१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ननिभोस् आशाको दियो

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने खुसियालीमा खुलेका ठूला र स्तरीय होटल मारमा
माधव ढुंगाना

भैरहवा — गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको साढे आठ महिनाभन्दा धेरै भयो । विभिन्न वायु सेवा कम्पनीले यस अवधिमा अन्तर्राष्ट्रिय उडान गर्ने अपेक्षा धेरैले गरेका थिए । तर, परिणाम आशा गरेअनुरूप भएन । गत जेठ २ मा विमानस्थल उद्घाटन भएसँगै खाडी मुलुकका नेपाली श्रमिकलाई लक्ष्य गरी जजिरा एयरलाइन्सले कुवेत–भैरहवाबीच साताको तीन उडान सञ्चालन गरेको थियो ।

ननिभोस् आशाको दियो

हिमालयन एयरलाइन्सले पनि गत कात्तिक १७ देखि मलेसिया–भैरहवाबीच दैनिक चार्टर्ड उडान सुरु गरेको थियो । अहिले ती दुवै एयरलाइन्सले बाक्लो कुहिरोको कारण देखाउँदै उडान स्थगन गरेपछि यतिबेला यो विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन बन्न पुगेको छ ।

नौ वर्षअघि विमानस्थलको शिलान्यास भएसँगै लगानी गर्न निजी क्षेत्र जुर्मुराएको थियो । स्वदेशी र विदेशी पर्यटक र अन्य हवाई यात्रुको आगमन बाक्लिँदै जाने आशामा निजी लगानी क्षेत्र आकर्षित भएको हो । ‘विमानस्थलको अहिलेको अवस्थाले निकै निराश बनाएको छ,’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पछ्याउँदै पर्यटन क्षेत्रमा अर्बौं लगानी गरेका भैरहवाका युवा व्यवसायी पवन हलुवाईले भने, ‘लगानीको प्रतिफल आउलाभन्दा बैंकको ब्याज कसरी धान्ने भन्ने पिरलोले सताउन थालेको छ ।’ हलुवाई विमानस्थललाई पछ्याउँदै लगानी गर्ने ती व्यवसायी हुन्, जो आफ्नी आमाको स्मृतिमा भैरहवामा अस्पताल निर्माण गर्ने सोचमा थिए । अस्पताल निर्माण थाती राखेर उनले होटल खोलेका हुन् ।

०७१ माघ १ मा विमानस्थल शिलान्यासका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थल निर्माणसँगै स्तरीय होटल निर्माणमा निजी क्षेत्र लाग्न आग्रह गरेपछि हलुवाईले आफ्नो सोच परिवर्तन गरी लुम्बिनीमा ३ अर्बभन्दा धेरै लगानीमा पाँचतारे पवन प्यालेस होटल निर्माण गरेर सञ्चालनमा ल्याएका थिए । विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनका लागि सरकारी स्तरबाट चासो नदिइएको हलुवाईको गुनासो छ ।

‘यति धेरै लगानी गरियो, अबको आशा र भरोशा सबै यही विमानस्थल हो,’ उनले भने, ‘विमानस्थल राम्ररी सञ्चालनका लागि सरकारले विभिन्न राष्ट्रसँग कूटनीतिक पहल गरेर सफल बनाउन सक्नुपर्छ । विमानस्थल राम्ररी सञ्चालन हुन नसके लगानी त डुब्छ नै, व्यवसायी पनि सडकमा आउँछन् ।’

हलुवाईको अवस्था र भनाइले विमानस्थललाई लक्षित गर्दै लुम्बिनी क्षेत्रमा लगानी गर्ने आमलगानीकर्ताको अवस्थालाई प्रतिबिम्बित गर्छ । लुम्बिनी क्षेत्रमा पछिल्लो समयमा विमानस्थललाई पछ्याउँदै सबैभन्दा धेरै होटलमा लगानी भएको छ । लुम्बिनी/भैरहवा क्षेत्रमा मात्रै ७ वटा पाँचतारे होटल निर्माण भएका छन् । रूपन्देहीमा १ सयभन्दा धेरै चारतारे र तीनतारे होटल बनेका छन् । कसैले नयाँ संरचना बनाएका छन् भने कतिपयले पहिलाको संरचनामा स्तरोन्नति गरेका छन् । बुटवल, शंकरनगर, मणिग्राम, भलवारी, नवलपरासी, कपिलवस्तुमा पनि उत्तिकै मात्रामा होटल खुलेका छन् ।

