टर्कीका भूकम्पपीडितलाई जजिरा र टर्किसले राहत लगिदिने


काठमाडौँ — टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पपछि खुला स्थानमा बसिरहेका त्यहाँका नागरिकहरुका लागि कुबेतको जजिरा र टर्कीको टर्किस एयरलायन्सले काठमाडौंमा संकलन हुने राहत सित्तैमा लैजाने भएका छन् ।

यी दुबै वायुसेवाका काठमाडौंस्थित कार्यालयले मानवीय सहायतका लागि नेपाली नागरिकहरुबाट संकलन हुने मेडिकल तथा अन्य राहत सामग्री सित्तैमा टर्कीसम्म ढुवानी गरिदिने भएका हुन् ।
जजिराको हात्तीसारस्थित जीएसए कार्यालयले नेपालको परराष्ट्र मन्त्रालयमार्फत संकलन हुने सबैखाले राहत सित्तैमा टर्की पुर्याइदिने भनेको छ । जजिराले हाल कुबेतबाट सातै दिन काठमाडौंमा उडान गर्दै आइरहेको छ । उसले नेपालमा संकलन हुने राहत कुबेत हुदै टर्की पुर्याइदिने जनाएको छ ।
त्यस्तै दरबारमार्गमा रहेको टर्किस एयरलायन्सले आफ्नो कार्यालयमा र नेपालमा रहेको आफ्नो मुलुकको अवैतनिक वाणिज्य दूताबासमार्फत संकलन हुने राहत सामाग्री नि:शुल्क टर्की पुर्याइदिने भनेको छ । टर्कीसले हाल सातामा सोमबार, मंगलबार, बिहीबार र शुक्रबार इस्तानबुल–काठमाडौं सिधा उडान गर्दै आइरहेको छ ।
टर्कीमा गएको भूकम्पका कारण हजारौंको मृत्यु हुनुका साथै ठूलो संख्यामा मानिसहरू सार्वजनिक तथा खुला सुरक्षित स्थानहरूमा आश्रय लिएर बसिरहेका छन् ।
प्रकाशित : माघ २५, २०७९ २०:२३