कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

नेपाल टेलिकमको कामचलाउ फाइभजी

विभिन्न समस्या देखाउँदै कम्पनीले फाइभजी परीक्षणलाई बारम्बार पछि सारिरहेको छ
सजना बराल

काठमाडौँ — गत डेढ वर्षदेखि निकै हल्लाखल्लासाथ परीक्षण सेवा उपलब्ध गराउने भनेर प्रचार गरिएको नेपाल टेलिकमको फाइभजी सेवा अहिले पनि सीमित स्थानमा कामचलाउ परीक्षणका रूपमा मात्रै घोषणा भएको छ ।

नेपाल टेलिकमको कामचलाउ फाइभजी

०७८ साउनमा नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणको अनुमति दिएको भए पनि आइतबार आफ्नो १९औं वार्षिकोत्सवमा नेपाल टेलिकमले जम्मा दुई स्थानमा सीमित परीक्षण सुरुवात गरिएकोबारे अनौपचारिक जानकारी दिएको थियो । विभिन्न प्राविधिक र लजिस्टिक समस्या देखाउँदै कम्पनीले फाइभजी परीक्षणलाई बारम्बार पछि सार्दै आएको छ ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले फाइभजी उपकरणहरूको जडान गरी परीक्षण जारी रहेको बताए । ‘भविष्यमा फाइभजीलाई व्यावसायिक रूपमा सञ्चालन गर्न कम्पनीमा हाल प्रयोगमा रहेका पूर्वाधार र उपकरण कम्प्याटिबल हुने/नहुने, स्तरोन्नति गर्नुपर्ने/नपर्ने, विस्थापन गर्नु/नपर्ने आदि विश्लेषण गर्ने काम भइरहेको छ,’ उनले भने, ‘नेटवर्क विस्तारसँगै फोरजी डाटाको खपतमा उल्लेखनीय वृद्धि भएको छ । नयाँ प्रविधिका रूपमा ई–सिमको देशव्यापी वितरण गरिरहेका छौं ।’

नियामक निकाय दूरसञ्चार प्राधिकरणले भने नेपाल टेलिकमले फाइभजी सेवा परीक्षणमा गर्दै आएको बारम्बारको ढिलाइप्रति सार्वजनिक रूपमै प्रश्न उठाएको थियो । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले माघ २२ बाट औपचारिक रूपमै फाइभजी परीक्षण हुनेमा आफू आशावादी रहेकोमा त्यसो हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘नेपाल सरकारले फाइभजीका लागि फ्रिक्वेन्सी निःशुल्क उपलब्ध गराएको छ,’ उनले भने, ‘नेपाल टेलिकमको फाइभजी आन्तरिक प्राविधिक परीक्षणमा मात्रै सीमित नभएर प्रयोगकर्ताहरूले पनि यसको अनुभव गर्न पाऊन् भन्ने प्राधिकरणको आशय हो ।’

यस परीक्षणबाट फाइभजी सेवाका लागि नेपाली बजार र उपभोक्ता तयार छन् कि छैनन् भन्ने पनि बुझ्न खोजिएको उनले बताए । यस विषयमा गम्भीर हुनसमेत टेलिकम नेतृत्वलाई उनले आग्रह गरे ।

फाइभजी परीक्षण विलम्ब हुनुमा नेपाल टेलिकमले इम्पोर्ट लाइसेन्स, फ्रिक्वेन्सी प्राप्तिलगायतमा भएको ढिलाइ र उपकरण आयातमा भएको समस्यालाई कारण मानेको छ । नेपालमा फाइभजी सेवा उपलब्ध मोबाइल डिभाइस निकै कम भएकाले हाल प्रमुख वितरकहरूलाई फाइभजी परीक्षणमा सामेल हुन आग्रह गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीको भनाइ छ । ‘अहिले सेटहरू अनबोर्डिङको काम भइरहेको छ,’ उनले भने, ‘हाललाई बबरमहल र सुन्धारा क्षेत्रमा परीक्षण सेवा उपलब्ध छ । र, यो विस्तारै अन्य क्षेत्रमा पनि उपलब्ध गराउन सुरु गरिनेछ ।’

हाल देशको करिब ७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको र कम्पनीको फोरजी एलटीई सेवाका प्रयोगकर्ता १ करोड १५ लाखभन्दा बढी रहेको कम्पनीले जनाएको छ । वर्ष ०७८/७९ मा कम्पनीको कुल आय ४४ अर्ब ३७ करोड पुगेको छ । कम्पनीको मुनाफा भने ८ अर्ब ४७ करोड रहेको र चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले राजस्वबापत २६ अर्ब ४१ करोड बुझाएको जनाएको छ । सोही अवसरमा कम्पनीले ७७ जिल्लाको ७३९ स्थानीय तहसम्म फोरजी सेवाको पहुँच पुगेको पनि उल्लेख गरेको थियो । कम्पनीले भ्वाइस सेवाका ग्राहक २ करोड १३ लाख २५ हजार र डाटा सेवाका प्रयोगकर्ता २ करोड ६ लाख १८ हजार रहेका र भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा ५२.२४ प्रतिशत रहेको दाबी गरेको छ ।

नेपालको दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकमको योगदान प्रशंसनीय रहेको र यसलाई अझै नाफारहित, सुलभ र गुणस्तरीय सेवा बनाउन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुझाइन् । टेलिकमको सेवाको गुणस्तर वृद्धिबारे सोच्नुपर्ने बेला आएको टेलिकम सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्चार सचिव वैकुण्ठ अर्यालले बताए ।

प्रकाशित : माघ २३, २०७९ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?