विमानस्थलबाट आउने पर्यटकलाई लक्ष्य गरेर पर्यटकीय बस, ट्याक्सी र रेस्टुरेन्टमा पनि राम्रै लगानी भएको छ । विमानस्थल निर्माण र यसका लागि जग्गा अधिग्रहणको मुआब्जासमेत गरी ४० अर्ब रुपैयाँ हाराहारीमा खर्च भएको छ । त्यसको सात–आठ गुणा बढी विमानस्थललाई लक्ष्य गरेर निजी क्षेत्रको लगानी भएको भैरहवास्थित सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । ‘यो लगानीलाई चलायमान बनाउने सबै भरोसा र आशा भनेकै विमानस्थलको सफल ढंगले सञ्चालन नै हो,’ उनले भने, ‘यस विमानस्थलसँगै आशा, विश्वास, सम्भावना र भविष्य पनि जोडिएको छ ।’ विमानस्थल सञ्चालनमा आएको साढे आठ महिना नाघे पनि पर्यटकलाई लक्ष्य गरेर अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदा निजी क्षेत्र चिन्तित छ ।

विमानस्थलबाट विदेशी पर्यटकको आवागमन बढाउन तत्काल यस विमानस्थलबाट भारतको दिल्ली, मुम्बई र विश्वका विभिन्न बुद्धिस्ट मुलुकसँग कूटनीतिक पहल गरी उडान सञ्चालन गर्न जरुरी भएको श्रेष्ठको भनाइ छ ।

‘विमानस्थल सञ्चालनमा आउँदा हामीले जुन अपेक्षा गरेका थियौं, सरकारले त्यो अपेक्षा पूरा गर्न सकेन,’ उनले भने, ‘व्यवसायीले एकोहोरो लगानी बढाउँदै लगे, अब भने लगानी डुब्ने हो कि भनेर चिन्ता बढेको छ । हाम्रो खुसी धेरै समय टिकेन ।’

लामो समयदेखि स्थानीय व्यवसायीले एयरलाइन्स थप गरी भैरहवाबाट दिल्लीसहित थाइल्यान्ड, चीन, भियतनाम, कोरिया, जापान, श्रीलंका, सिंगापुरलगायत बुद्धिस्ट मुलुकमा उडान गर्न माग गर्दै आएका थिए । व्यवसायीले यस्तो माग गरिरहँदा उल्टै सञ्चालनमा रहेका विमान कम्पनीले पनि सेवा बन्द गरेपछि व्यवसायीमा निराशा चुलिएको हो ।

जाडो मौसमका बेला भैरहवामा लाग्ने गरेको बाक्लो कुहिरो र हुस्सुले विमान उडान र अवतरणमा आवश्यक पर्ने भिजिबिलिटी नपुग्दा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान प्रभावित हुने गरेको हो । बाक्लो कुहिरो र हुस्सु लागेको बेला पनि ८ सय मिटरको भिजिबिलिटीमा अवतरण र उडान गर्न गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडित उपकरण आईएलएस सञ्चालनमा ल्याउन नसक्दा जजिरा र हिमालयन एयरलाइन्सले उडान स्थगन गरेका हुन् ।

विमानस्थलमा जडित आईएलएस उपकरण सञ्चालनका लागि भारतको स्वीकृति लिनुपर्ने र उसले अनुमति नदिएसम्म उक्त उपकरणको औपचारिक प्रयोग गर्न नमिल्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडित आईएलएस उपकरण सञ्चालन गर्दा विमान ल्यान्डिङ गर्ने बेला करिब १ किमिको दूरीसम्म उक्त उपकरणले भारततर्फ कभर गर्छ । जसका कारण सञ्चालनका लागि भारतको अनुमति आवश्यक पर्ने भएको हो । ‘हवाई रुट र उक्त उपकरण सञ्चालनका लागि कूटनीतिक तहबाट भारतसँग कुराकानीको पहल भइरहेको छ,’ झाले भने ।

