फागुनभित्र मोटरसाइकलको कर बुझाउनेले ५ वर्षको जरिवाना छुट पाउने - अर्थ / वाणिज्य - कान्तिपुर समाचार

फागुनभित्र मोटरसाइकलको कर बुझाउनेले ५ वर्षको जरिवाना छुट पाउने 

कान्तिपुर संवाददाता

काठमाडौँ — फागुन महिनाभित्र मोटरसाइकलको कर तथा नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ । यातायात व्यवस्था कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै जरिवाना छुटको घोषणा गरेको हो । आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण नभएका सवारीधनीले २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधिको जरिवाना छुट गरिने कार्यालयले जनाएको छ ।

कार्यालयले आफ्नो नामको सवारीसाधनको समयमै नवीकरण गरी कर भुक्तानी गर्न सबैलाई आग्रह गरेको छ । साथै ट्राफिक कारबाहीमा परी सवारीसाधन नियन्त्रणमा रहेकाहरुलाई पनि अविलम्व कर भुक्तानी गरी जरिवाना छुटको लाभ लिन कार्यालयले आग्रह गरेको छ । कार्यालयले सूचनामा भनेको छ ‘सवारीसाधन कर नवीकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि वहानामा उन्मुक्ति नमिल्ने भएकाले समयमा नै सवारीसाधनको कर तथा बक्यौता रकम भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ ।’ अन्यथा कर भुक्तानी नगरेकाकाे लगत संकलन गरी कडाईका साथ जरिवाना समेत उठाइने कार्यालयले जनाएको छ ।


प्रकाशित : माघ २६, २०७९ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेता सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार ३ बजे बस्ने तय भएको छ । राष्ट्रपति निर्वाचन र वर्तमान राजनीतिक विषयमा छलफल गर्नका लागि एमाले अध्यक्ष केपी शर्मा ‌‌ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

राष्ट्रपतिको उम्मेदवार तय उच्चस्तरीय राजनीतिक संयन्त्रबाट नै तय गर्ने विषयमा बुधबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालकोटमा छलफल भएको थियो । दाहाल ओलीसँग छलफल गर्न बुधबार बिहान बालकोट पुगेका थिए ।

त्यस्तै, सुदूरपश्चिममा एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउने कि नपाउने भन्ने अनिश्चित भएको तथा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो ।

संयन्त्रमा प्रधानमन्त्री दाहाल र ओलीका अलवा रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमतका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत छन् ।

प्रकाशित : माघ २६, २०७९ १२:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×