लुम्बिनीको कर्पोरेट कल्चर

सामूहिक सोच र लगानीको अवधारणासहित उच्च व्यावसायिक संस्कार विकास गर्दै युवा
घनश्याम गौतम

रुपन्देही — बुटवलमा बैंक एवं वित्तीय संस्थाको वृद्धिसँगै व्यावसायिक संस्कार (कर्पोरेट कल्चर) को पनि विकास भएको छ । ग्रुप व्यवसाय फैलिएको छ । व्यवसाय सुरु गर्ने र त्यसलाई ब्रान्डमा रूपान्तरण गर्दै शाखा विस्तार गर्ने शैली बढ्दो छ । 

लुम्बिनीको कर्पोरेट कल्चर

बुटवलबाट काठमाडौं, पोखरालगायतका सहरमा व्यवसाय विस्तार गरिरहेका बिजनेस ग्रुपको संख्या बुटवलमा एक दर्जनभन्दा बढी छ । त्यसैमध्येको एक हो– बुटवलको ‘डेडिज किचन’ ।

२२ वर्षे कमल कुँवरले सन् २०१२ मा सुरु गरेको यस व्यवसायले अहिले बुटवलसहित काठमाडौं र पोखरामा १७ शाखा विस्तार गरेको छ । यस व्यवसायमा अहिले ४ सय ७५ जनाले रोजगारी पाइरहेका छन् । ‘सामान्य ठेलाबाट व्यवसाय सुरु गरेको हुँ,’ कुँवरले भने, ‘अहिले ६ फुड ट्रकसहित १७ ब्रान्चमा विस्तार गरेको छु ।’ आफ्नै सोचले व्यवसाय सुरु गरेको र बहिनी सरिताले यसमा सहयोग गरिरहेको व्यवस्थापनमा स्नातक कुँवर बताउँछन् ।

कुँवरले बुटवलमा यो व्यवसाय सुरु गर्दा रेस्टुरेन्टमा जाने र खाना एवं खाजा खानेको संख्या न्यून थियो । रेस्टुरेन्ट कल्चरको विकास न्यून थियो । व्यवसायमा पनि कर्पोरेट कल्चर थिएन । बिस्तारै भएको परिवर्तनले अहिले बुटवल फेरिएको उनले जनाए । अहिले ठूला ग्रुप व्यवसाय र फरक सोचमा जोडिनेको संख्या यहाँ बढिरहेको छ । विदेश पुगेर फर्किनेहरूले पनि फरक खालको सोचसहित व्यवसाय सुरु गरिरहेका छन् । त्यस्ता नयाँ व्यवसायीलाई मार्केटिङमा सहयोग गर्ने, बैंकिङ सहजीकरण गर्ने र लगानीपछिको प्रतिफलका लागि ज्ञान र सीप दिने गरी बुटवलमै विभिन्न संस्था खुलेका छन् । त्यस्ता संस्थाको नेतृत्वमा चार्टर्ड एकाउन्टेन्ट (सीए) गरेर काममा लागेका युवा बढी रहेको सीए कपिल ज्ञवालीले बताए ।

‘बिजनेस कन्सल्टिङ ग्रुपका नाममा व्यवसाय सहयोगी संस्था खुलेका छन्,’ उनले भने, ‘ती संस्थाको उद्देश्य भनेको व्यवसायमा लगानीपछिको प्रतिफलका लागि सहयोग गर्ने हो ।’ व्यवस्थापन, प्रविधि र लक्ष्य प्राप्तिका उद्देश्यअनुसारका ज्ञान एवं सीपका लागि सहयोग गर्ने छुट्टै समूह पनि छन् । टिम वर्कमा काम गर्ने र केही गर्न खोज्ने सोच लिएका तर व्यवस्थापकीय सीप नभएकालाई सहयोग गर्न बुटवलमा कार्यालय नै राखेर विभिन्न समूहले सेवा दिन सुरु गरेका छन् । लगानीअनुसार व्यावसायिक लाभ पहिचान गर्न सहयोग गर्ने समूह पनि बुटवलमा छन् ।

