नेपालको जलविद्युत्‌मा चिनियाँ लगानीकर्ता सकारात्मक

लक्ष्मी लम्साल

बेइजिङ — चिनियाँ लगानीकर्ताहरूले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका प्रचुर सम्भाव्यताहरू रहेकोमा आफूहरू विश्वस्त रहेको बताएका छन् । बुधबार बेइजिङस्थित नेपाली राजदूतावासमा उनीहरूले जलस्रोतको धनी मुलुक नेपालमा नदीनाला, सम्भावित विद्युत् उत्पादन क्षमता, भौगोलिक अवस्थिति लगायतको फेहरिस्त सुरक्षित राख्दै चिनियाँहरूका लागि भविष्यको लगानी गन्तव्य नै दक्षिण एसिया हुन सक्नेतर्फ जोड दिए ।

नेपालको उर्जा क्षेत्रमा लगानीका अवसर विषयक कार्यक्रममा चाइना ओभरसिज डेभलपमेन्ट एसोसियसन (कोडा) का अध्यक्ष ह चनवेइले चीनका लागि दक्षिण एसिया प्रवेश गर्ने ढोका भएकाले नेपालको जलविद्युत्‌मा लगानी गर्न सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले पनि उत्प्रेरित गरेको बताए । उनले भने, ‘राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा चीन र नेपालले संयुक्त वक्तव्य जारी गरे । यसमा पुस्तादेखि पुस्ताको विकास र समृद्धिका लागि चीन र नेपालबीच रणनीतिक सहकारी साझेदारी स्थापना गर्ने कुरा छ । यो कथनले द्विपक्षीय सम्बन्धको भविष्यको विकासको दिशा मात्र औंल्याएको छैन, चीन-नेपाल सम्बन्धलाई अझ महत्त्वपूर्ण क्षेत्रीय प्रभावको साथ पनि दिन्छ ।’


पछिल्ला वर्षहरुमा दुई देशबीचको आर्थिक र व्यापारिक आदानप्रदान बढ्दै गएको भन्दै उनले जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भएका मुलुक नेपालमा ६ हजार नदीनाला, जलविद्युत् सञ्चिति अनुमानित ८३ हजार मेगावाट रहेको र जसमध्ये ४३ हजार मेगावाट विकास गर्न सकिनेबारे उपस्थित अन्य लगानीकर्ताहरूसमक्ष जानकारी गराए । ‘हालको विकास परिमाण १ हजार मेगावाटभन्दा कम छ, विकास दर तुलनात्मक रूपमा कम छ र भविष्यमा अझै ठूलो सम्भावना रहेको छ,’ उनले भने ।


कार्यक्रममा चाइना ह्वा त्येन ग्रुप कर्पोरेसन लिमिटेड लगायत विद्युत् उत्पादक उद्यमका प्रतिनिधिहरू, चाइना साउदर्न पावर ग्रिड कम्पनी लिमिटेड जस्ता प्रसारण र वितरण उद्यमका प्रतिनिधिहरू पनि सहभागी थिए । यसका साथै इन्जिनियरिङ कम्पनीहरू सीमेक कम्पनी, सीजीजीसी इन्टरनेसनल लिमिटेड, सीएसआईसी इन्टरनेसनल इन्जिनियरिङ कम्पनीका प्रतिनिधिहरूको सहभागिता थियो ।

कार्यक्रममा पावर चाइना इन्टरनेसनल ग्रुप लिमिटेड, इन्भेस्टमेन्ट एन्ड फाइनान्सिङ विभागका प्रमुख म्यानेजर थोङ काङले नेपालमा लगानीका अनुभवबारे सुनाए । उनका अनुसार नेपालको जलविद्युत् क्षेत्रमा चिनियाँ लगानीकर्ताहरू सकारात्मक छन् । चिनियाँ उद्यमहरूको सहभागिताले नेपालको ऊर्जा क्षेत्रमा नयाँ विकास हुनेतर्फ जोड दिँदै उनले नेपाललाई चिनियाँ लगानीकर्ताको नयाँ गन्तव्यका रुपमा लिनसकिने बताए । उनले भने, ‘दक्षिण एसिया नै चिनियाँ लगानीकर्ताहरूको नवीन गन्तव्य हुन सक्छ ।’


चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालले सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति भइ सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने योजना बनाएकाले लक्ष्य प्राप्तिका लागि ठूलो लगानी र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको बताए ।

‘नेपालले द्विपक्षीय वा क्षेत्रीय विदेशी लगानीका लागि अन्तर्राष्ट्रिय विकासकर्ताहरूसँग साझेदारी गर्न चाहन्छ,’ उनले भने, ‘नेपालले चीनलगायत छिमेकीहरूको बलियो समर्थन र ऐक्यबद्धताको आकांक्षा राखेको छ । नेपालका सम्भावित क्षेत्रमा लगानी आकर्षित गर्न सरकारले विभिन्न नीति, नियम र नियमावली बनाएको छ ।’ नेपाल जलस्रोतको हिसाबले समृद्ध मुलुक भएकाले जलविद्युत् उत्पादनको प्रचुर क्षमतामध्ये हालसम्म थोरै प्रतिशत मात्रै उपयोगमा आएको उनले बताए ।


कार्यक्रममा एसियाली पूर्वाधार लगानी बैंक एआईआईबीका वरिष्ठ कानुनी सल्लाहकार डा. किशोर उप्रेतीले नेपालमा हाइड्रोपावर परियोजनाका लागि अन्तर्राष्ट्रिय फाइनान्सिङ श्रोतबारे बताए । नेपालबाट लगानी बोर्डका सहसचिव अमृत लम्साल, विद्युत् प्राधिकरणका उर्जा व्यापार निर्देशक प्रबल अधिकारी, उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधु भेटुवाल लगायतले नेपालमा जलविद्युत क्षेत्रमा लगानीका अवस्था र सम्भाव्यताबारे अनलाइनमार्फत जानकारी गराएका थिए ।

प्रकाशित : फाल्गुन ११, २०७९ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्

बियोन्सेको सांगीतिक पुनर्जागरण

हिमेश

काठमाडौँ — कुनै एक सांगीतिक ‘टुर’ को यति धेरै चर्चा अहिलेसम्म विरलै मात्र भएको होला, अझ त्यो पनि ‘टुर’ सुरु हुन अगाडि नै । हामी कुरा गरिरहेका छौं, बियोन्सेको ‘रेनेसाँस वर्ल्ड टुर’ को । यी अमेरिकी गायिका के मात्र होइनन् ?

गीतकार, अभिनेत्री, नर्तकीदेखि अरू धेरै थोक । तर उनको खास परिचय भने संगीतकर्मी नै हो । यसैका लागि उनी विश्व प्रसिद्ध छिन्, जता जान्छिन्, त्यहाँ उनलाई खुबै मन पराइन्छ, उनले गरेको कामको मन खुलेर प्रशंसा गरिन्छ ।

लामै समयदेखि यो क्षेत्रमा सक्रिय रहे पनि उनले धेरै विश्व टुर भने गरेकी छैनन् । अबको टुर पनि जम्माजम्मी नवौं मात्र हो । मे महिनाको १० तारिखबाट टुर हुनेछ, स्टकहोमबाट । टुर ४३ दिन चल्नेछ । एउटै खास एल्बमको नाम राखेर निस्कने त यो बियोन्सेको दोस्रो टुर मात्र हो । उनले अन्तिम पटक यस्तै टुर सन् २०१६ मा गरेकी थिइन् । त्यस अर्थमा बियोन्से टुरमा ननिस्केको पनि करिब सात वर्ष भइसक्यो । उनी जत्तिको गायिकाका लागि त यो लामै समय हुन्छ ।

टुरका क्रममा उनी युरोप र उत्तर अमेरिकाका विभिन्न सहरमा लगातार छाउने छिन् । संगीतलाई विशेष प्राथमिकतामा राखेर समाचार छाप्न रुचाउने मिडियाले पनि अहिले नै विभिन्न अड्कल काट्न सुरु गरिसकेका छन् । उनीहरूले लेखिरहेका छन्, टुरका क्रममा यो सहरमा यस्तो हुनेछ, अर्को सहरमा यस्तो हुनेछ भनेर । अनि उनका प्रशंसक भने टुरको टिकट किन्न मारामार गरिरहेका छन्, भलै धेरैको गुनासो सुनिएको छ, टिकट अलि महँगो भयो कि ?

