छोटी भन्सार कार्यालयहरू सञ्चालनको तयारी, बन्द भइरहँदा गुम्यो राजस्व


पर्सा — बाराको सिम्रौनगढ छोटी भन्सार कार्यालयमा मंगलबार वीरगन्ज भन्सारका कर्मचारी पुगेर सरसफाइ गरे । कोरोना महामारीपछि यो छोटी भन्सार कार्यालय बन्द छ । वीरगन्ज भन्सार कार्यालय मातहतमा रहेको यो छाेटी भन्सारलाई सञ्चालन गर्नुपर्ने माग राख्दै सिम्रौनगढका व्यापारी समेत आन्दोलित छन् ।

वीरगन्ज भन्सार कार्यालयले छाेटी भन्सार कार्यालयमा नायव सुब्बासहितको कर्मचारी टोली पठाउने तयारी गरेको छ । ‘कर्मचारीका लागि त्यहाँ बस्ने वातावरण पनि हुनुपर्यो,’ एक अधिकारीले भने ‘सरसफाइ गरी कर्मचारी बस्न लायक भएपछि छोटी भन्सार कार्यालय अवश्य सञ्चालन हुनेछ ।’
वीरगन्ज भन्सार कार्यालय मातहत रहेका बारा र पर्साका ११ छोटी भन्सार कार्यालय लामो समयदेखि बन्द अवस्थामा छन् । अधिकांश माओवादी द्वन्द्वकालमै बन्द रहेका थिए भने सञ्चालनमा रहेका सिर्सिया, मटिअर्वा, सिम्रौनगढ, भिस्वा लगायत छोटी भन्सार कार्यालय कोरोनाको महामारीयता बन्द छन् । कवही, कचोर्वा, अलौं, पिपरपाती, जानकीटोला र गाड प्रसौनी भन्सार कार्यालय पनि सञ्चालनमा छैनन् । छोटी भन्सार नाकाका बजार विस्तार भई अहिले ठूला भइसके । त्यस्ता नाकाबाट दैनिक धेरै नेपाली नागरिक र व्यवसायी भारतीय बजारमा गई किनमेल गरेर फर्किने गर्छन् । सीमामा भन्सार कार्यालय नै नहुँदा सरकारले दैनिक ठूलो परिमाणमा राजश्व गुमाइरहेको छ । सीमाका व्यापारीले आफ्नो पसलका लागि पनि भारतीय बजारबाट मालसामान खरिद गरेर ल्याउँछन् । तर सीमामा खटिने सशस्त्र र नेपाल प्रहरीले ती सामान खोस्दा एकातिर व्यवसायीलाई मर्का परेको छ भने अर्कोतिर राजश्व पनि गुमिरहेको छ ।
पर्साको सबैभन्दा पश्चिममा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब २ वर्षअघि तयार पारिएको थियो । तर त्यहाँ कर्मचारी नै बस्दैनन् । चितवनसम्मका व्यापारी तथा सर्वसाधारणले सोही नाका हुँदै भारतबाट दैनिक किनमेल गरी सामान ल्याउने गर्छन् । भन्सार कर्मचारी नै नभएपछि राजश्व तिरेर ल्याउन चाहनेले पाउँदैनन् । ठोरी छोटी भन्सार सञ्चालन नहुँदा दैनिक ठूलो रकम राजश्व चुहावट भइरहेको स्थानीय व्यवसायी सुदिप थापा बताउँछन् । ‘हामीले ठोरी छोटी भन्सार कार्यालय सञ्चालनको माग गरेको धेरै समय भइसक्यो,’ उनले भने, ‘तर हाम्रो माग सुनिँदैन, यसले देशलाई नै दैनिक ठूलो राजश्व घाटा भइरहेको छ ।’ वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत दिल्ली सुवेदीले कोरोना महामारीपछि सञ्चालन हुन नसकेका छोटी भन्सार कार्यालयहरु अब सञ्चालन गर्ने तयारी भइरहेको बताए । ‘विभागले पनि बन्द रहेका छोटी भन्सारहरु पुनः सञ्चालन गर्न आदेश दिएको छ,’ उनले भने, ‘केही दिनभित्रै बन्द रहेका केही मात्रामा भए पनि छोटी भन्सार कार्यालय सञ्चालन हुने छ ।’