कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बन्द हुँदै नेपाली हाते कागज उद्योग

अन्य कागजसँगको प्रतिस्पर्धा, सहज बिक्री नहुने र झन्झटिलो प्रक्रियाले उद्योग सञ्चालनमा समस्या

म्याग्दी, बागलुङ, पर्वत — अदालतलगायत विभिन्न सरकारी कार्यालयमा नेपाली कागजको प्रयोग हुन्छ । यस्ता कागज विभिन्न जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादन हुँदै आएको छ । स्थानीय कच्चा पदार्थको उपयोग गरी उत्पादन हुँदै आएको नेपाली हाते कागजका कारण सर्वसाधारणले रोजगारी पाएका थिए । स्थानीयको गतिलो आम्दानीको स्रोत पनि थियो ।

बन्द हुँदै नेपाली हाते कागज उद्योग

गण्डकी प्रदेशका म्याग्दी, बागलुङ र पर्वतमा नेपाली कागजका थुप्रै उद्योग थिए । तर पछिल्लो समय अन्य कागजसँगको प्रतिस्पर्धा, सहज बिक्री नहुने र उद्योग सञ्चालनमा झन्झटिलो प्रक्रियाले बर्सेनि उद्योग घटेका छन् । कागज उत्पादन पनि कम हुँदै गएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा स्थापना भएको हिमाञ्चल हाते कागज उद्योग ३ वर्षयता बन्द छ । धवलागिरी गाउँपालिका–२ लुलाङको ढोरपाटन हेन्डीक्राफ्ट र मालिका–४ देविस्थानको धौलागिरी हाते कागज पनि बन्द छन । लुलाङमा सञ्चालित लोक्ताको हाते कागज र सल्लो प्रशोधन गरी धागो उत्पादन हुन्थ्यो । हाते कागजको माग र कच्चा पदार्थको संकलन पनि घटेपछि जिल्लामा खुलेका हाते कागज उद्योग बन्द हुन थालेका हुन । स्थानीय उत्पादनलाई प्रोत्साहनमा खुलेका यी उद्योग बजार प्रवर्द्धन नहुँदा संकटमा परेका हुन् ।

हिमाञ्चल हाते कागज उद्योगले नोटबुक, झोला, खामलगायत बनाउँथ्यो । ती सामग्री आन्तरिक तथा बाह्य पर्यटकले किनेर लैजान्थे । नागी, राम्चे, हिस्तान, महरे, खोप्रा क्षेत्रमा धेरै पर्यटक आउथे । तर कोभिड कहरले बाह्य पर्यटक आउन छोडेको र विदेशबाट पनि नेपाली हाते कागजको माग आउन छोडेपछि उद्योग बन्द भएका हुन् । मालिका–३ मा अदिवरामा स्थापित मालिका हाते कागज उद्योग भने जेनतेन चलेको छ । तर केराको बोक्रा, रिफाइन्ड पेपर मिसाएर बनाएका सस्ता काजगसंग प्रतिस्पर्धा गर्न भने हम्मे परेको उद्योगले जनाएको छ । ‘ठूला कारखानामा उत्पादन भएका कागजसँग परम्परागत शैलीका कुटिर उद्योगको उत्पादनले प्रतिस्पर्धा गर्न मुस्किल हुने रहेछ,’ सञ्चालक मोतीराज गौतमले भने, ‘गुणस्तरीय, भरपर्दो र टिकाउ खोज्नेले अझै गोबर लत्पतिएका हातले बनाएका कागज प्रयोग गर्छन् । संघ, प्रदेश र स्थानीय सरकार र नेपाली कागज व्यवसायीले प्रवर्द्धन गर्न जरुरी छ ।’

मालिका उद्योगले अहिले वार्षिक एक हजार छ सय कोरी कागज उत्पादन गरी बेनी, बागलुङ र पोखरामा बेच्ने गरेको छ । केही मात्रमा आफैंले डायरीसमेत बनाई बेच्छ । प्रतिताउ १३ सय रुपैयाँ मूल्य पर्ने ५ ग्रामको पत्ता भएको एकताउ हाते नेपाली कागजको तौल एक किलोग्राम पाँच सय ग्राम हुन्छ । २० ग्राम पत्तावाला एकताउ कागजको मूल्य ४ हजार र तौल ४ केजी हुन्छ । ७ हजार प्रतिताउ मूल्य भएको ३० ग्राम भएको कागज ६ केजी हुने उद्योगले जनाएको छ ।