फेरि टिकट महँगो भएर के भयो र ? यसलाई पाउन पनि गाह्रो छ, जतिले पाएका छन्, पछि जतिले पाउने छन्, ती त भाग्यमानी हुन् । किनभने टिकटका लागि सबैभन्दा पहिले नाम दर्ता गराउने पर्नेछ अनि चिट्ठा खोल्ने शैलीमा भाग्यमानीलाई पनि टिकट दिइनेछ । बियोन्से कति महँगो गायिका हुन् त ? यसको अनुमान केही साता अगाडि दुबईमा भएको एक कन्सर्टले नै देखाउँछ । एउटा महँगो होटलमा आयोजित कार्यक्रमका लागि बियोन्सेलाई २ करोड ४० लाख डलर तिरिएको थियो ।

त्यो कार्यक्रममा पनि बियोन्सेले ‘रेनेसाँस’ एल्बमको नयाँ गीत कुनै गाइनन् । बरु जुन देशमा मानवअधिकार कमजोर छ, जहाँ लैंगिक समानता छैन, त्यहीं गएर उनले किन गाइन् भनेर चर्को आलोचना भने भयो । तर टुरमा निस्कन अगाडि बियोन्सेले आफ्ना प्रशंसकलाई विश्वास दिलाउन चाहेकी छन्, अब जे हुन्छ, त्यो गज्जब हुनेछ । अनि केही समाचारमा लेखिएजस्तै, यस्तो टुर एक पुस्तामा एकैपल्ट मात्र सुन्न र देख्न पाइनेछ ।

बियोन्सको त्यही ‘रेनेसाँस’ अन्तिम एल्बम निस्केको थियो, गत जुलाई अन्त्यतिर । तर अहिलेसम्म पनि यसको चर्चा सेलाएको छैन । सेलाउने छाँट पनि छैन । उनको यो सातौं स्टुडियो एल्बम हो । यसअघि उनको सन् २०१६ मा ‘लेमोनाडे’ निस्केको थियो । ‘रेनेसाँस’ मा सबै गीत लेख्ने र संगीत भर्ने काम उनैले गरेकी हुन् । उनले यस्ता गीत भने कोभिड–१९ महामारीका बेला सिर्जना गरेकी हुन् । रेकर्ड पनि यही समय नै गरिन् ।

महामारीको समय कस्तो रह्यो, सबैलाई थाहा छ । सबै समाजसँग अलग जस्तै भएको थियो, एक्लाएक्लै कतै कहीं कुनामा । यस्तोमा बियोन्सेलेलाई के लाग्यो भने यही त मौका हो, सन् सत्तरीतिरको ब्ल्याक डान्स म्युजिकलाई फेरि एकपल्ट ब्युँझाउने । त्यही त हो, ‘रेनेसाँस’ । अर्थात् पुनर्जागरण । यसमा बियोन्सेले जति पनि गीत बनाएकी छन्, त्यसको अवधारणा हो, प्रत्येक दिनका दुःखबाट दिक्क भएर कुनै मीठो कल्पनामा डुब्नु ।

व्यावसायिक रूपमा पनि यो एल्बम उत्तिकै सफल रह्यो । धेरै देशको चार्टमा यो नम्बर १ रह्यो । बिलबोर्ड २०० मा पनि यसले शीर्ष स्थान ओगट्ने अवसर गुमाएन । ‘ब्रेक माई सोल’ यो एल्बमको प्रमुख गीत हो र यसलाई नै धेरैले रुचाए । त्यसैले यो पनि धेरै देशमा नम्बर १ गीत बन्यो । यो गीतको विशेषता पनि त्यही ‘डान्स पप’ नै हो । संगीतका समालोचकहरू के मान्छन् भने ‘रेनेसाँस’ सुनेपछि एउटा छुट्टै मीठो आनन्द आउँछ, त्यसमाथि बियोन्सेको स्वरै पनि उत्तिकै राम्रो छ ।

