उपत्यकाका ६ ठाउँमा बर्डफ्लु : किसान पीडित, राहत घोषणामै सीमित- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

उपत्यकाका ६ ठाउँमा बर्डफ्लु : किसान पीडित, राहत घोषणामै सीमित

सरकारकै तथ्यांकअनुसार बर्डफ्लुपीडित किसानले झन्डै ५८ करोड रूपैयाँ पाएका छैनन्
राजु चौधरी

काठमाडौँ — उपत्यकामा बर्डफ्लु देखिएपछि किसानहरू फेरि चिन्तित बनेका छन् । पीडितलाई राहत दिने सरकारी घोषणा आश्वासन मात्रै हुँदा उनीहरूको चिन्ता बढेको हो । सरकारी तथ्यांकअनुसार बर्डफ्लुपीडित किसानले झन्डै ५८ करोड रुपैयाँ पाएका छैनन् ।

पशु सेवा विभागका अनुसार केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा माघ १५ देखि २० गतेको बीचमा उपत्यकाका ६ ठाउँमा बर्डफ्लु पुष्टि भएको छ । ललितपुर–१५ स्थित खुमलटार, भक्तपुर–१० चाँगुनारायण, नागार्जुन–६ रामकोट, तारकेश्वर–१ र ७ र काठमाडौं महानगरपालिका–१० शंखमूलमा बर्डफ्लु भेटिएको हो । बर्डफ्लु नियमावलीअन्तर्गत प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रणमा लिइसकेको विभागका सूचना अधिकारी चन्द्र ढकालले बताए । उनका अनुसार ६ ठाउँबाट ५ सय वटा हाँस, ५ हजार ५ सय ३१ वटा व्यावसायिक लेयर्स, ७ सय ६२ वटा स्थानीय कुखुरा नष्ट गरिएको छ । त्यस्तै, १० हजार २ सय ४५ वटा अण्डा, ५ सय ५० केजी खाना सुरक्षित तबरले नष्ट गरिएको उनले बताए । नागार्जुन र तारकेश्वर सबैभन्दा बढी प्रभावित देखिएको विभागले जनाएको छ ।

‘व्यावसायिक रूपमा कुखुरा पाल्नेमा बढी संक्रमण देखियो, त्यस क्षेत्रमा हाल रोग पूर्ण रूपमा नियन्त्रण लिएका छौं,’ ढकालले भने, ‘यद्यपि निगरानीलाई निरन्तरता दिएका छौं ।’ यसअघि पनि यस्तै गरी बर्डफ्लु देखिए पनि पीडित किसानले भने सरकारले दिन्छु भनेको राहत पाउन सकेका छैनन् । राहत रकमका लागि पटकपटक ताकेता गर्दासमेत पाउन नसकेको उनीहरूको भनाइ छ । ‘२ हजार कालिज नष्ट गरेकाले सरकारसँग करिब ३५ लाख लिनुपर्नेछ । पशु सेवा विभाग, कृषि मन्त्रालयदेखि अर्थ मन्त्रालयमा ताकेता गर्दासमेत रकम पाएनौं,’ कागेश्वरीका किसान विनोदप्रसाद घिमिरेले भने, ‘अहिले फेरि बर्डफ्लु आएको छ । यसले थप त्रास बनाएको छ ।’ घिमिरेका अनुसार सरकारबाट राहत नपाउँदा थलीका एक किसानले आत्महत्यासमेत गरेका थिए । ‘१०/२० हजार ऋण लिएर व्यवसाय गरेका थिए, कुखुराले अण्डा दिने समयमा बर्डफ्लुले सखाप बनायो,’ घिमिरेले भने, ‘राहत नपाएपछि करिब ३ महिनाअघि किसानले आत्महत्या गरे ।’

भक्तपुरका किसान रघुनाथ खड्काले २०७९ असारदेखि क्षतिपूर्ति नपाएको गुनासो गरे । उनले ७ हजार कालिजमध्ये सरकारले ४५ सय नष्ट गरिदिएको बताए । ‘बर्डफ्लुले कालिज मरिरहेका थिए । सरकारले थप ४५ सय नष्ट गरिदियो,’ उनले भने, ‘४५ सय कालिजको हिसाबले एक करोड बढी राहत लिनुपर्ने छ । तर, अहिलेसम्म पाएका छैनन् ।’ राहत नपाउँदा बैंक तथा सहकारीको ब्याज तिर्न समस्या भइरहेको बताए । ‘बर्डफ्लुपीडित सबै किसानको अवस्था उस्तै छ । आज पनि अर्थ मन्त्रालयमा ताकेता गरेका थियौं । आश्वासन पाए पनि रकम पाएनौं,’ उनले भने । खड्काका अनुसार ऋणको दबाबले केही दिनअघि नुवाकोटका किसानलाई हृदयाघात भएको थियो । उक्त किसानले ३० हजार कुखुरा पालेका थिए । ‘अन्य किसानको अवस्था पनि उस्तै छ । कतिपय किसान लिलामीको अवस्थामा समेत पुगेका छन्,’ उनले भने, ‘फेरि देखिएको बर्डफ्लुले किसानलाई थप पीडित बनाएको छ ।’

