

काठमाडौँ — एक साताभर मनाइने भ्यालेन्टाइन्स डे (प्रणय दिवस) मंगलबार ‘रोज डे’ मनाउँदै सुरु भएको छ । फेब्रुअरी १४ मा मनाइने यो दिवसका लागि हरेक वर्ष गुलाब आयात गरिन्छ । यस वर्ष पनि २ लाख ६० हजार स्टिक गुलाब भारतबाट आयात गरिने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

चिसो मौसममा गुलाब कम उत्पादन हुने भएकाले आयात गरेर बजारको माग पूरा गर्नुपर्ने एसोसिएसनका अध्यक्ष मीनबहादुर लामाले बताए । बजार मागअनुसार झन्डै ६० प्रतिशत काठमाडौं उपत्यकामा र ४० प्रतिशत उपत्यकाबाहिर खपत हुने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष गुलाबको आयात बढ्ने भएको छ ।
गत वर्ष ९० प्रतिशत भित्रिएको थियो । यस वर्ष ९३ प्रतिशत आयात गरिने एसोसिएसनले जनाएको छ । उपत्यकाभित्र १ लाख ६८ हजार र उपत्यका बाहिर १ लाख १२ हजार स्टिक गुलाब खपत हुने लामाले बताए । ‘यस वर्ष ७ प्रतिशत अर्थात् २० हजार स्टिक मात्रै आन्तरिक उत्पादनबाट खपत हुन्छ,’ उनले भने । यस वर्ष प्रतिस्टिक गुलाबको मूल्य ८० देखि १ सय २० रुपैयाँसम्म पर्ने एसोसिएसनले जनाएको छ । गत वर्ष २ लाख ७ हजार स्टिक आयात हुँदा प्रतिस्टिक ८० देखि १०० रुपैयाँमा कारोबार भएको थियो ।
वैशाखमा दैनिक १० हजार स्टिक गुलाब उत्पादन हुने गरेकामा जाडो मौसम सुरु हुनासाथ दिन बिराएर टिप्दा ५/६ सय स्टिकभन्दा बढी नहुने एएसकटफ्लावर नर्सरीका म्यानेजर रमेश मरहट्ठाले बताए । ‘१० रोपनीमा खेती गर्दै आएको छु । असारदेखि मंसिरसम्म दिन बिराएर ७ देखि ८ हजार स्टिक टिपिन्थ्यो, त्यसपछि दिन बिराएर टिप्दा पनि एक हजार स्टिक गुलाबसमेत निस्कँदैन,’ उनले भने । रोज डेकै लागि ९ सय स्टिक बजारमा पठाएको उनले बताए । अब एकैपटक भ्यालेन्टाइन्स डेमा टिप्दा ६/७ सय स्टिक गुलाब निस्कने उनले अड्कल काटे ।
काठमाडौंमा चिसोले सिजनमा कम उत्पादन हुने भएपछि इचंगुका पाण्डव श्रेष्ठले हेटौंडामा खेती गर्ने योजना बनाएका छन् । हेटौंडामा ४० रोपनीमा यस वर्षदेखि गुलाब खेती गर्न सुरु गरिने उनले सुनाए । ‘प्रेम दिवसका लागि १५/२० दिनदेखि गुलाब कोल्ड स्टोरमा राख्दै आएका छन्, झन्डै १० हजार स्टिकजति निस्कन्छ होला,’ उनले भने, ‘चैतदेखि मंसिरसम्म राम्रै उत्पादन हुन्छ, त्यसपछि उत्पादन घट्दै जान्छ ।’ गुलाब फूल खेती गर्न सहज हुने भएकाले उनले रामकोटमा पनि ४० रोपनीमा लगाएका छन् ।
मुलुकमा चाडपर्वबाहेक सामान्य दिनमा प्रतिदिन १० हजार स्टिक गुलाब खपत हुँदै आएको छ । कोरोना महामारीअगावै बजार मागको ८० प्रतिशत आन्तरिक उत्पादन र २० प्रतिशत मात्रै आयात गरिन्थ्यो । कोरोना महामारीमा कट फ्लावरको बजारीकरणमा समस्या आएकाले आन्तरिक उत्पादनमा ७५ प्रतिशतले कमी आएको एसोसिएसनले जनाएको छ ।
प्रकाशित : माघ २५, २०७९ ०८:२१