लुम्बिनी प्रदेशको बुटवल अहिले आर्थिक राजधानीको गतिमा तीव्र रूपले विकास भइरहेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार प्रदेशका १२ जिल्लामा ‘क’ वर्गका ७ सय ५५ वित्तीय संस्थाले आर्थिक कारोबार गर्छन् । तीमध्ये २ सय २९ वटा रूपन्देहीमा मात्रै छन् । ११ लाख १८ हजार ९ सय ७५ जनसंख्या रहेको रूपन्देहीमा ‘ख’ वर्गका ७७ र ‘ग’ वर्गका २८ सहित ३ सय ३४ वित्तीय संस्था छन् ।

एउटा वित्तीय संस्थाले ३ हजार ३ सय ५० जनालाई सेवा प्रदान गरिरहेको छ । प्रदेशको ठूलो सहर दाङमा ९५ ‘क’ वर्गका संस्था छन् । लुम्बिनीमा सबैभन्दा कम वित्तीय संस्था रहेको रुकुम पूर्वमा पनि ८ वटा छन् । ५७ हजार ९ सय ६२ जनसंख्या छ । एउटा वित्तीय संस्थाले ७ हजार २ सय २४ जनालाई सेवा दिइरहेको छ ।

पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । तर, बैंकमा खाता खोल्नेको संख्या ४ करोड ७७ लाख ५० हजार ३ सय २ पुगेको छ । वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थामा संस्थाअनुसार नै खाता खोल्ने नेपालीको संख्या धेरै भएकाले जनसंख्याभन्दा बढी बैंक ग्राहक देखिन्छन् ।

‘क’ वर्गका बैंकमा खाता खोल्नेहरूको संख्या मात्र पनि ४ करोड ११ लाख ३७ हजार ८ सय १७ छ । ‘ख’ वर्गको बैंकमा खाता खोल्ने ५९ लाख ५ हजार १ सय ९८ जना छन् । खाता खोलेका मध्ये बैंकबाट ऋण लिएर कारोबार गर्नेको संख्या १८ लाख १५ हजार ६ सय ८५ छ । ‘क’ वर्गको बैंकबाट ऋण लिने १४ लाख ८५ हजार ७ सय ५० जना छन् । ‘ख’ वर्गको बैंकबाट २ लाख ८८ हजार ३ सय २२ ले ऋण लिएर कारोबार गरिरहेका छन् । राष्ट्र बैंकको तथ्यांकले सर्वसाधारणमा बैंकप्रतिको पहुँच बढेको देखाएको छ ।

नियमित बचत गर्न र बैंकबाटै कर्जा लिएर लगानी गरी प्रतिफल लिन पनि प्रेरित गरिरहेको छ । लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाको संख्या १ हजार ५७ छ । फाइनान्स कम्पनीको संख्या १ हजार १ सय ७२ रहेको राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् । प्रदेशमा ५१ लाख २४ हजार २ सय २५ जनसंख्या छ ।

वित्तीय संस्थाको संख्या र त्यसका ग्राहकको विवरणले बैंकप्रति सर्वसाधारणको आकर्षण बढ्दो देखिन्छ । सानो रकम पनि बैंकमा जम्मा गर्ने र बैंकबाटै कारोबार गर्नेको संख्या थपिंदै गएको छ ।

कोभिडपछि सानो रकम पनि मोबाइल बैंकिङबाटै गर्नेहरूको संख्या ४० प्रतिशत पुगिसकेको एनआईसी एसिया बैंकका प्रदेश प्रमुख तिलक कार्कीले बताए । निजी क्षेत्रले गरेको व्यावसायिक क्षमताको विकास बैंकिङ प्रणालीकै कारण सम्भव देखिएको शाइन रेसुंगा बैंकका सीईओ प्रकाश पौडेलको भनाइ छ । ‘पछिल्ला वर्षमा बैंकसँग जोडिएर कारोबार गर्नेमा युवा व्यवसायीको संख्या बढ्दो छ,’ उनले भने ।

प्रकाशित : माघ २५, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?