१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चिया क्षेत्रलाई मलको कोटा निर्धारण गर्न माग

अर्जुन राजवंशी

बिर्तामोड — चिया क्षेत्रका लागि मलको कोटा निर्धारण गर्न झापाका किसानले माग गरेका छन् । प्रदेश एवं केन्द्र सरकारको ध्यानाकर्षण गराउँदै चिया क्षेत्रलाई आवश्यक मल वितरणको व्यवस्था मिलाउन उनीहरूको आग्रह छ ।

चिया क्षेत्रलाई मलको कोटा निर्धारण गर्न माग

सरकारले चिया क्षेत्रलाई दुई वर्षदेखि मल वितरणमा रोक लगाएकोप्रति किसानको आपत्ति छ । सरकारी अवरोधका कारण किसानले दुई वर्षदेखि मल पाएका छैनन् । मल नपाएकाले उनीहरू सरकारप्रति आक्रोशित बनेका हुन् । जिल्लाका चिया बगानमा मंसिरदेखि चियाका बिरुवा कलमी र गोडमेल गर्ने काम चलिरहेको छ । बगानभित्रको झारपात हटाएर गोडमेल गरे तापनि चियाका बोटमा मल हाल्न नपाउँदा किसान सरकारप्रति रुष्ट छन् । उनीहरू चिया बगानमा मलबिनै सिँचाइ मात्र गर्न बाध्य छन् ।

सरकारले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका–०७७ लागू गरेपछि किसानले मल नपाएका हुन् । ‘मल नै नहालेपछि कसरी उत्पादन हुन्छ चिया ?’ बिर्तामोड–१० का किसान कृष्णप्रसाद पोखरेलले भने, ‘सरकारले चिया क्षेत्रलाई मल वितरणको छुट्टै व्यवस्था गर्नुपर्छ ।’ झापाको बिर्तामोडमा शनिबार संवाद समूहको संयोजनमा आयोजित छलफलमा उनीहरूले साना किसानका लागि सहकारीमार्फत तथा ठूला चिया कम्पनीका लागि केन्द्र वा प्रदेशमार्फत कोटा निर्धारण गरेर चिया क्षेत्रलाई मल उपलब्ध गराउन सरकारसमक्ष माग गरे । ‘जिल्लामा रहेका कृषि सामग्री र साल्ट ट्रेडिङले मल दिन सक्दैनन् भने कम्पनीको हकमा प्रदेश वा केन्द्र सरकारमार्फत तथा साना किसानको हकमा सहकारीमार्फत मल दिने व्यवस्था गरियोस्,’ पोखरेलले भने, ‘होइन भने हामी चिया बगान जोगाउन नसक्ने अवस्थामा छौं । मलबिना कसरी चिया खेती गर्नु ?’

जिल्लामा १० हजार ५ सय हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक छ । वार्षिक एक हजार ५ सय टन मल भए चिया खेतीलाई पर्याप्त हुने बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका प्रमुख इन्द्र अधिकारीले जानकारी दिए । ‘प्राविधिक नियमले चियामा वर्षमा कम्तीमा चार पटक मल हाल्नुपर्छ । तर मल नपाउने समस्याले किसानले दुई पटक पनि मल हाल्न सकेका छैनन्,’ उनले भने । जिल्लाका सबै १५ वटै पालिकामा चिया खेती छ ।

०७६ सम्म चिया किसानले मल पाइरहेका थिए । त्यस बेलासम्म ठूला चिया बगानलाई संघ तथा साना किसानलाई बोर्डको सिफारिसमा साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले मल वितरण गर्दै आएको थियो । निर्देशिकाबमोजिम स्थानीय तहलाई आफ्नो पालिकाभित्रका चिया क्षेत्रलाई समेत आवश्यक मलको परिमाण समावेश गरी माग गर्न किसानले ध्यानाकर्षण गराएका छन् । मलका लागि साना चिया किसान सहकारीलाई पनि डिलर दर्ता गर्न उनीहरूको माग छ । कृषि सामग्री कम्पनी बिर्तामोड शाखामा ५ सय १८ टन युरिया, १ सय ५८ टन डीएपी र ६ टन पोटास मौज्दात रहेको बताइएको छ ।

प्रकाशित : माघ २२, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?