१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नियम विपरित काम गर्ने ९ वाणिज्य बैंक कारबाहीमा

काठमाडौँ — चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नियय विपरित काम गर्ने ९ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धमा राष्ट्र बैंकको निर्देशन पालना नगरेको, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई नियमविपरित सेवा सुविधा दिएको, नियम विपरित प्रिमियम बढाएको, पुँजी पर्याप्तता ढाँचा अनुसारको विवरण नबुझाएको लगायत कसुरमा राष्ट्र बैंकले ती बैंकहरुलाई कारबाही गरेको हो ।

नियम विपरित काम गर्ने ९ वाणिज्य बैंक कारबाहीमा

कारबाहीमा पर्ने बैंकहरुमध्ये केहीलाई नगद जरिवाना गरिएको छ भने केही बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ । यसरी कारबाहीमा पर्ने बैंकहरुमध्ये प्रभु, कुमारी, साविकको बैंक अफ काठमाण्डू र प्राइम कमर्सियल बैंकलाई राष्ट्र बैंकले नगद ५०/५० लाख रुपैयाँका दरले जरिवाना गराएको छ ।

शंकास्पद पैसा ओसारपसार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका अछामका पृथ्वीबहादुर शाह, उनका निकटतम व्यक्ति र संस्थाको रोक्का रहेको बैंक खाताबाट रकम निकाल्न अनुमति दिएर सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा जारी निर्देशन उल्लंघन गरेको आरोपमा ती बैंकलाई कारबाही गरिएको हो ।

यस्तै, खाता रोक्का राख्न निर्देशन दिँदा पनि नयाँ खाता खोलेको भन्दै नबिल बैंकलाई राष्ट्र बैंकले सचेत गराएको छ । पुँजी पर्याप्तता ढाँचा अनुसार पुँजी कोषको यथार्थ विवरण रिर्पोटिङ नगरेको आरोपमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ । यस्तै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन ०७३ को व्यवस्था विपरित तत्कालीन प्रमुख कार्यकारी अधिकृत भुवन दाहाललाई थप सुविधा प्रदान गरेको भन्दै राष्ट्र बैंकले सानिमा बैंकलाई पनि सचेत गराएको छ ।

यस्तै, नियामक निकायको निर्देशन विपरित प्रिमियम बढाएर ऋणीबाट बढी ब्याज असुली गरेको आरोपमा तत्कालीन नेपाल इन्भेस्टमेन्ट बैंक, माछापुच्छ्रे र सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ । कर्जा सूचना तथा कालोसूची सम्बन्धी नीतिमा भएको व्यवस्था पालना नगरेको आरोपमा राष्ट्र बैंकले प्रभु बैंकलाई सचेत गराएको छ ।

प्रकाशित : माघ २५, २०७९ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?