पुस, माघमा वरुवाका लोकता संकलन गरी प्रशोधन गर्ने र फागुन, चैत र वैशाखमा कागज उत्पादन गर्ने सिजन हो । यसवर्ष हिउँदमा वर्षा नभएकाले थोरै मात्र कागज उत्पादन भइरहेको छ । उद्योगले गाउँलेसँग लोक्ताको कच्चा पदार्थलाई प्रतिकिलो ५० रुपैयाँमा खरिद गर्छ । ‘चिसो मौसममा लोक्ता संकलन गरी फागुन मध्यपछि घाम चर्केपछि कागज उत्पादन हुन्छ । आजभोलि घाम लागेको दिन दैनिक पातलो र बाक्लो गरी १५ सय ताउ कागज उत्पादन भइरहेको छ,’ गौतमले भने, ‘बिरुवामा नयाँ पालुवा लाग्नुअगावै लोक्ता झिक्नुपर्छ । अहिले सबै कागज उद्योगमा लोक्ता संकलन र प्रशोधनमा लागेका छौं ।’

डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत नरबहादुर क्षत्रीका अनुसार जिल्लाभरको सामुदायिक तथा राष्ट्रिय वनमा गरी कुल १० मेट्रिक टन लोक्ता उत्पादन क्षमता छ । तर जिल्लाका हाते कागजबाट धेरै थोरै क्षमताको संकलन गर्ने गरेका छन् ।

बागलुङको तमानखोला–३ तमानगाउँमा दशक अघिसम्म घरघरै नेपाली हाते कागज उत्पादन हुन्थ्यो । स्थानीयले कागज बेचेर कमाइसमेत गर्थे । काठेखोला–८ को लेखानीमा रंगिन कागजसमेत उत्पादन हुन्थ्यो । उद्यमीको घरघरमा पुगेर उपभोक्ता र व्यवसायीले सामग्री खरिद गर्थे । ५ वर्ष भयो ती दुवै स्थानमा नेपाली हाते कागज पाइँदैन । तमानका व्यवसायीले काम छाडेर सहरमा रोजगारीका लागि पसे । लेखानीका उद्यमीले नोक्सानी व्यहोरेपछि उद्योगै बन्द गराए । एक जिल्ला एक उत्पादन भन्दै उद्योग वाणिज्य महासंघले बागलुङलाई २०७१/०७२ मा हाते कागजको जिल्लामा सूचीकृत गरेकोमा ५ वर्ष पनि टिकेन ।

कच्चा पदार्थको संकलन गर्ने कामदार नपाइएको र बजार व्यवस्थापन गर्न नसक्दा उद्यमीले कागजको काम छाडेको जनाएका छन् । ‘कामदार पाइएन, बजार घट्दो छ’ लेखानीका दिलबहादुर दर्जीले भने, ‘नोक्सानी भएपछि काम गर्ने नै बसाइ सरे ।’ उनले आधुनिक प्रविधि नभए बजारको जस्तो कागज बनाउन नसकिने र बजार पनि नपाउने बताए ।

‘कागज बिक्री नभएपछि सबैले छाडे,’ तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भने, ‘बजारमा सहजै बिक्री हुने काम गर्न रुचाउने धेरै छन् ।’ स्थानीय प्रेमकला बुढाथोकीले बजार नभएपछि पछिल्लो समय कागजको सट्टा ढाकाको कपडा बुनेर बेच्न थालेको बताइन् ।

ताराखोलाका केही उद्यमीले अहिले पनि कागज उत्पादन गरिरहे पनि बजारको अभाव भएको गुनासो गरे । बागलुङ उद्योग वाणिज्य संघले पनि ती उत्पादनको बजारीकरण गर्न नसकेको उद्यमीको गुनासो छ । ‘हामीले उत्पादन गरेपनि बजारीकरणमा साथ पाइएको छैन’ ताराखोलाका हर्कबहादुर घर्तीले भने, ‘काम गरेपनि कसले खरिद गरिदिन्छ, कता बिक्री हुन्छ भन्ने यकिन भएन ।’ घर्ती सहितका ५ जना मिलेर अहिले पनि कागज उत्पादन गरे पनि सहजै बिक्री नभएको गुनासो गरे ।

