गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ,’ उनले भने । परियोजना सुरु गर्दा जलविद्युत् आयोजनाहरूमा लगानीको वातावरणसमेत नभएको र निकै चुनौतीका बाबजुत आयोजना निर्माण सकिएको उनको भनाइ छ ।

जलविद्युत् क्षेत्रको विकासका माध्यमबाट मात्रै समृद्धि प्राप्त हुने हुँदा निजी क्षेत्रलाई विद्युत् खरिद बिक्रीको इजाजतपत्र प्रदान गरिदिन उनले प्रधानमन्त्रीसमक्ष आग्रह गरे । सोलु दूधकोशी आयोजनाले राष्ट्रिय विद्युत् प्रणालीमा ३.५८ प्रतिशत योगदान पुर्‍याउने साहस ऊर्जाका प्रबन्ध निर्देशक सुशील थापाले जनाए । यसले यस वर्ष मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ०.३ प्रतिशत योगदान पुर्‍याउने र आगामी वर्ष ०.१० प्रतिशत योगदान गर्ने कम्पनीको प्रक्षेपण रहेको उनको भनाइ छ ।

प्रकृतिले दिएको अथाह जलशक्तिको उपयोग गरेर आर्थिक समृद्धिको मार्ग प्रशस्त हुने स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । अब जलविद्युत् उत्पादन बढाउनेभन्दा पनि खपत तथा बिक्री बजार खोज्नुपर्ने अवस्था आइसकेको उनको भनाइ छ ।

ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको प्रवेशपछि नै मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको भए पनि आयोजना निर्माणपूर्व सात मन्त्रालय र २२ विभाग पुग्नुपर्ने जस्ता समस्या रहेकाले त्यसको उचित सम्बोधन गर्न आचार्यले सरकारको ध्यानाकर्षण गराए । ०७१ असोज ६ मा विद्युत् विकास विभागबाट इजाजत पाएको सोलु खोला दूधकोशी जलविद्युत् परियोजनाले नेपाल विद्युत् प्राधिकरणसँग ०७१ फागुन १३ मा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो ।

०७४ माघमा कम्पनीले सिभिल क्षेत्रको निर्माणको जिम्मा इटालियन कम्पनी सीएमसी दी रिभेन्नालाई दिएको थियो । तर सम्झौताअनुसार काम नगरेको भन्दै उक्त कम्पनीसँग ठेक्का तोडेर फेरि नयाँ ठेक्का आह्वान गरिएको थियो । त्यसपछि सीई कन्स्ट्रक्सनले ठेक्का लिएर सिभिलतर्फको काम समयमै सम्पन्न गरी आयोजनाले पूर्णता पाएको कम्पनीले जनाएको छ ।

सोलु दूधकण्ड नगरपालिका–११ स्थित सोलु खोलाको पानी ४ हजार ६ सय ७० मिटर लामो भूमिगत सुरुङमार्ग र १९ सय ५२ मिटर लम्बाइको पाइपलाइनमार्फत थुलुङ दूधकोशी गाउँपालिका–३ मैकुबेंसीमा खसाई ८६ मेगावाट विद्युत् उत्पादन गरिएको हो । सोलु दूधकोशी जलविद्युत् आयोजना लाम्माने सबस्टेसनमा रहेको १३२ केभीए सोलु करिडोरमा जोडिएको छ ।

प्रकाशित : फाल्गुन २४, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?