पर्यटक बढ्नेगरी योजना बनाउन चेम्बरले दियो मन्त्रीलाई डेढ दर्जन सुझाव- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

पर्यटक बढ्नेगरी योजना बनाउन चेम्बरले दियो मन्त्रीलाई डेढ दर्जन सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सले पर्यटकको संख्या बढ्नेगरी योजना बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समक्ष आग्रह गरेको छ । मन्त्री किरातीसँग सिंहदरबारमा बुधबार भएको भेटमा मन्त्री किरातीलाई चेम्बरले विभिन्न १८ बुँदे सुझाव दिएको छ । सुझाव पत्र पेश गर्दै चेम्बरका अध्यक्ष मल्लले भने ‘विदेशमा रहेका नेपाली दूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौं पर्यटक भित्र्याउन सकिन्छ, यसका लागि ठोस रणनीतिक योजना आवाश्यक छ ।’

पर्यटकीय गतिविधि बढाएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । नेपालका महत्त्वपूर्ण पर्यटकीय स्थललाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट प्रवर्द्धन गर्नुपर्ने चेम्बरको सुझाव छ । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत ८ हजार मिटरभन्दा माथिका ८ वटा हिमाल, पशुपति, लुम्बिनी, लगायतका क्षेत्रलाई प्रवर्द्धन गर्न सकिने मल्लले बताए ।

नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियले कालोसूचीमा राख्दै आएकाले सो सूचीबाट हटाउन कूटनीतिक पहल गर्नुपर्ने अध्यक्ष मल्लले मन्त्रीसमक्ष आग्रह गरे । त्यस्तै नेपाल वायुसेवा निगम र अन्तर्राष्ट्रिय विमानस्थलको संरचनागत सुधार गर्नुपर्ने, नेपाल वायुसेवाको जहाज थप गर्नुपर्ने सुझाव चेम्बरले दिएको छ ।

चीन र भारतलाई लक्षित गरेर छुट्टै प्याकेज ल्याउन मल्लले आग्रह गरे । भारतीय पर्यटक नेपाल आउँदा साथमा ल्याउन पाउने अधिकतम २५ हजारको सीमा न्यून रहेकाले त्यसलाई बढाएर साढे २ लाख पुर्‍याउनुपर्ने उनको सुझाव छ । विदेशी पर्यटकलाई निश्चित समयका लागि भिसा निःशुल्क गर्नुपर्ने चेम्बरले सुझाव दिएको छ । पर्यटन क्षेत्रका लागि रात्रिकालीन व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको भन्दै काठमाडौंको ठमेल, चितवनको सौराहा तथा पोखरामा आवश्यक सुरक्षा प्रदान गरी निर्वाध ढंगले रात्रिकालीन व्यवसाय गर्न सक्ने व्यवस्था मिलाउन चेम्बरले सुझाव दिएको छ ।

जवाफमा मन्त्री किरातीले पर्यटन गतिविधि बढाउन विदेशी पर्यटकलाई केही समयका लागि भिसा सहज बनाउने योजना रहेको जानकारी दिए । ‘अन्य देशको तुलनामा नेपाल आउने पर्यटकका लागि भिसा शुल्कदेखि हवाई भाडासम्म महङ्गो रहेकाले सहजीकरण सुरु गरेको छु’ उनले भने । पर्यटन क्षेत्रको विकासका लागि थुप्रै सुधार आवश्यक रहेको मन्त्री किरातीले बताए ।


प्रकाशित : माघ २५, २०७९ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्

पाथीभरा याङवरक र मिक्लाजुङ विजयी

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको फिदिम नगरपालिका-६ सिवामा जारी तेस्रो आमन्त्रित पालिकास्तरीय नकआउट पुरूष भलिबल प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलबाट पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङ र मिक्लाजुङ गाउँपालिका पाँचथर दोस्रो चरणमा प्रवेश गरेका छन् ।

खेलमा चुलाचुली गाउँपालिका इलामलाई २५–१४, २५–१६ र २५–२२ को सोझो सेटमा हराँउदै पाथीभरा याङवरक गाउँपालिका दोस्रो चरणमा प्रवेश गर्‍यो । उक्त खेलमा म्यान अफ दि म्याच घोषित भएका पाथीभरा याङवरकका अमृत थेबेले नगद दुई हजार पुरस्कार पाए ।

यस्तै बुधबार नै भएको दोस्रो खेलमा भोजपुरको रामप्रसाद राई गाउँपालिका भलिवल टिम अनुपस्थित भएपछि पाँचथरको मिक्लाजुङले वाकओभर पायो । प्रतियोगितामा पाँचथर, ताप्लेजुङ, इलाम, भोजपुर र तेह्रथुमका १० टिम सहभागी छन् । २८ गते हुने फाइनल खेलका विजेताले नगद ७० हजार पुरस्कारसँगै ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा बिहीबार पहिलो खेल १२ बजे मिक्लाजुङ गाउँपालिका पाँचथर र याङवरक गाउँपालिका दोस्रो खेल पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङ र फाल्गुनन्द गाउँपालिका पाँचथरबीच प्रतिस्पर्धा हुने आयोजक अर्थे युवा क्लबले जनाएको छ ।

फिदिम-६ सिवामा परम्परादेखि लाग्दै आएको अर्थे मेलाका अवसरमा अर्थे युवा क्लबले अन्तरपालिकास्तरको भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

प्रकाशित : माघ २५, २०७९ १९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×