अन्तर्राष्ट्रिय उडानका लागि नेपालले पाएको सिमराको रुट मात्र हो । पूर्वी क्षेत्रबाट यस विमानस्थलमा आउने अन्तर्राष्ट्रिय उडानलाई उक्त रुट पायक पर्ने भए पनि पश्चिमतर्फबाट आउने विमानलाई भने यसको विकल्पमा अन्य रुट नपाएकाले पायक पर्दैन । नेपाली आकाश तीनतिरबाट भारतबाट घेरिएकाले छोटो हवाई रुटका लागि भारतको अनुमति चाहिन्छ । यसका लागि भारतसँग कूटनीतिक पहल गर्न जरुरी भएको हो । दोहा, दुबई, कुवेत, ओमान, टर्कीलगायत पश्चिमा मुलुकबाट भैरहवा आउने विमान भारतीय आकाश हुँदै सिमराबाट घुमेर भैरहवा आउनुपर्दा १० मिनेटको समय अतिरिक्त खर्च भइरहेको छ, जसबाट लागत पनि महँगो पर्ने गरेको छ ।

विमानस्थलको हवाई रुट सिधा नभएको, बी ३४५ टुवे हुन नसक्नु र यहाँबाट प्रस्थान एकतर्फीमात्र भएकाले अन्तर्राष्ट्रिय उडानका लागि चुनौती भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहाल बताउँछन् । यसबाहेक भारतीय नागरिकलाई यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न नो अब्जेक्सन लेटर आवश्यक पर्नेमा त्यो प्रक्रिया नभएको र विमानस्थलमा जडित आईएलएस उपकरण सञ्चालनमा ल्याउन नसक्नु पनि चुनौती भएको उनले जनाए । पर्यटक अहिले भारत हुँदै लुम्बिनी आइरहेका छन् । ‘लुम्बिनी लक्षित गरेर चार्टर्ड उडान हुन सकेका छैनन्,’ दाहालले भने, ‘लुम्बिनीमा आउने पर्यटक बढे मात्रै यस विमानस्थलको औचित्य पुष्टि हुन्छ ।’

विमानस्थललाई चलायमान बनाउन र विदेशी एयरलाइन्सलाई आकर्षित गर्न उडान सञ्चालन गरेबापत अन्तर्राष्ट्रिय एयरलाइन्सलाई अवतरण, विसान (पार्किङ), सुरक्षा र सञ्चार गरी चारवटा शुल्क एक वर्षका लागि शतप्रतिशत छुट दिइएको छ । ग्राउन्ड ह्यान्डलिङमा पनि एक वर्षका लागि ५० प्रतिशत छुट दिइएको छ । छुटका कारण भैरहवामा उडान सञ्चालन गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सले प्रतिउडान सरदर साढे २ लाख रुपैयाँ छुट पाउने गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्कालै अन्तर्राष्ट्रिय उडान नभए पनि निराश हुने अवस्था नरहेको बताउँछन् । उनको भनाइमा नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा बनेका विमानस्थल पनि सञ्चालनमा आएकै वर्षदेखि पूर्ण क्षमतामा चलेको कतै छैन । काठमाडौंकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि भैरहवा विमानस्थल जत्तिको प्रगति भएको थिएन ।

‘विमानस्थलको पूर्वाधार तत्काल प्रतिफल दिने पूर्वाधार होइनन् । पचास–साठी वर्षपछिका लागि बनेका संरचना हुन्,’ उनले भने, ‘भारतसँगको छोटो हवाई रुट र विमानस्थलमा जडान गरिएको आईएलएस उपकरण सञ्चालनका लागि भारतबाट पाउनुपर्ने अनुमतिका लागि भारतसँग छलफल भइरहेको छ र चाँडै नै पाउने सम्भावना पनि छ ।’ विमानस्थलमा पश्चिमा मुलुकबाट आउने अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने नेपालगन्ज र महेन्द्रनगरको रुट भएको र यसका लागि पहल भइरहेको उनले जनाए ।

अब चाँडै नै हुने प्रधानमन्त्रीको भारत भ्रमणको बेलामा यी विषयले पूर्णता पाउने गरी आवश्यक छलफल र पहल भइरहेको निरौलाको भनाइ छ । ‘लुम्बिनीलाई जोडेर अन्य बुद्धिस्ट मुलुकबाट हवाई उडान सञ्चालनका लागि पहल गर्नमा प्राधिकरणका तर्फबाट कुनै कमी छैन,’ उनले भने, ‘प्राधिकरणबाहेक लुम्बिनी विकास कोष, पर्यटन बोर्डलगायत अन्य जिम्मेवार निकायको पनि जिम्मेवारी र दायित्व हुने गर्छ ।’

प्रकाशित : माघ २२, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?