गुगलले तयार पार्‍यो च्याटजीपीटीकै मोडलको बार्ड एआई

एजेन्सी

काठमाडौँ — गुगलको अभिभावक कम्पनी अल्फाबेटले आफ्नै नयाँ च्याटबट तयार पारेको घोषणा गरेको छ । गुगललाई कडा चुनौति दिनसक्ने भनेर चर्चा भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम च्याटजीपीटी पछिल्लो समय अत्यधिक लोकप्रिय रहेका बेला प्रतिस्पर्धीकै रुपमा गुगलले च्याटबट तयार गरेको हो । 'बार्ड' नाम दिइएको उक्त्त च्याटबट हाललाई 'विश्वसनीय परीक्षक'लाई परीक्षणका लागि दिने र आउँदो साता सर्वसाधरणलाई उपलब्ध गराउने गुगलले जनाएको छ ।

गुगलले तयार पार्‍यो च्याटजीपीटीकै मोडलको बार्ड एआई

एआई रिसर्च कम्पनी ओपनएआईले दुई महिनाअघि सार्वजनिक गरेको च्याटजीपीटीझैँ बार्ड पनि लार्ज ल्यांग्वेज मोडलमा निर्माण भएको टुल हो । प्रयोगकर्ताले सोधेका प्रश्नहरूको सटिक जवाफ दिने गरी इन्टरनेटमा पहिले नै उपलब्ध जानकारीहरूको विशाल भण्डार केलाएर यो मोडल तयार पारिएको हुन्छ । बार्डको लार्ज ल्याङ्ग्वेज मोडललको नाम लाम्डा हो, जुन गुगलले सन् २०२१ मै बनाएको भए तापनि प्रयोगमा ल्याएको थिएन । यी मोडेललाई इन्टरनेटमै रहेका जानकारीहरू ठूलो मात्रामा उपलब्ध गराइन्छ जसले गर्दा हामीले लिखित रूपमा सोधेका अधिकांश प्रश्नको मिठो जवाफ तिनले दिन सक्छन् ।

माइक्रोसफ्टले ओपनएआईमा अर्बौं गर्ने लगानीसम्बन्धी समाचार आएको केही समयमै अल्फाबेटले पनि आफ्नै नयाँ च्याटबट तयार गरी यसलाई गुगलको सर्च इन्जिनसँगै राख्नेबारे सोमबार एक ब्लग पोस्टमार्फत घोषणा गरेको थियो । गुगल र अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईको नाममा पोस्ट गरिएको उक्त्त ब्लगमा भनिएको छ, 'बार्डले हाम्रो भाषाको असिमित मोडलहरूको शक्ति, बुझाइ र सिर्जनात्मकतालाई विश्वको ज्ञानको गहिराइसँग जोड्न प्रयत्न गर्नेछ । यसले इन्टरनेटमा यसअघि नै रहेका जानकारीहरू लिएर त्यसलाई नौलो र गुणस्तरीय जवाफका रूपमा उपलब्ध गराउँछ ।' बार्डले अप-टु-डेट (अद्यावधिक गरिएको) सूचना दिने उनको भनाइ छ ।

सीएनएनका अनुसार गुगलको प्रमुख उत्पादनका रूपमा रहेको अनलाइन सर्चले धेरै वर्षपछि उल्लेखनीय जोखिम झेलिरहेको बखतमा बार्ड च्याटबटबारे कम्पनीले घोषणा गरेको हो । आमप्रयोगकर्तामाझ उपलब्ध भएको दुई महिनामै निबन्ध, कथा, गीत आदि लेखनमा र कतिपय प्रश्नहरूको जवाफका लागि च्याटजीपीटीको प्रयोग निकै बढिरहेको छ । यस्ता प्रश्नहरू प्रयोगकर्ताले पहिले गुगल सर्चमा लेख्ने गर्थे । च्याटजीपीटीप्रति अत्यधिक आम चासो बढेपछि गुगल व्यवस्थानले आफ्नो सर्च इन्जिन 'खतरा' मा रहेको घोषणा गर्नुपरेको थियो । विश्लेषकहरूका अनुसार च्याटजीपीटीका प्रयोगकर्ता १० करोड पुगिसकेका छन् ।

प्रकाशित : माघ २४, २०७९ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?