ग्रामी अवार्डलाई लिएर अब के त ? यस्तै सोच्दै होलिन् बियोन्से, किनभने उनकै नाममा छ, विश्व संगीतको सबैभन्दा ठूलो अवार्ड सबैभन्दा बढी जित्ने कीर्तिमान । ग्रामीको इतिहास आधा शताब्दी जति पुरानो छ र त्यस इतिहासकै उनी सबैभन्दा सफल गायिका हुन् । महिना दिन अगाडि भएको यसपल्टको ग्रामीको कार्यक्रममा उनले चार विधामा जित हात पारिन् । त्यसको अर्थ हो, उनले जितेको ग्रामी अवार्डको संख्या ३२ पुगेको छ ।

त्यसो त उनी नौ विधामा मनोनयनमा परेकी थिइन् । तर जतिमा जितिन्, त्यसमा निकै खुसी भइन् । अझ व्यापक भावुक पनि भइन् । तर भन्थिन्, ‘म धेरै भावुक नहुने प्रयासमा छु । म यो रातलाई महसुस गर्दै छु । मलाई रक्षा गरेकामा भगवान्लाई धन्यवाद दिन चाहन्छु ।’ साँच्चै यति धेरै ग्रामी अवार्ड जितिसकेपछि एक संगीतकर्मीका रूपमा अब उनी के पो विशेष गर्छिन् होला त ? बियोन्सेको जति पनि नजिकै छन्, तिनको दाबी छ, ग्रामी अवार्डको लोभ उनमा अझै मरेको छैन ।

त्यसैले त उनी चाँडै नयाँ एल्बमको तयारीमा छिन् । अझ त्यो पनि एल्बमको शृंखला । विश्वास नहुन सक्छ, बियोन्सेले तीन एल्बमलाई पुग्ने गरेर गीत बनाइसकेकी छन् । पछिल्लो ग्रामी अवार्डमा उनी ‘एल्बम अफ द इयर’ विधाको मनोनयनमा पनि परेकी थिइन् । तर जित्न सकिनन्, यो अवार्ड ह्यारी स्टाइल्सको नाममा गयो, ‘ह्यारिज हाउस’ का लागि । अहिलेसम्म बियोन्से पाँचपल्ट यो अवार्डका लागि मनोनयनमा परिसकेकी छन् ।

तर प्रत्येकपल्ट यो अवार्ड अरू कसैको नाममा गएको छ । त्यसैले त उनी यो एक अवार्ड जित्ने दाउमा छिन् । अनि उनका समर्थकलाई के पनि विश्वास छ भने ढिलो–चाँडो यो अवार्ड पनि उनको नाममा घोषणा गरिनेछ, खालि प्रश्न हो, कहिले ? केहीलाई के तथ्यमा पनि आश्चर्य छ भने अहिलेसम्म बियोन्सेले यो अवार्डचाहिँ अहिलेसम्म किन जित्न नसकेको होला ? केहीको आरोप के पनि छ भने बियोन्से अश्वेत हुन्, त्यसैले उनलाई कहिलेकाहीं पछाडि परिन्छ, श्वेत मानसिकताले ।

संयोग नै मानौं, प्रत्येकपल्ट उनले यो अवार्ड गुमाउँदा जित्ने श्वेत नै छन् । जस्तो, सन् २०१५ मा उनको आफ्नै नाममा रहेको एल्बमभन्दा बेकको ‘मनिङ बेक’ राम्रो ठहरियो । अनि सन् २०१७ मा उनको ‘लेमोनेड’ को तुलनामा एडेलको ‘२५’ नै राम्रो मानियो । अहिले ह्यारी उनको तुलनामा राम्रो भनियो । यो संयोग मात्रै हो कि ? सायद यसको पनि उत्तर हो, उनको तर्फबाट अझै पनि सबैभन्दा महान् र कालजयी केही आउन त बाँकी नै छ ।

प्रकाशित : फाल्गुन ११, २०७९ ११:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×