क्यान इन्फोटेकमा ६० हजारले गरे अवलोकन- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

क्यान इन्फोटेकमा ६० हजारले गरे अवलोकन

कान्तिपुर संवाददाता

काठमाडौँ — कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा मंगलबारदेखि सुरु भएको क्यान इन्फोटेक २०२३ जारी छ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ६ दिनसम्म चल्ने मेलामा मंगलबार मात्रै ६० हजारभन्दा बढीले अवलोकन गरिसकेका छन् ।

मेलामा नेपालमा बनेको प्रोडक्ट र एप्लिकेसन चासो र चर्चाको विषय बनेको महासंघले जनाएको छ । कृषि, पर्यटन, हस्पिटालिटीलगायत हरेक क्षेत्र प्रविधि प्रयोग नगरी नहुने भएकाले पनि हरेक व्यक्तिको आकर्षण बन्न पुगेको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

प्रोडक्ट र बिजनेसलाई मात्र नभएर नेपालीहरूको ज्ञान, विज्ञताहरूलाई पनि विभिन्न सेमिनारमा प्लाटर्फम दिएर उनीहरूको नलेजलाई विश्वमा कसरी लैजान सकिन्छ भन्ने विषयमा समेत सेमिनार भइरहेको उनले बताए । ‘घर र अफिसलाई अटोमेसन गरेर सुरक्षाका साथ एप्ससँग कनेक्ट गरेको छ,’ उनले भने, ‘यस्तो विषयमा चासो बढेको छ, यस्ता धेरै प्रकारका एप्सहरू बनेका छन् ।’ अन्य इन्फोटेक मेलाको तुलनामा यस वर्षको मेलामा युवाहरूको क्रेज बढेको समेत उनले बताए ।

स्टार्टअप, इनोभेसन, कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्सका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीका लागि विशेष स्थान दिइएको महासचिव अधिकारीले बताए । मेलामा कुल २०० स्टल रहेका छन् । प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देश/विदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति छ । यसअन्तर्गत फिन्टेक, इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्सलगायत छन् ।

मेलामा प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका छन् । साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै छुट योजना पनि सार्वजनिक गरेका छन् । आफ्ना उपभोक्तासँग नजिकिन कम्पनीहरूले अन्तर्क्रिया र रमाइला खेलसमेत सञ्चालन गरेका छन् । क्यान इन्फोटेक अवसर पारेर नेपाल पर्यटन बोर्डको सभाहलमा बुधबार इन्डस्ट्री र एकेडेमियाबीचको ग्यापका विषयमा सेमिनार गरेको थियो । यस्तै ब्लकचेन प्रविधि, फिनटेक र नेपालमा इन्टरनेट इकोसिस्टमका विषयमा सेमिनार हुने महासंघले जनाएको छ ।

प्रकाशित : माघ २६, २०७९ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्

गोरखामा ८ करोडको सुन्तला उत्पादन

४२ सय ५० मेट्रिक टन उत्पादन, गत वर्षभन्दा १२ मेट्रिक टन कम
हरिराम उप्रेती

गोरखा — गोरखामा यस वर्ष झन्डै ८ करोड रुपैयाँबराबरको सुन्तला उत्पादन भएको छ । यो वर्ष ४२ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत रवीन्द्र पौडेलले बताए । जिल्लामा ७ सय १५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ ।

‘धेरै फलेको, मझौला फलेको र कम फलेको बोटबाट नमुना लिएर औसत निकाल्दा ६.५ मेट्रिक टन उत्पादकत्व छ,’ उनले भने ।

गत वर्षको तुलनामा सुन्तला उत्पादन घटेको हो । गतवर्ष ७ सय ४५ हेक्टरमा ५ हजार ४ सय ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यो वर्ष १२ मेट्रिक टन कम उत्पादन भएको छ । सुन्तला बगैँचा व्यवस्थापन राम्रो नहुँदा उत्पादन घट्दै गएको पौडेल बताउँछन् । ‘पहिले गाईभैंसीको मल पर्याप्त हुन्थ्यो, गोठ बारीमा सार्दा माटो मलिलो बन्थ्यो,’ उनले भने, ‘युवाशक्ति विदेश पलायन हुँदा पशुपालन घटेको छ, कृषिमा क्रियाशील जनशक्ति कम छ, बारीमा छाप्रो हाल्ने चलन पनि घट्दै गएको छ ।’ रासायनिक मल सुन्तला खेतीका लागि उपयुक्त नहुने उनले सुनाए । सिचाइँको अभाव, टुप्पोबाट मर्दै जाने ग्रिनिङ रोगले पनि उत्पादकत्व घट्दै गएको पौडेलले बताए ।

यो वर्ष किसानले सुन्तला बिक्री गरेर न्यूनतम १० हजारदेखि २३ लाख रुपैयाँसम्म आम्दानी गरेको उनले जानकारी दिए । सहिद लखन गाउँपालिका–२ मनकामनाका शिव रानाले सुन्तला बिक्रीबाट झन्डै डेढ लाख आम्दानी गरे । ३ सय बोट सुन्तला खेती गरेका राना असिनापानीले गत वर्षभन्दा यो वर्ष सुन्तला उत्पादन घटेको बताउँछन् । गत वर्ष उनले दुई लाख रुपैयाँको सुन्तला बिक्री गरेका थिए । मनकामना क्षेत्रमा मात्र एक सय किसानले सुन्तला उत्पादन गर्छन् ।

यहाँ सुन्तला बगैँचा ह्रास हुँदै जाँदा उत्पादन घट्दै गएको छ । उत्पादित सुन्तलाले बजार र भाउ भने पाएको छ । एक सयदेखि एक सय ५० रुपैयाँसम्ममा सुन्तला बिक्री हुँदै आएको छ । उत्पादित ३० प्रतिशत सुन्तला जिल्लामै खपत हुन्छ । ७० प्रतिशत काठमाडौं, चितवन, पोखरालगायत सहरमा लगिन्छ । सहिद लखन–२ मनकामना, वडा ५ को मास्कीछाप र तिनमाने, वडा ४ को ताक्लुङ, ५ को तिनघरे, गोरखा नगरपालिका–१ को ताप्ले, वडा ४ को फिनाम, वडा ३ को नारेश्वर वडा १४ को भट्टबेंसी, गण्डकी गाउँपालिका–२ याङदी र ४ नम्बरको फुजेललाई समेटेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जात फलफूल जोन कार्यक्रम पनि लागू भएको छ । सुन्तला कृषक समूहलाई सूचीकृत गर्ने, सुन्तलाको बोट छाँटकाटका लागि आधुनिक औजार उपलब्ध गराउनेलगायत कार्य उक्त परियोजनाअन्तर्गत भइरहेका छन् ।

प्रकाशित : माघ २६, २०७९ ०७:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×