विभागका अनुसार क्षतिपूर्ति बजारमूल्यअनुसार निर्धारण हुन्छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने समितिको सिफारिसका आधारमा क्षतिको ७५ प्रतिशत राहत पाउने बताए । यसका लागि सरकारले ‘बर्डफ्लु नियन्त्रण नियमावली २०७८’ जारी गरेको छ । यसअघि बर्डफ्लु रोग नियन्त्रण आदेश २०६४ अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने कमिटीले सिफारिस गरेको आधारमा क्षतिपूर्ति दिइन्थ्यो । अब नियमावलीमार्फत क्षतिको ७५ प्रतिशत राहत पाउने जनाएको छ । नियमावलीअनुसार बर्डफ्लुको कारण पन्छी वा पन्छीजन्य पदार्थ नष्ट गरिएको कारण हानिनोक्सानी भएका व्यक्तिलाई नेपाल सरकारले स्वीकृत गरेको मापदण्डका आधारमा राहत दिन सक्छ । नियमावली स्वीकृत भए पनि गत वर्षदेखि किसानले क्षतिपूर्ति पाएका छैनन् । विभागकै अनुसार गत वर्षको करिब ५८ करोड वितरण भएको छैन । ‘पीडित किसानलाई राहत दिइने सबै डकुमेन्टसहित र प्रधानमन्त्रीज्यूको स्वीकृतिमा मन्त्रिपरिषद्मा पुगेको छ,’ सूचना अधिकारी ढकालले भने, ‘मन्त्रिपरिषद्बाट स्वीकृत भई किसानले पनि छिट्टै पाउनेमा आशावादी छौं ।’

विभागका अनुसार विगतका बर्डफ्लु किसानले राहत पाए पनि गत वर्षका किसानको रोकिएको हो । नेपालमा बर्डफ्लु २०६० सालमा झापाबाट सुरु भएको थियो । तीन वर्षअघि विराटनगर, रसुवामा करिब २२ हजार कुखुरा नष्ट भएको थियो । गतवर्ष पनि उपत्यकासँगै कर्णालीमा समेत बर्डफ्लु देखिएको थियो । वैशाखताका मोरङ, सुनसरी, उदयपुर, धनुषा, बारा, पर्सा, चितवन, मकवानपुर, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, कास्कीमा समेत देखिएको थियो । अहिले फेरि उपत्यकामा देखिएको हो । बर्डफ्लु निमोनिया/रुघाखोकी जस्तै भएकाले चिसोमा बढी असर गर्छ । यसका लागि सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

प्रकाशित : माघ २६, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्

उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको कार्यसम्पादनमाथि छलफल गर्न बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भएको भेटवार्तापछि सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित संयन्त्रको बैठक तय भएको हो । यसअघि प्रधानमन्त्री दाहालले दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार गर्ने दिन माघ २ मा बैठक बसेको थियो । 

बालकोटमा बुधबार एमाले अध्यक्ष ओलीसँग भेटेर बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले संयन्त्रको बैठक बस्ने र राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने बताए । ‘संयन्त्रको बैठक बस्छ र राष्ट्रपतिको विषयमा पनि छलफल हुन्छ,’ उनले भने ।

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि बस्न लागेको संयन्त्रको बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन, सुदूरपश्चिम प्रदेश सरकारको विश्वासको मत र राष्ट्रपति निर्वाचनलगायतका एजेन्डामा छलफल हुने नेताहरूले बताएका छन् । सत्ता साझेदार दलहरूबीच कैयौं मुद्दामा असहमति कायमै रहेका बेला बस्न लागेको बैठकलाई चासोपूर्वक हेरिएको छ । सरकारलाई समर्थन कायमै राखेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि बैठकमा सहभागी हुनेछ ।

उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार गठन भएयताका कामबारे समीक्षा हुने बताए । ‘एजेन्डाबारे जानकारी आइसकेको छैन, म आफैंले पनि संयन्त्रको बैठक माग गरेको थिएँ किनभने सरकारका काम–कारबाहीको समीक्षा भएको छैन,’ उनले भने, ‘रास्वपा सरकारबाट बाहिरिएको छ । अब कसरी अगाडि बढ्ने छलफल गर्नुपर्ने छ ।’

सुदूरपश्चिम सरकारले बिहीबारभित्र विश्वासको मत नपाए स्वतः सरकार ढल्ने राजनीतिक परिस्थिति आएको छ ।

प्रकाशित : माघ २६, २०७९ ०७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×