घरेलु तथा साना उद्योग कार्यालयको रणनीतिक योजनामा समावेश भए पनि यो कार्यालयले पनि कागजको बजारीकरणमा भूमिका खेल्न छाडेको छ । कार्यालयले सिलाइकटाइ र अन्य व्यावसायिक तालिम दिए पनि कागजको उत्पादन बारे कुनै पनि कार्यक्रम समावेश नगरेको प्रमुख गुमादेवी रिजालले बताइन् । ‘माग जे आयो त्यसैमा तालिम दिने हो, कागजबारे खासै चासो छैन,’ उनले भनिन् । बागलुङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यले नेपाली हातेकागजको प्रवर्द्धनका लागि केही समय बजेट विनियोजन भएको बताए ।

उनले भने, ‘गाउँमा आधुनिक मेसिन दिन सकियो भने मात्रै उत्पादनले बजार पाउने रहेछ ।’ ताराखोला गाउँपालिकाले घरघरमा उद्यमी बनाउने योजनामा कागज पनि समावेश गरेको छ । तर बजारकै समस्याले धेरै युवा कागज उत्पादनमा नआएको अध्यक्ष धनबहादुर बिकले बताए ।

पर्वतकै जलजला–६ शालिजामा सञ्चालित हम्पाल सामुदायिक लोक्ता प्रशोधन उद्योगले पनि लोक्ता संकलककै अभावमा गएको ३ वर्षदेखि उत्पादन हुन छोडेको छ । लागत धेरै लाग्ने, लोक्ता संकलन, ढुवानी तथा प्रसोधनमा नियामक निकायको असहयोगका कारण माग उच्च भएर पनि पर्वतमा नेपाली कागज उत्पादन बन्द भएको छ । फलेबास–९ भंगराका क्षेत्रीले २०६५ देखि कुस्मा–९ कटुवाचौपारीमा कागज बनाउन सुरु गरेका थिए । सुरुका केही वर्ष उत्साहका साथ काम गरेका क्षेत्रीलाई लोक्ता संकलन, ढुवानी, कामदार अभावले गाँज्दै गएपछि उद्योगका उपकरण थन्क्याएर निर्माण पेसा परिवर्तन गरेको बताए । ‘सुरुसुरुमा सबैतिरबाट सहयोग थियो,’ क्षेत्रीले भने, ‘बिस्तारै लोक्ता पाउन पाइनै छोड्यो । पाइए पनि महँगो हुने, वनको झन्झटिलो प्रक्रियाले सबै काम छोडिदिएं ।’

समुदायस्तरबाट सञ्चालन गरिएको जलजला–६ शालिजाको हम्पाल सामुदायिक लोक्ता प्रसोधन केन्द्रले पनि लोक्ता संकलन गर्ने कामदारको अभावकै कारण उत्पादन बन्द गर्नुपरेको जनाएको छ । उद्योगका व्यवस्थापक तुलबहादुर खोर्जाका अनुसार सम्भावना भएर पनि अनेक बाध्यताले उद्योग बन्द गर्नुपरेको बताए । ‘हामीले नेपाली कागजकै गरगहनासमेत बनाउन थालेका थियौं,’ उनले भने, ‘कामदार, लागतबृद्धि जस्ता समस्याले ३ वर्षयता उत्पादन गरिएको छैन ।’ स्थानीय सवा तीन सय हेक्टरमा फैलिएको हम्पाल र जुद्धवीर सामुदायिक वनको लोक्ता संकलन गरेर उद्योगले कागज उत्पादन गर्दै आइरहेको थियो । युवाको विदेश पलायन र केहीले पेसा परिवर्तन गरेका कारण पनि कागज उत्पादन गर्न नसकिएको उद्यमी देवीकला गर्बुजाले बताइन् ।

शालिजाको उद्योगमा करिब ५० लाख लगानी भइसकेको छ । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले नेपाली कागजको माग उच्च भएर पनि उत्पादन बन्द हुनु दुःखद् भएको बताए ।

प्रकाशित : माघ २५, २०७९ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?