रेमिट्यान्स कम्पनीलाई हरेक तीन दिनमा विवरण पठाउन राष्ट्र बैंकको निर्देशन- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

रेमिट्यान्स कम्पनीलाई हरेक तीन दिनमा विवरण पठाउन राष्ट्र बैंकको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — वित्तीय लगायत रेमिट्यान्स कम्पनीका सम्पूर्ण गतिविधि सम्बन्धी विवरण बुझाउन राष्ट्र बैंकले समयसीमा तोकेको छ । राष्ट्र बैंकको गैर बैंक सुपरीवेक्षण विभागले परिपत्र जारी गरी रेमिट्यान्स कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली ०७९ को व्यवस्था बमोजिम कम्पनीका गतिविधि सम्बन्धी विवरण पठाउन राष्ट्र बैंकले तीन दिनदेखि १५ दिनसम्मको समयसीमा तोकेको छ । यसअघि विवरण बुझाउनकै लागि यस्तो समयसीमा तोकिएको थिएन ।

नयाँ व्यवस्था अनुसार अब रेमिट्यान्स कम्पनीहरुले दैनिक विवरण हरेक ३ दिनमा, मासिक विवरण महिना सकिएको सात दिनभित्र, त्रैमासिक र वार्षिक विवरणका लागि अवधि सकिएको १५ दिन भित्र तोकिएको विवरण राष्ट्र बैंक समक्ष बुझाइसक्नु पर्नेछ ।

रेमिट्यान्स कम्पनी आफैले वा सब–एजेन्ट तथा सब–रिप्रिजेन्टेटिभहरु मार्फत गरेको इनवार्ड रेमिट्यान्सको भुक्तानी विवरण अंग्रेजी महिना अनुसार मासिक रुपमा पठाउनु पर्छ । तर, कम्पनीले यस्तो मासिक विवरण महिना सकिएको सात दिनभित्र राष्ट्र बैंकमा बुझाउनु पर्ने व्यवस्था परिपत्रमा छ । रेमिट्यान्स कम्पनीहरुले अब कारबाही गरेका सब एजेन्ट तथा सब रिप्रिजेन्टेटिभहरुको विवरण पनि राष्ट्र बैंकलाई बुझाउनु पर्ने छ । यसका लागि अंग्रेजी महिना अनुसार नै मासिक विवरण बुझाउनु पर्ने निर्देशनमा उल्लेख छ । यस्तो विवरणका लागि कम्पनीहरूले अंग्रेजी महिना सकिएको एक साताको समय पाएका छन् । राष्ट्र बैंकले कम्पनीको सञ्चालक समितिको वार्षिक विवरण १५ दिनभित्र र हेरफेर भएमा ७ दिन विवरण पठाउन कम्पनीहरुलाई निर्देशन दिएको छ ।

प्रकाशित : माघ २६, २०७९ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्

फागुनभित्र मोटरसाइकलको कर बुझाउनेले ५ वर्षको जरिवाना छुट पाउने 

कान्तिपुर संवाददाता

काठमाडौँ — फागुन महिनाभित्र मोटरसाइकलको कर तथा नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ । यातायात व्यवस्था कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै जरिवाना छुटको घोषणा गरेको हो । आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण नभएका सवारीधनीले २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधिको जरिवाना छुट गरिने कार्यालयले जनाएको छ ।

कार्यालयले आफ्नो नामको सवारीसाधनको समयमै नवीकरण गरी कर भुक्तानी गर्न सबैलाई आग्रह गरेको छ । साथै ट्राफिक कारबाहीमा परी सवारीसाधन नियन्त्रणमा रहेकाहरुलाई पनि अविलम्व कर भुक्तानी गरी जरिवाना छुटको लाभ लिन कार्यालयले आग्रह गरेको छ । कार्यालयले सूचनामा भनेको छ ‘सवारीसाधन कर नवीकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि वहानामा उन्मुक्ति नमिल्ने भएकाले समयमा नै सवारीसाधनको कर तथा बक्यौता रकम भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ ।’ अन्यथा कर भुक्तानी नगरेकाकाे लगत संकलन गरी कडाईका साथ जरिवाना समेत उठाइने कार्यालयले जनाएको छ ।


प्रकाशित : माघ २६, २०७९ १२:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×